close

धेरैले विदेशी ठान्ने सबैभन्दा धेरै ट्राफिक भएको नेपाली वेबसाइट प्रोग्रामिज

हिक्मत आचार्य हिक्मत आचार्य

पुस २९, २०८० १५:१७

धेरैले विदेशी ठान्ने सबैभन्दा धेरै ट्राफिक भएको नेपाली वेबसाइट प्रोग्रामिज

काठमाडौं । कम्प्युटर प्रोग्रामिङ सिक्न चाहने विश्वभरका विद्यार्थीहरू माझ लोकप्रिय मध्येको एक वेबसाइट हो, प्रोग्रामिज डटकम । यो प्लेटफर्म नेपाली युवाहरूले विकास गरेको र नेपालबाटै सञ्चालित छ भन्ने कुरा धेरैलाई थाहा छैन । अझ रोचक कुरा प्रोग्रामिजको लोकप्रियतालाई यति धेरै छ कि ‘यो नेपालको उत्पादन हो’ भन्दा झट्‌ट अपत्यारिलो लाग्छ । 

"नेपालबाट सञ्चालित कम्पनीमध्ये सबैभन्दा बढी इन्टरनेट ट्राफिक भएको वेबसाइट हाम्रै हो," कम्पनीका सहसंस्थापक पुनित जाजोदिया भन्छन्, "त्यसैले पनि कतिपयलाई प्रोग्रामिज नेपाली प्लेटफर्म हो भन्ने विश्वास नै लाग्दैन । हामी नेपालमै रहेर पनि विश्वस्तरको प्लेटफर्म बनाउन सकिन्छ भन्ने कुरा प्रमाणित गर्न लागिपरेका छौं ।"

सुरु भएदेखि हालसम्म २७ करोड ५० लाख बढी युनिक भिजिटरले प्रोग्रामिजको साइट खोलेका छन् । त्यसमध्ये मासिक ९० लाख प्रयोगकर्ताले आफ्नो साइटबाट प्रोग्रामिङ सिकिरहेको कम्पनीले जनाएको छ । 

सिमिलर साइट्सले डिसेम्बर २०२३ मा मासिक एक करोड प्रयोगकर्ताले प्रोग्रामिजको साइट भिजिट गर्ने गरेको देखाउँछ । जसअनुसार एक प्रयोगकर्ताले औसत चार मिनेट ४२ सेकेन्ड समय यसमा बिताउने गरेका छन् । 

यसमा सबैभन्दा बढी (३५.६६ प्रतिशत) भिजिटर भारतीय छन्, त्यसपछि अमेरिका (८.२%), बङ्ग्लादेश (२.५%), टर्की (२.३४%) र क्यानडा (२.५६%) का छन् । नेपालबाट भने जम्मा १.५ प्रतिशत मात्रै भिजिटर रहेको पुनितले सुनाए । 

 

प्रोग्रामिजको कथा

सन् २००९ तिर रञ्जित भट्ट इलेक्ट्रोनिक्स इन्जिनियरिङ पढ्न पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भर्ना भए । तर उनको रुचि क्रिकेटतिर पनि उत्तिकै थियो । खेल खेल्न भन्दा पनि त्यस विषयमा लेख्नमा उनी पोख्त थिए । 

त्यस बखत ब्लग लेख्ने प्रचलन पनि विस्तारै बढिरहेको थियो । विशेषतः आफ्नो छुट्टै वेबसाइट बनाएर आफ्ना लेख रचना प्रकाशित गरिन्थ्यो । रञ्जित पनि टीभीमा क्रिकेट हेर्थे र त्यस सम्बन्धी जानकारी आफ्नो ब्लगमा राख्थे ।

“इलेक्ट्रोनिक्स इन्जिनियरिङ पढ्दा सँगसँगै मैले आम्दानीका लागि क्रिकेट सम्बन्धी ब्लग चलाइरहेको थिएँ,” सुरुवाति दिन स्मरण गर्दै प्रोग्रामिजका संस्थापक रञ्जित भट्ट भन्छन्, “राम्रो लेखहरू लेखे पढ्नेहरू धेरै हुन्छन् पढ्नेहरू धेरै भए आम्दानी राम्रै हुन्छ भन्ने पनि बुझिसकेको थिएँ ।” 

पहिलो वर्षको कोर्समा सी प्रोग्रामिङ पनि पढ्नु पर्ने भयो । शिक्षकले सी प्रोग्रामिङ पढाएको नबुझेपछि उनले सी प्रोग्रामिङ अध्ययन गर्न सकिने प्लेटफर्म खोज्न थाले । इन्टरनेटमा प्रोग्रामिङ सिकाउने केही प्लेटफर्म त थिए, तर भट्टले चाहे जस्तो प्लेटफर्म भेट्न सकेनन् ।

इन्टरनेटमा पर्याप्त स्रोत नभेटेपछि त्यसका लागि आफैं एउटा प्लेटफर्म बनाउन सकिने कुरा सोच्न थाले । “यस्तो प्लेटफर्मको खाँचो पुल्चोकमा सँगै पढ्ने साथीहरूलाई मात्र नभएर संसारभरका कति विद्यार्थीलाई होला भन्ने लाग्थ्यो,” भट्टले सुनाए । 

“एउटा ढाँचामा सी प्रोग्रामिङको कोर्स मिलाएर राख्न सकियो भने विद्यार्थीका लागि राम्रै हुन्छ भन्ने सोचेको थिएँ । तर त्यति बेला आफैंलाई प्रोग्रामिङको ज्ञान थिएन ।”

भट्ट र अश्विन श्रेष्ठ प्लसटुका सहपाठी हुन् ।  भट्टले उनै अश्विनलाई आफ्नो आइडिया सुनाए । त्यस बेला अश्विन भारतको नेसनल इन्स्टिच्युट अफ टेक्नोलोजी (एनआईटी) कुरुक्षेत्रमा बीटेक कम्प्युटर साइन्स पढ्दै थिए ।

अश्विनले पनि एनआईटीमा अध्ययन गरिरहेका उनका अर्का साथी पुनित जाजोदियालाई रञ्जितको आइडियाबारे बताए । 

(प्रोग्रामिजका सह-संस्थापक तथा सीईओ रञ्जित भट्ट) 

केही समयपछि एनआईटीमा लामो बिदा सुरु भयो । अश्विन र पुनित नेपाल फर्किएर एचटीएमएल, सीएसएस तथा पीएचपी लगायतका कोर्स सिक्ने योजना बनाइरहेका थिए । त्यसै क्रममा उनीहरूको भेट रञ्जितसँग भयो । 

तीनै जना एकसाथ भेटेको त्यो नै पहिलो पटक थियो । पहिले कुनै इन्स्टिच्युटबाट आफूले सिक्ने र पछि अरूलाई सिकाउने योजना उनीहरूको थियो । 

“कन्टेन्ट लेख्न सके ब्लगिङबाट पैसा कमाउन सकिन्छ भन्ने आइडिया रञ्जितसँग थियो । उसले त्यसबाट थोरबहुत त पहिल्यै देखि नै कमाइरहेको  पनि थियो,” पुनित भन्छन् ।

(प्रोग्रामिजका सह-संस्थापक अश्विन श्रेष्ठ)

कोर्स सकाएपछि सी प्रोग्रामिङ र पाइथनको कोर्स तयार पारेर अनलाइनमा राख्ने प्रस्ताव रञ्जितले ल्याएका थिए । “प्रोग्रामिङ सिक्न खोज्ने र कोर्स नभएर कसैले राम्रो गाइडेन्स पाउन नसक्नेहरू धेरै छन् भन्ने मलाई थाहा थियो,” रञ्जित भन्छन् ।

लगत्तै उनीहरू प्रोग्रामिङ सिक्न एउटा इन्स्टिच्युटमा भर्ना भए । प्रोग्रामिङ सिक्दासिक्दै रञ्जितले ‘सेल्फ ट्युटोरियल’ नामको डोमेन दर्ता गरे र त्यसमा आफूले जानेका प्रोग्रामिङ सम्बन्धी कोर्स बनाएर अपलोड गर्न थाले । 

त्यसमा उनलाई अश्विन र पुनितले पनि सघाउन थाले । तीन महिने कोर्स पूरा गरेसँगै अश्विन र पुनितको बिदा पनि सकियो अनि उनीहरू पुनः भारत लागे । 

(सिल्भर प्ले बटनको साथमा सह-संस्थापक पुनित जाजोदिया)

यता रञ्जित एक्लै ‘सेल्फ ट्युटोरियल’ चलाइरहेका थिए । आम्दानी जति हुन्थ्यो, उनी आफ्ना दुई जना साथीलाई त्यसबारे जानकारी गराइरहेका हुन्थे । 

हरेक दिन कति ट्राफिक आयो, प्रयोगकर्ताले कति समय बिताए, कुन कोर्स बढी खोजिरहेका छन् भन्ने कुराको जानकारी दिइराख्थे । उता अश्विन र पुनित आफ्नै कक्षाको पढाइमा व्यस्त हुन्थे । 

यता रञ्जितलाई भने साथीहरूले समय नदिए एक्लै भए पनि ‘सेल्फ ट्युटोरियल’लाई निरन्तरता दिन कस्सिएका थिए । रञ्जित भन्छन्, “व्यस्तताका कारण त्यसै पनि अश्विन र रञ्जितले समय दिन सकिरहेका थिएनन् । बढी जोड गर्नुभन्दा एक्लै भए पनि चलाउँछु भन्ने सोचेर आर्टिकल लेखिरहेको थिएँ ।” 

यसरी ‘सेल्फ ट्युटोरियल’ अगाडि बढाउनुभन्दा अर्को वेबसाइट सञ्चालन गर्दा उपयुक्त हुने सोचेर रञ्जितले सन् २०११ तिर ‘प्रोग्रामिज डटकम’ (programiz.com) दर्ता गरेर । आफूले सिकिरहेको सी प्रोग्रामिङको कोर्स बनाएर उनी उक्त वेबसाइटमा राख्न थाले । 

 

यसरी अगाडि बढ्यो प्राग्रामिज डटकम !

त्यस बेला कसैले पनि प्रोग्रामिङ सम्बन्धी ट्युटोरियल खासै व्यवस्थित तवरमा इन्टरनेटमा राखेको भेटिन्नथ्यो । त्यही कुरा रञ्जितलाई अवसर बन्यो । उनले व्यवस्थित ढङ्गले राखेका कोर्स गुगलमा अगाडि देखिन थाले । नाम र एसईओ (सर्च इन्जिन अप्टिमाइजेसन) का कारण वेबसाइट छिट्टै र्‍याङ्किङ (गुगलमा सर्च गर्दा सबैभन्दा माथि देखिनु) मा आयो । प्रोग्रामिङका केही कोर्स खोज्नुपरे मानिसहरू उक्त साइट भिजिट गर्थे । राम्रो अडियन्स आउन थालेपछि रञ्जितले ‘एडसेन्स’ (गुगलको विज्ञापन) ‘एप्रुभ’ गराए । त्यसबाट उनले आफ्नो खर्च धान्ने आम्दानी गरिरहेका थिए । 

रञ्जितले प्रोग्रामिजको प्रगति सुनाउँदा भारतमा रहेका उनका साथीहरू पुनित र अश्विन दङ्ग पर्थे । तीनै जना मिलेर कुनै दिन यस्तै कम्पनी सञ्चालन गर्ने सपना बुनिरहेका उनीहरू यतिखेर अलग अलग थिए । 

सन् २०१३ तिर एनआईटीबाट अश्विन र पुनितले ब्याचलर सकाए । अश्विन नेपाल फर्किए भने पुनित त्यहींको एक आईटी कम्पनीमा काम गर्न थाले ।

 पुनितले केही वर्ष भारतको नोयडा र हैदराबादमै काम गरे । उता एक्लै भएपछि पुनित पनि नेपाल फर्किए । 

तीनै जना नेपालमै भएपछि उनीहरूले मिलेर गर्न सकिने व्यवसायको बारेमा छलफल गर्न थाले । “हामी तीनै जना यता भएपछि मिलेसम्म भेटेर व्यावसायिक योजनाबारे कुरा गर्न थाल्यौं,” पुनित भन्छन् ।

“रञ्जितले इलेक्ट्रोनिक्स इन्जिनियरिङ पढेर प्रोग्रामिङबारे लेखेर आम्दानी गरिरहेको देखिरहेका थियौं । देशमा ऊ जस्ता विज्ञता हासिल गरेका कति मान्छे होलान् ! उनीहरू सबैको ब्लग राख्ने प्लेटफर्म बनाउने हो भने राम्रै फाइदा हुन्छ भन्ने लाग्यो ।”

त्यसपछि उनीहरूले प्रोग्रामिज डटकम जस्तै अन्य साइटहरू सञ्चालन गर्ने योजना बनाए । त्यसका लागि २९ सेप्टेम्बर २०१४ मा परेवा ल्याब्स प्रालि दर्ता भयो । सोही कम्पनी अन्तर्गत विभिन्न विधाका छुट्‌टाछुट्‌टै वेबसाइट बनाएर सम्बन्धित विषयका विज्ञलाई आर्टिकल लेख्न लगाउने उनीहरूको आइडिया थियो । 

पुनित भन्छन्, “यसरी २१ ओटा डोमेन दर्ता गर्‍यौं । नेपाली भाषाका लेखकलाई अनुरोध गरेर आर्टिकल लेख्न लगाउन थाल्यौं । यता हामीहरू चाहिं साइट व्यवस्थापन गर्ने र एसईओ मिलाउन केन्द्रित भयौं ।” 

उनीहरूले सुरुमा अधुरो डटकम प्लेटफर्म तयार पारे । त्यसमा जोकोहीले जुनसुकै विधाका लेखहरू पठाउन सक्थे । लेख हेरेर उनीहरूले  उपयुक्त वेबसाइटमा व्यवस्थित ढङ्गले राख्थे । यसरी जसको लेख छापिएको छ, उसलाई त्यसबाट भएको आम्दानीको ५० प्रतिशत रकम उपलब्ध गराउँथे । 

यो काम उनीहरूका लागि सोचाइमा जति सजिलो थियो, गर्न त्यति नै गाह्रो भयो । लेख लेख्ने मान्छे सम्बन्धित क्षेत्रमा कत्ति जानकार हो वा होइन भन्ने थाहा हुँदैनथ्यो । यसरी आएका लेख पुनः दोहोर्‍याएर लेख्नुपर्ने हुन्थ्यो । 

 

असफलताबाट सिकेको पाठ

उनीहरू एकै पटक ठूलो सङ्ख्यामा वेबसाइट बनाएर अघि बढ्ने खोजे । तर त्यतिका डोमेन व्यवस्थापन गर्न पक्कै पनि सजिलो काम थिएन । कन्टेन्ट पनि भने अनुसार आइरहेका थिएनन् ।

अर्कोतर्फ तीन जनालाई २१ ओटा वेबसाइट व्यवस्थापन गर्न दिनदिनै चुनौती थपिंदै गइरहेको थियो । यसरी काम गर्दा कुनै पनि वेबसाइटले उनीहरूले सोचेको जस्तो राम्रो प्रतिफल दिन सकेन । मेहनत राम्रै गरे पनि सफलता भने हात लागिरहेको थिएन । 

लेखकहरूलाई फ्रिल्यान्सरको रूपमा राख्दा सफल नभएपछि कर्मचारीको तवरमा राख्न थाले । गुणस्तरीय कन्टेन्ट राख्ने योजनाले पहिले तीन जना मात्रै रहेको कार्यालयमा अन्य कर्मचारीलाई पनि बोलाउन थाले । 

यसरी उनीहरूले एक वर्षसम्म काम गरे । तर, नतिजा भने केही पनि हात लागिरहेको थिएन । 

आम्दानी नभए पनि कर्मचारी राख्दा, कार्यालय भाडामा लिंदा खर्च भने बढिरहेको थियो । यसरी सम्भव नहुने देखेपछि उनीहरूले कम्पनीका सबै कर्मचारीलाई बिदा गरे र पहिले जस्तै तीन जना मात्र बाँकी भए । 

यसरी कम्पनी बन्द भयो । अश्विनले अर्को कम्पनीमा जागिर पनि पाए । पुनित जागिरको खोजीमा लागे । यता रञ्जित भने आफ्नो पुरानो वेबसाइट प्रोग्रामिजमा कोर्सहरू राखिरहेका थिए ।

कम्पनीबाट औपचारिक रूपमा अलग्गिनु अघि कहाँकहाँ गल्ती भयो भन्ने कुराको समीक्षा गर्न एक दिन तीनै जना बसेर विस्तृतमा छलफल गर्ने योजना बनाए । 

“त्यस क्रममा महसुस गर्‍यौंः हाम्रो ज्ञान प्रोग्रामिङमा छ, तर हामी आफूलाई थाहै नभएको क्षेत्रलाई व्यवसायको रूपमा अगाडि बढाउन खोजिरहेका रहेछौं । मैले प्रोग्रामिज सञ्चालन गरिरहेको थिएँ । तिमीहरू पनि यसैमा पार्टनर बन न त भनेर मैले साथीहरूलाई प्रस्ताव गरें ।”

अश्विन र पुनित राजी भएपछि रञ्जितले २०१७ मा प्रोग्रामिज डटकमलाई परेवा ल्याब्स प्रालिमा गाभे । पहिले भाडामा लिएकै कार्यालयमा रहेर नयाँ ढङ्गले काम गर्ने सङ्कल्प उनीहरूले लिए । 

परेवा ल्याब्समा प्रोग्रामिज आएपछि तीन जनाले आआफ्नै तरिकाले प्रोग्रामिङका कोडहरू लेखेर कोर्सको रूपमा वेबसाइटमा राख्न थाले । बिहानदेखि रातिसम्म उनीहरू कन्टेन्ट लेख्थे ।

छुट्‌टिने बेला काम केके भयो अनि भोलिको योजना के भन्नेबारे छलफल गर्थे । यसरी तीन जनाले सन् २०१९ सम्म प्रोग्रामिङमा काम गरे । कोर्स लिनेहरू बढ्दै गएपछि उनीहरूको आम्दानी पनि बढ्दै गयो । 

“हामी तीन जनाको योजना, बुझाइ र अनुभव लगभग एउटै थियो,” पुनित भन्छन्, “हामीले आफूले जे लक्ष्य राखेका हुन्थ्यौं, त्यसलाई पूरा गर्नतर्फ केन्द्रित हुन्थ्यौं ।” 

यसरी तीन वर्षको अवधिमा प्रोग्रामिजले अमेरिका, क्यानडा र भारत जस्ता देशका अडियन्समा आफ्नो गहिरो छाप छोडिसकेको थियो । 

 

आम्दानीका लागि एडसेन्सको भर !

प्रोग्रामिजको आम्दानीको मुख्य स्रोत गुगल एडसेन्स नै हो । त्यसमा पनि विदेशी प्रयोगकर्ता बढी भएकाले गुगलले राम्रो विज्ञापन दिने गरेको छ । 

यसरी प्राप्त भएको आम्दानीमा उनीहरूले देशका विभिन्न ठाउँमा घुमफिर गरे । “२५/२६ वर्षको त्यो उमेरमा हामीले घुम्ने जति घुम्यौं,” अश्विन भन्छन्, “खर्च खासै थिएन । आम्दानी मात्र भइरहेको थियो । जसले गर्दा हामीलाई घुमफिरका लागि खर्चको अभाव नै थिएन ।”

यसरी उनीहरूले विज्ञापनमा आधारित प्रोग्रामिङ सिकाउने प्लेटफर्म विकास गरे । त्यही प्लेटफर्ममा प्रयोगकर्तालाई रचनात्मक तरिकाले अभ्यास गर्न सघाउने अर्को टुल आवश्यक थियो ।

पुनितले लकडाउनको समयमा घरमै कोडिङमार्फत अनलाइन कोड कम्पाइलर विकास गरे र प्रोग्रामिज डटकममा इन्टिग्रेट गरे । यो फिचर उपलब्ध गराएपछि प्रयोगकर्ताले फोन वा कम्प्युटरमै कोडिङ अभ्यास गर्न सकेको पुनित सुनाउँछन् । 

 

एपको आवश्यकता

प्रोग्रामिजका बारेमा बुझेका प्रयोगकर्ताले हरेक समय वेबसाइटमा गएर अध्ययन गर्न गाह्रो मान्न सक्छन् । त्यस्तै सबैसँग कम्प्युटर पनि उपलब्ध हुँदैन । 

यही समस्यालाई समाधान गर्न उक्त टिमले डेभलपरको सहयोगमा मोबाइल एप विकास गर्‍यो । लर्न पाइथन (Learn python) नामक उक्त एप एन्ड्रोइडमा अहिलेसम्म पाँच लाखभन्दा बढी डाउनलोड भइसकेको छ । त्यस्तै ‘लर्न सी प्रोग्रामिङ’ (Learn C programming), ‘लर्न सी प्लस प्लस’ (learn C++) र ‘लर्न जाभा’ (Learn Java) एपहरू पनि एक लाखभन्दा बढी पटक डाउनलोड भएका एप हुन् । 

 

रचनात्मक शैलीको सिकाइ 

कक्षा कोठामा प्रोग्रामिङ सिक्नुभन्दा प्रोग्रामिजमा सिकेको कुरा बढी प्रभावकारी हुने पुनितको दाबी छ । भन्छन्, “हामीले कोर्स कन्टेन्टको रूपमा अपलोड गर्ने मात्र गरेका छैनौं, सँगसँगै एप वा वेबमै कोडिङ गर्न सकिने पनि बनाएका छौं ।”

त्यस्तै हरेक कोर्स सिकेपछि सिस्टमले प्रयोगकर्तालाई क्विज र च्यालेन्ज जस्ता टेस्टमा सामेल गराउँछ । टेस्टका सहभागीले जुन गल्ती गरेका छन्, त्यसैमा बढी केन्द्रित गराइन्छ र त्यस्ता उनीहरूलाई नयाँ शैलीले सोही प्रोग्रामिङ सिकाइन्छ । 

 

विज्ञापनसँगै प्रोग्रामिजको सब्स्क्रिप्सन मोडलमा

अहिलेको बजारमा सब्स्क्रिप्सन मोडेल विज्ञापनभन्दा अगाडि छ । बजारमा आएको यो परिवर्तनसँगै विज्ञापनमा मात्र नअडिएर प्रोग्रामिज सब्स्क्रिप्सन मोडेलमा पनि अघि सरेको छ । जसको परिणाम स्वरूप ‘प्रोग्रामिज डट प्रो’ तयार भएको छ । 

त्यसले अडियन्सको राम्रो प्रतिक्रिया पाइरहेको पुनित सुनाउँछन् । उनका अनुसार प्रो मोडेल सामान्य मोडेलभन्दा विशेष छ । खासगरी यसले प्रोग्रामिङका लागि आवश्यक सबै ल्याङ्ग्वेज एउटै प्लेटफर्ममा उपलब्ध गराउँछ ।

यसमा प्रयोगकर्ताले बढी अभ्यास गर्न सक्छन् । विज्ञापनरहित यो प्रोडक्टका लागि मासिक १६ डलर र वार्षिक १२० अमेरिकी डलर सब्स्क्रिप्सन शुल्क तोकिएको छ । सुरुवाति चरणमा हरेक विषयका सात ओटा पाठ निःशुल्क पढ्न पाइन्छ । त्यसपछिका पाठ पढ्न वा सिक्नका लागि भने सब्स्क्रिप्सन लिनैपर्ने हुन्छ ।  

“सुरुमा परीक्षण नै गर्न नदिई सब्स्क्रिप्सन लिन लगाउनु गलत हो,” पुनित भन्छन्, “हामी पहिला परीक्षण गर्न दिन्छौं । अनि मन पर्‍यो भने सब्स्क्रिप्सन लिन लगाउँछौं ।”

प्रोग्रामिज डट प्रोमा अहिले ५० हजार बढी प्रयोगकर्ता ‘ट्रायल’को रूपमा आबद्ध भएका छन्  भने सब्स्क्रिप्सन लिनेको सङ्ख्या पाँच हजार नाघिसकेको छ । कम्पनीले प्रोडक्टको रूपमा यो मोडेल विभिन्न कलेजहरूमा समेत उपलब्ध गराउने योजना बनाएको छ । 
 

४० जनालाई प्रत्यक्ष रोजगारी

ललितपुरको झम्सिखेलमा रहेको यो कम्पनीले हाल ४० जनालाई प्रत्यक्ष रोजगार दिइरहेको छ । विशेषगरी प्रोग्रामिङ कोर्स तयार पार्ने, नयाँ नयाँ योजनामा काम गर्ने, ग्राहक सेवा थप स्तरीय बनाउन उनीहरू केन्द्रित छन् ।

काममा बढी भार नहोस् भन्ने मनसायले दुई दिन बिदा दिने गरिएको पुनितले सुनाए । उनी भन्छन्, “प्रोग्रामिङको काम निकै तनावपूर्ण काम हुन्छ । त्यसका लागि आरामको आवश्यकता पर्छ । त्यसैले हामीले दुई दिन बिदाको व्यवस्था गरेका छौं ।”

 

 

एआई इन्टिग्रेट गर्ने योजना

पछिल्लो समय विश्वभर एआईको लोकप्रियता बढेको छ । यो प्रविधिलाई कैयौं कम्पनीले आफ्नो उत्पादकत्व वृद्धिका लागि प्रयोग गरिरहेका छन् । त्यही आवश्यकता महसुस गर्दै प्रोग्रामिजले पनि आफ्नो प्लेटफर्ममा एआई इन्टिग्रेट गर्ने योजना बनाएको छ ।

एआईले विशेषतः प्रोग्रामिङ सिक्न आएका विद्यार्थीको कमजोरी पत्ता लगाउने र त्यसै अनुसार गाइडेन्स गर्ने पुनित सुनाउँछन् । “प्रोग्रामसम्बन्धी कुनै पनि कुरा सिक्नका लागि व्यक्ति हाम्रो प्लेटफर्मभन्दा बाहिर नजाओस् भन्ने चाहना छ,” उनी भन्छन्, “त्यही अनुसार नयाँ नयाँ प्रविधि प्रयोग गर्ने तयारीमा छौं ।”

 

नेपालबाटै विश्वबजारको लक्ष्य 

प्रोग्रामिजको सब्स्क्रिप्सन मोडेल नेपालमा पनि उपलब्ध छ । तर, सब्स्क्रिप्सन मोडेलमा जति आकर्षण विदेशमा छ, त्यति नेपालमा नभएको उनीहरूको अनुभव छ । प्रिमियम सेवा नेपालमै विस्तार गर्ने भन्दा पनि सुरुवाति समयमा बाहिर केन्द्रित गर्ने उनीहरूको योजना छ ।

त्यसपछि नेपालमा व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग गर्ने उनीहरूको सपना छ । उनीहरू विशेषगरी नेपालमै रहेर पनि एउटा कम्पनीले आफ्नो व्यवसायलाई विश्वभर विस्तार गर्न सकिन्छ भन्ने सन्देश दिन चाहन्छन् ।

 

शब्द- चित्रमा प्रोग्रामिज

कम्पनीको नामः परेवा ल्याब्स प्रालि

सेवा क्षेत्रः प्रोग्रामिङ, आईटी सीप विकास 

सुरुवाति लगानीः डेढ लाख रुपैयाँ 

मूल्याङ्कनः -

वार्षिक कारोबारः -

वार्षिक वृद्धिः ३० प्रतिशत

सह-संस्थापकः रञ्जित भट्ट, अश्विन श्रेष्ठ, पुनित जाजोदिया 

सीईओ: रञ्जित भट्ट

स्थापना: २०१४

ठेगाना: झम्सिखेल, ललितपुर 

ईमेल:[email protected]

फोन: -

संस्थागत ग्राहक सङ्ख्या: -

सेवाः वेब तथा मोबाइल एपमार्फत सी प्रोग्रामिङ, सी++, पाइथन र जाभा ल्याङ्ग्वेज प्रशिक्षण

ग्राहक कम्पनीः -

उत्पादन: लर्न पाइथन, लर्न सी++, लर्न जाभा, लर्न सी प्रोग्रामिङ

यूएसपीः विश्व बजारका विद्यार्थीलाई नेपालबाट प्रोग्रामिङ सिकाउने 

अवार्ड तथा सर्टिफिकेसनः - 

उद्देश्य तथा लक्ष्य: नेपालसहित अन्य विभिन्न देशमा कम्पनी स्थापना गर्ने, सिस्टममा एआई इन्टिग्रेट गर्ने, सीएसआर अन्तर्गत देशलाई सघाउने  

अबका योजनाः विभिन्न देशका क्याम्पस तथा स्कुललाई प्रोडक्टका रूपमा सिस्टमको लाइसेन्स बिक्री गर्ने, सिस्टममा एआई इन्टिग्रेट गर्ने, आवश्यक नयाँ कोर्स समावेश गर्ने 

कर्मचारी सङ्ख्याः ४०+ 

पछिल्लो अध्यावधिक: पुस २९, २०८० १५:२४