close

चिनियाँ विद्युतीय भ्यान ‘क्यारी’ नेपाली बजारमा, सुरुवाती मूल्य ५८ लाख ५६ हजार ‍‍‍रुपैयाँ

टेकपाना टेकपाना

साउन २३, २०८२ १५:५१

चिनियाँ विद्युतीय भ्यान ‘क्यारी’ नेपाली बजारमा, सुरुवाती मूल्य ५८ लाख ५६ हजार ‍‍‍रुपैयाँ

काठमाडौँ । लक्ष्मी ग्रुपले चिनियाँ विद्युतीय सवारी ब्रान्ड ‘क्यारी’ नेपाली बजारमा औपचारिक रूपमा भित्र्याएको छ । ग्रुपअन्तर्गतको एलएक्सजी मोटर्स प्रालिले बुधबारदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको ‘नाइमा मोबिलिटी एक्सपो’ मा ‘केभान १’ र ‘केभान २’ नामक दुई विद्युतीय भ्यान सार्वजनिक गरेको हो ।

यी भ्यान व्यावसायिक र शैक्षिक दुवै क्षेत्रलाई लक्षित गरी ल्याएको कम्पनीले जनाएको छ । १५ सिट क्षमताको केभान १ को मूल्य ५८ लाख ५६ हजार रुपैयाँ र १६ सिट क्षमताको केभान २ को मूल्य ६३ लाख ६ हजार रुपैयाँ तोकिएको छ ।

कम्पनीका अनुसार व्यावसायिक प्रयोजनका लागि खैरो रङको ‘कमर्सियल भेरियन्ट’ र विद्यालयका लागि सुरक्षात्मक पहेँलो रङको ‘स्कुल भेरियन्ट’ उपलब्ध छ । स्कुल भेरियन्टमा बालबालिकाको सुरक्षाका लागि विशेष मापदण्ड र सुविधाहरू थपिएको कम्पनीले जनाएको छ ।

के छन् विशेषता ?

यी भ्यानमा ५३ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री जडान गरिएको छ । जसले एक पटकको फुल चार्जमा ३०० किलोमिटरभन्दा बढीको रेन्ज दिने कम्पनीको दाबी छ । यसमा रहेको पर्मानेन्ट म्याग्नेट सिंक्रोनस मोटर (पीएमएसएम) ले ८० किलोवाटसम्मको अधिकतम पावर र २७० एनएमको टर्क उत्पादन गर्छ ।

नेपाली सडकका लागि उपयुक्त हुनेगरी भ्यानमा १८० एमएमको ग्राउन्ड क्लिरियन्स दिइएको कम्पनीको भनाइ छ । सुरक्षाका लागि अगाडि डिस्क र पछाडि ड्रम ब्रेकका साथै एबीएस, ईबीडी र फायर एक्सटिन्गुइसर जस्ता फिचरहरू समावेश छन् ।

कार्यक्रममा एलएक्सजी मोटर्सका सेल्स एण्ड आफ्टर सेल्स सपोर्ट हेड सञ्जय खड्काले यी विद्युतीय भ्यानले दिगो यातायातमा योगदान पुर्‍याउने बताए ।

“यी गाडीहरूले परम्परागत इन्धनबाट चल्ने भ्यानको तुलनामा भरपर्दो, कम खर्चिलो र वातावरणमैत्री विकल्प प्रदान गर्नेछन्,” उनले भने, “चाहे व्यावसायिक काम होस् वा विद्यालयका लागि, यी गाडीले उत्कृष्ट प्रदर्शन गर्नेमा हामी विश्वस्त छौं ।”

कम्पनीले भ्यानबारे थप जानकारी लिन र अवलोकन गर्न नाइमा मोबिलिटी एक्सपोको हल ‘डी’ स्थित स्टल ‘डी-१२’ मा आउन आग्रह गरेको छ । एलएक्सजी मोटर्स नेपालको व्यावसायिक समूह लक्ष्मी ग्रुपअन्तर्गतको कम्पनी हो ।

पछिल्लो अध्यावधिक: साउन २३, २०८२ १६:१९