रूपन्देही । विभिन्न कामका लागि नाता प्रमाणित गर्नुपर्नेदेखि नागरिकता लगायतका महत्त्वपूर्ण सिफारिसका लागि वडा कार्यालयको सिफारिस लिनुपर्ने हुन्छ । यो सुविधा लिनका लागि वडा कार्यालयसम्म पुग्नुपर्ने बाध्यता छ । तर, रूपन्देहीको शुद्धोदन गाउँपालिकामा भने सेवाग्राहीहरू सिफारिस लिन वडा कार्यालय धाउनु पर्दैन ।
गाउँपालिकाले वडा वडामा उपलब्ध गराएको ई-सिफारिस सेवामार्फत उनीहरू घरबाटै सिफारिस माग गर्न सक्छन् । शुद्धोदन गाउँपालिकाका ई-सिफारिस संयोजक सरोज ढकालका अनुसार २०७९ को चैतदेखि ई-सिफारिस सेवा सुरु गरिएको हो ।
उनले भने, "घरमै बसेर लाभग्राहीले नाता प्रमाणीकरणका लागि फाराम भर्न सक्नु हुन्छ । त्यसपछि वडा सचिवलाई नोटिफिकेसन जान्छ । उहाँले फाराममा भएका कागजात ठीक छन् की छैनन् भनेर रुजु गर्नुहुन्छ । कुनै कागजात पुगेको छैन भने एपबाट नै सेवाग्राहीलाई सम्पर्क गर्नुहुन्छ । बाँकी आवश्यक कागजात पनि पुरा भएपछि एक दुई घण्टामा नै बन्छ । सिफारिस तयार भएपछि सिधै उहाँहरूको मोबाइलमा सिफारिस आउँछ ।”
स्थानीय तारा केसीले ई-सिफारिसका कारण धेरै सहज भएको बताइन् । कामको सिलसिलामा सहर वा विदेशमा रहेका व्यक्तिहरूले पनि अनलाइनबाट नै सिफारिस लिनसक्ने भएकाले निकै सहज भएको उनको भनाई छ ।
उनी भन्छिन्, “मोबाइल चलाएर नै सिफारिस लिन सकिने भएकाले पैसा र समयको पनि बचत भएको छ ।” मोबाइल एप प्रयोग गर्न नजान्ने नागरिकहरूलाई भने गाउँपालिकाले नै ई-सिफारिस सेवा उपलब्ध गराउँछ । यसका लागि गाउँपालिकाले वडा वडामा स्वयंसेवक राखेको छ ।
सिफारिस लिन वडामा पुगेका सेवाग्राहीहरू पनि एक पटक सिकेर गइसकेपछि धेरैजसोले अर्को पटकदेखि आफैले घरबाट नै फाराम भर्ने गरेको वडा नं ५ का स्वयंसेवक मनिष गैरे बताउँछन् ।
उनी भन्छन्, “ई-सिफारिस एउटा यस्तो अनलाइन प्लेटफर्म हो, जसबाट हामीले वडा कार्यालयबाट हुने हरेक कामहरू घरबाटै गर्न सकिन्छ । तर, यसको बारेमा धेरैले बुझ्नुभएको छैन ।”
स्थानीयलाई यस एपको बारेमा व्यापक रूपमा जानकारी दिन अति आवश्यक रहेको उनले बताए । “स्मार्ट पालिका एपबाट घरमै बसेर सिफारिसका लागि आवेदन दिन सकिन्छ भनेर जानकारी गराउनुपर्छ । त्यसमा डकुमेन्ट कसरी अट्याच गर्नुपर्छ भनेर सर्वसाधरणलाई जानकारी नहुन सक्छ । यस विषयमा सर्वसाधारणलाई जानकारी गराउनुपर्छ,” उनले भने । सर्वसाधाणलाई ई-सिफारिस कसरी प्रयोग गर्ने भन्ने सिकाउनमा आफ्नो वडाले राम्रो काम गरिरहेको उनले बताए ।
पालिकालाई भौतिक कागजात रहित बनाउने उद्देश्य सहित शुद्धोदन गाउँपालिकामा ई-सिफारिस सेवा सुरु भएको हो । यूके इन्टरनेसनल डेभलपमेन्टको सहयोगमा द एसिया फाउन्डेसन अन्तर्गत डेटा फर डेभलपमेन्ट परियोजना मार्फत यो सेवा गाउँपालिकामा उपलब्ध गराइएको हो । यसको लागि सेल एप नामक कम्पनीले एप व्यवस्थापनको काम गरिरहेको छ ।
गाउँपालिकामा गएको ३० मङ्सिरदेखि हालसम्म दर्जनौँ सिफारिस पत्र ई-सिफारिस प्रणाली मार्फत नै उपलब्ध गराइएका छन् । इन्टरनेट सुविधाको अभाव र सेवाग्राहीहरू अनलाइन सेवामा अभ्यस्त नहुनु जस्ता समस्याका कारण केही स्थानहरूमा भने यो प्रणाली विस्तार गर्न समस्या भएको वडा नं ५ का अध्यक्ष चन्द्रभान चौधरी बताउँछन् ।
तर पनि वडा कार्यालयबाट नागरिकलाई यसबारे सिकाउने र बुझाउने काम निरन्तर भइरहेको उनको भनाइ छ । उनी भन्छन्, “नेटवर्कको लागि वडा र गाउँपालिका मिलेर पहल गर्नुपर्छ । प्रत्येक वडामा कम्प्युटर सञ्चालनसँग सम्बन्धित सीप पनि दिइरहेका छौँ । यसले पनि ई-सिफारिसमा सहयोग पुर्याउन सक्छ भन्ने विश्वास लिएका छौँ ।”
ई-सिफारिस प्रणालीमा थप नागरिकलाई जोड्न जनचेतना दिने र तालिमहरू सञ्चालन गराउने काम भइरहेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद बस्याल बताउँछन् । तर ई-सिफारिस पूर्ण रूपमा कार्यान्वयन हुनका लागि अझै केही समय लाग्न सक्ने उनले बताए ।
उनले भने, “गाउँपालिकाभित्र रहेका ७२ ओटै टोल विकास समितिमा पुगेर ई-सिफारिस के हो र यसले कसरी काम गर्छ भन्ने जानकारी दिनुपर्छ । स्थानीयहरू मोबाइल तथा ल्यापटप चलाउन नसक्ने भएकाले पनि यसको विस्तारमा केही समस्या आएको छ ।”
यो “स्थानीय सरकार, स्मार्ट सेवा” शृंखलामा हामी स्थानीय सरकारले अभ्यास गरिरहेका नवीनतम् प्रविधि र यसले नागरिकको सेवा प्रवाहमा गरेको सहजीकरणलाई प्रस्तुत गरिरहेका छौँ । यो शृंखला द एसिया फाउण्डेसन, डेटा फर डेभलपमेन्टको सहयोगमा टेकपानाले तयार पारेको हो । यस शृंखलाको दोस्रो भागमा हामीले ई-सिफारिस प्रणालीको प्रयोगले रूपन्देहीको शुद्धोदन गाउँपालिमा पारेको प्रभावको विषयमा चर्चा गरेका छौँ । शृंखलाको पहिलो तलको लिंकमा उपलब्ध छ । बाँकी भागहरू क्रमशः प्रस्तुत हुनेछन् ।