काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले मानिसको कामलाई जति सहज बनाउँदै लगेको छ, त्यति नै यसले रोजगारीको जोखिम पनि बढाइरहेको छ । मानिसले गर्नुपर्ने धेरै काम अब एआईले स्वतः गर्न सक्ने भएकाले केही पेशा जोखिममा पर्न थालेका हुन् ।
हालै अमेरिका स्थित प्यू रिसर्च सेन्टर (Pew Research Center) ले सार्वजनिक गरेको नयाँ प्रतिवेदनले एआईका विशेषज्ञ र सर्वसाधारणबिच एआईप्रतिको धारणा कस्तो छ भन्ने विषयमा केही समानता र भिन्नता देखाएको छ । यो प्रतिवेदन एआई विशेषज्ञ र आम नागरिकबिच गरिएको सर्वेक्षणका आधारमा तयार गरिएको हो ।
सर्वेक्षण अनुसार विशेषज्ञहरू समग्र रूपमा एआईले रोजगारी घटाउँछ भन्ने कुरामा खासै चिन्तित छैनन् । तर उनीहरूले क्यासियर, ट्रक चालक, पत्रकार, कारखानाका कामदार र सफ्टवेयर इन्जिनियरजस्ता केही पेशामा भने असर पर्न सक्ने स्वीकार गरेका छन् ।
यस्तै प्रतिवेदनले पुरुष र महिलाबिच एआईको प्रभावप्रति धारणा फरक देखाएको छ । पुरुषहरू महिलाको तुलनामा एआईप्रति बढी सकारात्मक देखिएका छन् । सर्वेक्षण अनुसार ६३ प्रतिशत पुरुषले एआईको प्रभाव सकारात्मक हुने बताएका छन् भने मात्र ३६ प्रतिशत महिलाले यसमा सहमति जनाएका छन् । साथै, पुरुषहरू एआईप्रति बढी उत्साहित र कम चिन्तित देखिएको उल्लेख छ ।
अध्ययनले एआई क्षेत्रमा महिलाको कम उपस्थिति र प्रशासनिक तथा ग्राहक सेवा जस्ता काममा अटोमेसनको प्रवृत्ति बढिरहेको उल्लेख गरेको छ । यसकारण महिलाहरूमा रोजगारी गुम्ने डर बढी देखिएको विश्लेषण गरिएको छ ।
यद्यपि, विशेषज्ञहरू भने एआईले काम खोस्ने भन्दा पनि नयाँ खालका रोजगारी र काम गर्ने शैलीको विकास गर्नेमा विश्वास राख्छन् । उनीहरूका अनुसार एआईले दैनिकी सहज बनाउने, नयाँ अवसर सिर्जना गर्ने र प्रविधि अनुकूल जीवनशैली निर्माणमा सहयोग पुर्याउनेछ ।