काठमाडौँ । गुगलको अब आउने नयाँ स्मार्टफोन पिक्सेल १० सिरिजको मूल्य लिक भएको छ । एन्ड्रोइड हेडलाइन्सबाट प्राप्त नयाँ जानकारी अनुसार बेस भेरियन्टको पिक्सेल १० मोडेलको सुरुवाती मूल्य यसअघिको मोडेलकै जत्तिकै रहने सङ्केत मिलेको हो ।
पिक्सेल १० का सबै मोडेलका तस्बिरहरू पहिले नै सार्वजनिक भइसकेका छन् । अहिले यी फोनहरूको अनुमानित मूल्य पनि बाहिर आएको हो । जस अनुसार १२८ जीबी स्टोरेज भएको पिक्सेल १० को सुरुवाती मूल्य ७९९ डलर रहेको छ, जुन यसको अघिल्लो मोडेलकै जस्तै हो । त्यस्तै २५६ जीबी मोडेलको मूल्य ८९९ डलर रहनेछ, यसमा पनि पुरानो मूल्यमा कुनै परिवर्तन भएको छैन ।
पिक्सेल १० प्रोको सुरुवाती (१२८ जीबी) मूल्य भने ९९९ डलर हुने बताइएको छ । जसको क्रमशः २५६ जीबीका लागि १,०९९ डलर, ५१२ जीबीको १,२१९ डलर, १ टीबीको १,४४९ डलर पर्नेछ ।
पिक्सेल १० प्रो एक्सएल मोडेलमा भने केही मूल्यवृद्धि हुन सक्छ, किनकि गुगलले यसको १२८ जीबी मोडेल हटाउने तयारी गरेको छ । यसको २५६ जीबी स्टोरेज मोडेलको मूल्य १,१९९ डलर हुन सक्ने देखिन्छ । यो मूल्य पिक्सेल ९ प्रो एक्सएलको २५६ जीबी मोडेलको मूल्य बराबर हो । यसको ५१२ जीबी भेरियन्ट १,३१९ डलरमा उपलब्ध हुनेछ ।
एन्ड्रोइड हेडलाइन्सका अनुसार पिक्सेल १० एक्सएलको १ टीबी भर्सनको मूल्य १,५४९ डलर रहने अनुमान गरिएको छ । त्यस्तै पिक्सेल १० प्रो फोल्डको २५६ जीबी स्टोरेजको लागि सुरुवाति मूल्य १,७९९ डलर हुने बताइएको छ ।
यसको ५१२ जीबी स्टोरेज मोडेलको मूल्य १,९१९ डलर रहनेछ भने १ टीबी स्टोरेजको लागि २,१४९ डलर पर्नसक्ने अनुमान छ ।
गुगलको नयाँ पिक्सेल सिरिजमा विभिन्न अपडेटहरू आउन सक्छन् । लिक अनुसार पिक्सेल सिरिजमा म्याग्नेटिक क्यूआई२ (Qi2) चार्जिङ, पिक्सेल १० प्रो फोल्डलाई डस्ट-प्रुफ बनाउने र बेस पिक्सेल १० मा तेस्रो क्यामेरा थप्ने आदि हुन सक्छ ।
गुगलले आउँदो २० अगस्टमा आफ्नो पिक्सेल सिरिज सार्वजनिक गर्दैछ । यसै कार्यक्रममा यी सबै मोडेलहरूको आधिकारिक घोषणा हुनेछ ।
पछिल्लो अध्यावधिक: साउन १६, २०८२ १४:२७
