close

अफलाइन बार्गेनिङ गर्ने ३३१ राइडरहरू कारबाहीमा, २७२ जनालाई जरिबाना

टेकपाना टेकपाना

जेठ २०, २०८२ २२:४५

अफलाइन बार्गेनिङ गर्ने ३३१ राइडरहरू कारबाहीमा, २७२ जनालाई जरिबाना

काठमाडौँ । सार्वजनिक यातायात बन्दको अवसर छोपी अफलाइन बार्गेनिङमार्फत यात्रुसँग मनपरी भाडा असुल्ने तथा सडक अवरोध गर्ने चालकहरू दोस्रो दिन पनि कारबाहीमा परेका छन् ।

मंगलबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुलाई हैरानी दिने, बढी भाडा असुल्ने, अफलाइन बार्गेनिङ गर्ने र सवारी आवागमनमा अवरोध पुर्‍याउने कार्य गरेको भन्दै ३३१ जना चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

त्यसैगरी ट्राफिक नियम उल्लंघन गर्ने अन्य २७२ जना राइड शेयरिङ चालकलाई पनि कारबाही गरिएको छ । सार्वजनिक सवारी साधन बन्द रहेको अवस्थामा ती चालकले सडकमा यात्रु पर्खँदा सवारी आवागमनमा अवरोध पुगेको ट्राफिक प्रहरीले जनाएको छ ।

साथै उनीहरूले यात्रुसँग अत्यधिक भाडा लिने, अफलाइन सर्तमा यात्रा गराउने र अनावश्यक रूपमा दुःख दिने काम गरेको समेत फेला परेको छ ।

नियमविपरीत क्रियाकलापमा संलग्न ३३१ जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि विभिन्न प्रहरी वृत्तमा पठाइएको छ भने बाँकी २७२ जनामाथि सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार कारबाही गरिएको कार्यालयले जानकारी दिएको छ ।

यसअघि सोमबार पनि यस्तै गतिविधिमा संलग्न २७८ जना चालकलाई कारबाही गरिएको थियो भने ६० जनालाई नियन्त्रणमा लिइएको थियो ।

पछिल्लो अध्यावधिक: जेठ २०, २०८२ २३:१०