काठमाडौँ । विश्वकै ठुलो अनलाइन ज्ञानको भण्डार हो- विकिपिडिया । अंग्रेजी भाषामा मात्रै ७० लाखभन्दा बढी लेख भएको यो वेबसाइटमा हजारौं भोल्युन्टर एडिटरले काम गर्छन् । उसो भए दोस्रो ठुलो विकिपिडिया कुन भाषामा होला ? पक्कै फ्रेन्च, स्पेनिस वा चिनियाँ भाषामा होला भनेर सोच्नुभएको होला । होइन । विकिपिडियाको दोस्रो ठुलो संस्करणमा ६० लाखभन्दा बढी लेखहरू छन्, जुन फिलिपिन्सको ‘सेबुआनो’ भाषामा छ । अचम्मको कुरा के छ भने, ती लेख हजारौं मानिसले हैन, एउटा स्वचालित बटले लेखेको हो ।
हो, यो कुरा सुन्दा विश्वास नलाग्न सक्छ । तर, साँचो हो । स्विडेनका भाषाविद् स्वेर्कर जोहान्सनले बनाएको ‘एलएसजेबट’ (Lsjbot) नामक प्रोग्रामले ती लेख तयार पारेको हो । जोहान्सनले सन् २०१० तिर विकिपिडियामा लेख लेख्दा विभिन्न साना बटहरूले दुई चार लाइनका लेख लेखिरहेको देखे । उनले सोचे- “म योभन्दा राम्रो गर्न सक्छु ।”
त्यसपछि उनले एलएसजेबट बनाउँदै विकिपिडियामा लेख लेखाउन थाले । एलएसजेबटले इन्टरनेटमा भएका विभिन्न तथ्यांकहरूको डेटा संकलन गरेर पहिल्यै तयार पारिएका वाक्य संरचनामा ती शब्द हालेर लेख बनाउँछ । जस्तै, कुनै जनावरबारे लेख लेख्दा, ‘X एउटा Y हो, जुन Z परिवारमा पर्छ’ भन्ने संरचना हुन्छ । यसमा X, Y र Z ठाउँमा सिंह, स्तनधारी र बिरालो परिवार जस्ता शब्द राखेर लेख तयार पारिन्छ ।
किन सेबुआनो भाषामै ?
अब तपाईँलाई लाग्न सक्छ- स्विडेनको मान्छेले किन फिलिपिन्सको भाषामा लेख लेख्यो त ? जोहान्सनकी श्रीमतीको मातृभाषा सेबुआनो रहेछ । उनी पूर्ण रूपमा त्यो भाषा बोल्न नजान्ने भएपनि श्रीमतीको भाषामा योगदान दिन चाहन्थे । त्यसैले उनले एलएसजेबटलाई सेबुआनो भाषामा लेख लेख्न लगाए ।
सेबुआनो विकिपिडियामा एलएसजेबटले जीवजन्तु, वनस्पति, भौगोलिक स्थान लगायतका विषयमा करोडौँ लेख लेख्यो । उनले फिलिपिन्सको अर्को भाषा वाराय र आफ्नै स्विडिस भाषामा पनि बट चलाए ।
बटले लेख्दा समस्या
यो रमाइलो प्रयोगले विकिपिडियामा धेरै विवाद ल्यायो । सेबुआनो विकिपिडियामा मान्छेहरू थोरै मात्र भएकाले लेखको गुणस्तर सुधार गर्ने समय नै थिएन । कतिपय लेखमा भाषागत त्रुटि, तथ्यगत गल्ती र अपूर्ण जानकारी थिए ।
सन् २०१८ मा त सेबुआनो विकिपिडिया नै हटाउने प्रस्ताव समेत आएको थियो । तर, फिलिपिन्सका विकिपिडिया प्रयोगकर्ताहरूले त्यसको विरोध गरे । उनीहरू अहिले पनि ती लेख सुधार्न व्यस्त छन् ।
फिलिपिन्सका विकिपिडियन जोश लिम भन्छन्, “बटले लेख लेख्दा हामीले मात्र संख्या बढाउने हो कि गुणस्तर हेर्ने भन्ने प्रश्न उठेको छ ।” उनका अनुसार यसले फिलिपिन्सका अरू भाषामा समेत लेख संख्या बढाउने होड ल्यायो । जसले गर्दा अरू भाषाका विकिपिडिया पनि साना र कमजोर लेखले भरिए ।
एलएसजेबट बन्द, तर बहस अझै बाँकी
सन् २०२१ पछि एलएसजेबट चल्न छाडिसकेको छ । जोहान्सनले आफूले चाहेजस्तो धेरै पाठक र एडिटरलाई आकर्षित गर्ने उद्देश्य नपुगेपछि बट बन्द गरेका हुन् । अहिले पनि अंग्रेजी विकिपिडिया नै सबैभन्दा धेरै हेरिन्छ । सेबुआनो विकिपिडिया भने मासिक केही हजार दर्शकले मात्रै हेर्छन् ।
अर्को चुनौती हो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग । च्याटजीपीटी, ओपनएआई जस्ता अहिलेका जेनरेटिभ एआईले नयाँ कुरा आफैं सिर्जना गर्छन् । यसले विकिपीडिया जस्ता खुला स्रोतमा नयाँ चुनौती र समस्या उत्पन्न गरिरहेको छ । जोहान्सन भन्छन्, “मेरो बटले डेटा मात्रै जडान गर्छ, कल्पना गर्दैन । तर जेनरेटिभ एआईले सत्य जस्तो लाग्ने, तर गलत कुरा पनि बनाउँछ ।”
फिलिपिन्सका विकिपिडियनहरू भन्छन्, “एआई प्रयोग गर्दा एडिटरले जाँच गर्नुपर्ने हुन्छ । नत्र, गलत जानकारी विकिपिडियामा जान सक्छ ।"
यसबिचमा प्रविधि र स्वेच्छिक योगदानबिच सन्तुलन मिलाउन जरुरी रहेको चर्चा गर्न थालिएको छ । बट र एआई सहायक बन्नसक्ने भएपनि मान्छेले त्यसमा जाँच र सुधार गर्न अनिवार्य भएको औंल्याइएको छ । नत्र, जानकारीकै भरपर्दो स्रोत विकिपिडिया नै अविश्वसनीय हुन सक्छ ।