close

आईफोनमा २०० मेगापिक्सेल क्यामेरा परीक्षण गर्दै एप्पल, डिजाइनमा पनि व्यापक फेरबदल हुने

टेकपाना टेकपाना

जेठ १४, २०८२ १०:१

आईफोनमा २०० मेगापिक्सेल क्यामेरा परीक्षण गर्दै एप्पल, डिजाइनमा पनि व्यापक फेरबदल हुने

काठमाडौँ । एप्पलले २०० मेगापिक्सेल क्षमताको क्यामेरा परीक्षण गरिरहेको खबर बाहिरिएको छ । पछिल्लो केही समयदेखि यो क्षमताका क्यामेरा स्मार्टफोन बजारमा प्रचलनमा आइरहँदा एप्पल पनि यो लाममा मिसिन आएको हो ।

चिनियाँ सोसल मिडिया प्लेटफर्म वेइबोमा सक्रिय लिकर डिजिटल च्याट स्टेसन मार्फत सार्वजनिक भएको सूचना अनुसार एप्पलले २०० मेगापिक्सेलको सेन्सर परीक्षण गरिरहेको छ । तर कुन सेन्सर र कुन क्यामेराका लागि प्रयोग गरिन्छ भन्नेबारे स्पष्ट जानकारी दिइएको छैन ।

यो परीक्षण मेन क्यामेराका लागि हुन सक्ने बताइएको छ । प्रतिस्पर्धी ब्रान्डहरूमध्ये सामसङले आफ्नो ग्यालेक्सी अल्ट्रा सिरिज र हालैको एस२५ एजमा २०० मेगापिक्सेल मुख्य क्यामेरा प्रयोग गरिसकेको छ । त्यस्तै, चिनियाँ ब्रान्डहरूले समेत केही महिनायता २०० मेगापिक्सेल टेलिफोटो पेरिस्कोप क्यामेरा प्रयोग गरिरहेका छन् ।

एप्पलको नयाँ क्यामेरा परीक्षणसँगै कम्पनीले आगामी तीन वर्षभित्र आफ्नो डिजाइनमा ठुलो परिवर्तन गर्ने अनुमान गरिएको छ । यसै वर्ष आउने आईफोन १७ मा पछाडिको भागमा ठुलो क्यामेरा बम्प हुने चर्चा छ । त्यस्तै, सन् २०२६ मा प्रो मोडलमा फेस आईडी स्क्रिनमुनि राख्ने योजना छ । जसले गर्दा फ्रन्टमा सेल्फी क्यामेराका लागि सानो होल-पन्च मात्र रहनेछ ।

त्यस्तै सन् २०२७ मा आउने आईफोन १९ प्रो मा अगाडिको भागमा पूर्ण स्क्रिन हुने सम्भावना छ । त्यसका लागि कम्पनीले अन्डर-डिस्प्ले क्यामेरा प्रविधि प्रयोग गर्ने योजना बनाइरहेको चर्चा छ ।

यद्यपि, यी सबै जानकारी अहिलेसम्म पुष्टि नभएका अड्कलबाजी मात्र हुन् । एप्पलले यी प्रविधि कहिले र कुन मोडलमा ल्याउने भन्ने अझै स्पष्ट छैन ।

 

पछिल्लो अध्यावधिक: जेठ १४, २०८२ १०:१