close

‘हाई-वेहरूमा चार्जिङ स्टेसन जत्तिकै दक्ष जनशक्ति र ईभी स्पेयर पार्ट्स युक्त वर्कशपहरू चाहिन्छ’

किरण तिम्सिना किरण तिम्सिना

बैशाख १८, २०८२ १९:१७

‘हाई-वेहरूमा चार्जिङ स्टेसन जत्तिकै दक्ष जनशक्ति र ईभी स्पेयर पार्ट्स युक्त वर्कशपहरू चाहिन्छ’

मैले दीपल एस ०७ कुदाएको लगभग एक वर्ष भयो र यो अवधिमा मैले करिब ३५ हजार किलोमिटर यात्रा तय गरिसकेको छु । आज म तपाईँहरूलाई यो गाडीसँगको मेरो एक वर्षको अनुभव, यसका राम्रा र नराम्रा पक्षहरूबारे बताउन चाहन्छु ।

आकर्षक डिजाइन र केही कमीहरू

यो गाडी मलाई मन पर्नुको एउटा प्रमुख कारण यसको डिजाइन ल्याङ्ग्वेज हो । अगाडिबाट हेर्दा एकदमै डाइनामिक र स्पोर्टी देखिन्छ । हेर्दै आकर्षक लाग्ने यसको कलर, जसलाई कम्पनीले 'नियन यल्लो' भनिन्छ, तर हेर्दा अलि हरियोपन भएजस्तो लाग्छ । यस्तो रङ्गको गाडी नेपालमा खासै नभएकोले मलाई यो युनिक लागेको थियो । जब मैले यो कलर देखेँ, मलाई अरू कुनै कलर चाहिएन, यही चाहिन्छ भनेर आफ्नो रोजाईमा पारेको थिएँ ।

यद्यपि, डिजाइनको कुरा गर्दा एउटा सानो कमी के छ भने, यत्रो ठुलो गाडी (१.९ मिटर चौडाई) को लागि अगाडि जम्मा दुई ओटा मात्र अल्ट्रासोनिक सेन्सर राखिएका छन् । मलाई पछि मात्र थाहा भयो कि कमसेकम अगाडि ६ ओटा र पछाडि ६ ओटा सेन्सर हुनुपर्ने रहेछ । दुई ओटा मात्र सेन्सरले आजकलका गाडीहरूमा हुने अटोमेटिक पार्किङ र डिस्टेन्स मेजरमेन्टमा एक्युरेसी पर्याप्त रूपमा दिन सक्दैन ।

सुरुमा यसको लोगो अलिकति टेस्लाको जस्तो देखिने भएकोले मान्छेहरू झुक्किने रहेछन् । धेरैले मलाई 'टेस्ला किनेछौँ' भनेर सोध्थे । तर, अब नेपालमा मान्छेहरूले यो दीपलकै लोगो हो भनेर चिन्न थालिसकेका छन्, जसले गर्दा 'डुप्लिकेट टेस्ला' भनेर कसैले भन्ने कुरा कम भएको छ ।

गाडीको अगाडी भागको कुरा गर्नुपर्दा लाइटहरू एकदमै चम्किला छन् र राति मज्जाले देखिन्छ । चाइनामा यो गाडीमा अगाडिको भागमा म्याट्रिक्स डिस्प्ले युनिट आउँदो रहेछ । जसले अक्षर वा तस्विर देखाउन सक्थ्यो । तर, नेपालमा आउँदा यो फिचर हटाइएको रहेछ, सायद लागत कम गर्नको लागि होला । यो थाहा पाउँदा अलिकति खसखस लागेको थियो ।

गाडीको अगाडि बोनेटभित्र एकदमै ठुलो डिक्की छ र सामान राख्न काम लाग्छ । मैले एक जनाको भिडिओमा मान्छे नै अटाएको पनि देखेको थिएँ । सानोतिनो मान्छे यहाँ अट्छ जस्तो लाग्छ । पछाडिको डिक्की जस्तो यो रिमोटबाट खुल्ने/बन्द हुने किसिमको चाहिँ छैन । सामान धेरै भएको बेला यो भाग साँच्चै काम लाग्दो रहेछ ।

एउटा आम गलत धारणा के छ भने ईभीको ब्याट्री सकियो भने भित्रबाट ढोका खुल्दैन र मान्छे अड्किन्छ । यो एकदमै गलत हो । यो गाडीमा चार ओटै ढोकामा आपत्कालीन अवस्थाका लागि लिभर दिइएको छ । कम्पनीले यसबारे ग्राहकलाई जानकारी दिनुपर्छ जस्तो लाग्छ ताकि ईभी प्रतिको भ्रम हट्नेछ ।

आधुनिक इन्टेरियर र सफ्टवेयर

गाडीको भित्री भागको कुरा गर्दा स्टेरिङ ह्वील एकदमै राम्रो डिजाइन गरिएको छ । यसमा चाहिने बटनहरू सजिलो ठाउँमा राखिएको छ, फेभरेट बटनहरू पनि छन् । एडप्टिभ क्रुज कन्ट्रोलका कन्ट्रोलहरू पनि स्टेरिङ ह्वीलमै छन्, जुन एकदम सजिलो छ ।

यसको एउटा सबैभन्दा मनपर्ने फिचर भनेको एआर एचयूडी (Augmented Reality Head-Up Display) हो । यसले गाडीको स्पिड, बाँकी ब्याट्री, रेन्ज जस्ता सबै महत्त्वपूर्ण जानकारी अगाडि सिसामा प्रोजेक्ट गरिदिन्छ । जसले गर्दा ड्राइभरले बाटोबाट आँखा हटाएर कन्सोल वा स्क्रिनमा हेर्नु पर्दैन । यो एउटा एकदमै महत्त्वपूर्ण सेफ्टी फिचर हो र मलाई लाग्छ भोलिका दिनमा एआर एचयूडी नभएको गाडी म किन्दिनँ ।

गाडीको भित्रपट्टि पर्याप्त ठाउँ छ र ठुलो पनि छ । ड्राइभरको लागि अगाडिको स्पेस राम्ररी डिजाइन गरिएको छ । आर्म रेस्ट, ग्लोब कम्पार्टमेन्ट, कप होल्डर, ठुलो अन्डरबडी स्टोरेज, वायरलेस फोन चार्जर (जसमा फोन तात्न नदिन एसी भेन्ट पनि छ) र यूएसबी चार्जर जस्ता सुविधाहरू छन् ।

सिटहरू असाध्यै आरामदायी छन् । सबै सिटहरू इलेक्ट्रोनिकल्ली एडजस्ट गर्न मिल्छ । ड्राइभरका लागि मेमोरी फङ्सन पनि छ, जसले सेट गरेको पोजिसन याद राख्छ । यसले कहिलेकाहीँ काम गर्दैन, जुन सफ्टवेयरको बग हो । प्यासेन्जर सिट पनि विद्युतीय तवरमा एडजस्ट गर्न मिल्ने किसिमको छ । यसमा भेन्टिलेटेड सिट छ, जुन तातो वा चिसो दुवै सिजनमा काम लाग्छ र एकदमै उपयोगी भएको छ । मसाज सिट यो गाडीमा चीनमा राखिएको भए पनि नेपालमा आएन ।

गाडीमा डुअल जोन एसी छ, जसले गर्दा ड्राइभर र को-ड्राइभरले फरक फरक तापक्रम सेट गर्न सक्छन् । भित्र एम्बिएन्ट लाइटिङ पनि छ, जुन म्युजिकको रिदमसँग सिंक गर्न मिल्छ । ड्राइभर मनिटरिङ सिस्टम (DMS) पनि छ, तर यसको एल्गोरिदम नेपालीहरूको अनुहारको लागि तालिम नभएकाले सही तवरमा काम गर्दैन र नथाकेको बेला पनि आराम गर्न भन्न थाल्छ ।

सफ्टवेयरको कुरा गर्दा केही समस्याहरू छन् । हरेक चोटि गाडी चलाउँदा एउटा अथोराइजेसन गर्नैपर्छ र यसका अप्सनहरूले काम गर्दैनन् । म्युजिकको भोलुम कन्ट्रोलमा पनि बग छ, म्यापबाट म्युजिकमा स्विच गर्दा यसले म्युजिकको भोलुम नभई म्यापको भोलुम कन्ट्रोल गर्छ ।

सफ्टवेयर अपडेट र कनेक्टिभिटीको अभाव

यो गाडीको सबैभन्दा ठुलो समस्यामध्ये एक हो, नेपालमा सफ्टवेयर अपडेट नआउनु । मैले गाडी किन्दा दीपल ओएस २.० थियो र एक वर्षपछि पनि त्यही छ । चीनमा यसको २.१, २.२, २.३ वा ३.० भर्सन आइसकेको होला, जसले बग फिक्स गर्ने र नयाँ फिचर थप्ने काम गर्छ । अपडेट नहुँदा विभिन्न बगहरू समाधान हुन सकेका छैनन् ।

अर्को महत्त्वपूर्ण कुरा, गाडीमा सिम कार्ड राखिएको छैन । जब कि चीनमा ८ वर्षको डेटा प्याकसहित बेचिन्छ । सिम कार्ड नहुँदा धेरै फिचरहरूले कामै गर्दैनन् । मोबाइल एप छैन, जसले गर्दा गाडी लोकेट गर्ने, एसी अन गर्ने जस्ता फिचर प्रयोग गर्न सकिँदैन । भोइस कमान्ड पनि सिम कार्ड नभएकैले काम गर्दैन । गाडीमा हार्डवेयर (जस्तै क्वालकम ८१५५ चिपसेट, १२ जीबी र्‍याम) भए पनि सफ्टवेयरको सीमितताले गर्दा त्यसको पूर्ण प्रयोग हुन सकेको छैन । हार्डवेयर भए पनि सफ्टवेयरकै कारण इन्भाइरमेन्ट रिकन्स्ट्रक्सन जस्ता फिचरहरू राम्रोसँग काम गर्दैनन् वा उपयोगी छैनन् ।

ड्राइभिङ अनुभव: पिच बाटोका लागि उत्कृष्ट, अफरोडका लागि कमजोर

यो गाडी रियर ह्विल ड्राइभ (RWD) हो, जसले गर्दा पिकअप पन्ची फिल हुन्छ । उकालोमा फ्रन्ट ह्वील ड्राइभ जत्तिको नताने पनि यो खासै चिप्लिँदैन । पिच बाटोमा यो गाडी कुदाउन कुनै समस्या छैन । तर, यो गाडी अलि नराम्रो बाटो अर्थात् अफरोड कुदाउन बनाएको होइन रहेछ भन्ने मेरो अनुभव छ । उकालोमा अलिअलि अफरोड बाटो आयो भने ट्रयाक्सन कन्ट्रोलले गर्दा पछाडिको टायर घुम्दै घुम्दैन र गाडी अड्किन्छ । नैकाप वा बेग्नास जाने बाटोमा यस्तो अनुभव भएको थियो ।

यसको लामो ह्वील बेस (२९०० एमएम) र कम ग्राउन्ड क्लियरेन्स (१६५ एमएम, नेपालमा १७५ एमएम भनिए पनि) ले गर्दा बीचमा अग्लो भएको वा ढुङ्गा भएको ठाउँमा गाडीको अन्डरबडी ठोकिने वा अड्किने सम्भावना धेरै हुन्छ । मेरो गाडीले पनि पाँच-छ चोटि तल छोइसकेको छ । ठुलो क्षति नभए पनि कस्मेटिक ड्यामेज (कोतारिएको) भएको छ । गाडीको म्यानुअलमै पटहोल वा ठुला स्पिड ब्रेकरमा नलैजान भनिएको छ, जुन नेपालको सडकको वास्तविकताभन्दा फरक छ ।

यसमा ३६० डिग्री क्यामेरा छ, जुन एकदमै सफा र ढुक्क भएर भर पर्न सकिने किसिमको छ । साँघुरो ठाउँमा गाडी कटाउन यो क्यामेराले ठुलो सहयोग गर्छ । तर यसका अल्ट्रासोनिक सेन्सरहरू पर्याप्त नभएकाले ढुक्क हुन सकिने अवस्था भने छैन । मिलिमिटर वेभ राडार सेन्सर पनि तीन ओटा मात्रै छन्, जुन पर्याप्त छैनन् ।

नेपालका आयातकर्ताहरूले गाडी ल्याउँदा नेपालको रोड कन्डिसनअनुसार केही कस्टमाइजेसन गर्नुपर्ने हो जस्तो लाग्छ । जस्तै, ठुलो रिम (२० इन्च) भन्दा सानो रिम (१९ इन्च) र धेरै रबर प्रोफाइल (५०% एस्पेक्ट रेसियो) भएको टायर ल्याउँदा खराब बाटोमा बढी आरामदायी हुने र शक अब्जर्भ राम्रो हुने थियो । तर, आयातकर्ताहरू मार्केटिङका लागि ठुलो टायरमा ध्यान दिन्छन् । कतिपय गाडीमा मोटरको पावर पनि घटाएर ल्याएको पाइन्छ । दुई टनको गाडीका लागि १६० किलोवाटको मोटर पर्याप्त नभई १९० किलोवाटको चाहिने ठाउँमा १६० को मात्रै ल्याउँदा गाडीलाई असर पर्न सक्छ । सरकारले ग्राउन्ड क्लियरेन्सको विज्ञापन र मोटर साइज परिवर्तन गर्न नपाउने गरी नियन्त्रण गर्नुपर्छ जस्तो लाग्छ ।

लामो यात्रामा जाँदा टायर पञ्चर वा केही समस्या भइहाल्यो भने के गर्ने भन्ने डर सधैँ रहन्छ । गाडीमा स्पेयर टायर राख्ने ठाउँ नै छैन । यसको टायर प्रोफाइल सामान्य गाडीमा प्रयोग नहुने हुँदा बाटोमा हुने टायर पसलमा नपाउन सकिन्छ । कम्पनीले टायर ज्याक पनि दिएको थिएन ।

चार्जिङ स्टेसन जसरी बनिरहेका छन्, त्यसरी नै ईभीका लागि आवश्यक स्पेयर पार्ट्स (टायर, ब्याट्री सेल) र मर्मतका लागि तालिमप्राप्त जनशक्ति तथा वर्कशपहरू काठमाडौँ बाहिर पनि उपलब्ध हुनु जरुरी छ । त्यस किसिमको पूर्वाधार नहुँदासम्म मान्छेहरूलाई सहर बाहिर ईभी कुदाउने कुरामा आत्मविश्वास बढ्दैन र ईभीको पहुँच सहर केन्द्रित मात्रै रहन्छ । चार्जिङ मात्रै होइन, स्पेयर पार्ट्स र मेन्टेनेन्स पनि ईभी पूर्वाधारको महत्त्वपूर्ण पाटो हो ।

रेन्ज र चार्जिङ

यो गाडीको रेन्जबाट म सन्तुष्ट छु । हाइवेमा करिब ४०० किलोमिटर र सहरी क्षेत्रमा ३५० भन्दा बढीको रेन्ज दिने यसको क्षमताले गर्दा लामो यात्रामा पनि ढुक्क हुन सक्ने किसिमले आत्मविश्वास बढेको छ । दोलालघाट जाँदा २४% चार्जमा अपडाउन भएको थियो र पोखरा जाँदा ८०-९०% चार्जले नै पुगेको थियो । मैले अहिलेसम्म दुई पटक मात्र बाहिर चार्ज गरेको छु, बाँकी सबै घरमै गरेको छु । जुन सस्तो पर्छ । ब्याट्रीको स्वास्थ्यका लागि २०% भन्दा तल र ९०% भन्दा माथि चार्ज नगर्नु नै राम्रो हुन्छ ।

पछिल्लो अध्यावधिक: बैशाख १८, २०८२ १९:२७