सहोदर बहिनी नभएका युट्युबर खान सरलाई १५ हजार छात्राले लगाइदिए राखी, रु. ९९ मै क्र्याश कोर्स
साउन २५, २०८२ १४:१४
काठमाडौँ । लोकप्रिय युट्युबर तथा शिक्षक खान सरले १५,००० भन्दा बढी महिला विद्यार्थीहरूसँग मनाएको रक्षाबन्धनका भिडिओ सामाजिक सञ्जालमा भाइरल भएका छन् । भारतीय सञ्चार माध्यमहरूले जनाए अनुसार यस समारोहमा खान सरले आफ्ना विद्यार्थीहरूसँगको अटुट सम्बन्ध र मानवताको महत्वलाई जोड दिएका छन् ।
पटनाको श्री कृष्ण मेमोरियल हलमा आयोजित यस विशेष कार्यक्रममा बिहारका विभिन्न जिल्ला र देशका अन्य राज्यहरूबाट हजारौँ छात्रा सहभागी रहेको टाइम्स अफ इन्डियाले जनाएको छ । शनिबार बिहान १० बजेदेखि दिउँसो १:३० बजेसम्म झन्डै ४ घण्टासम्म राखी बाँध्ने क्रम चलेको थियो ।
यस क्रममा खान सरको नाडीमा १५,००० भन्दा बढी राखिहरू बाँधिएका थिए । जसको तौल २० किलोसम्म पुगेको द इन्डियन एक्सप्रेसमा उल्लेख छ । राखिहरूको भार यति धेरै थियो कि खान सरले आफ्नो हात उठाउन पनि अरूको सहयोग लिनुपरेको थियो ।
मिन्टका अनुसार, एउटै भाइलाई यति धेरै राखि बाँधिएको सायद यो विश्वको कीर्तिमान हुन सक्छ ।खान सरले आफ्ना महिला विद्यार्थीहरूलाई बहिनीका रूपमा हेर्ने र उनीहरूको यो कार्यले पारिवारिक सम्बन्धभन्दा माथि उठेर एउटा बन्धनको प्रतीकको रूपमा काम गर्ने बताएका छन् ।
उनले भनेका छन्, “यी केटीहरूले जाति, धर्म, राज्य र अन्य कारकहरूलाई बेवास्ता गरेर मलाई राखी बाँधेका छन् । यसले मानवता देखाउँछ । रक्षाबन्धनभन्दा राम्रो चाड हुन सक्दैन । मानवताभन्दा ठुलो कुनै धर्म छैन ।” उनले भारतीय संस्कृतिको गौरव रक्षाबन्धन रहेको र यसलाई बचाई राख्नु सबैको जिम्मेवारी भएकोमा पनि जोड दिए ।
समारोहलाई अविस्मरणीय बनाउन खान सरले विद्यार्थीहरूका लागि भव्य भोजको व्यवस्था गरेका थिए । जसमा १५६ प्रकारका परिकारहरू समावेश थिए, जसमा ५०० पिस पिज्जा र २०,००० पिस पानी पुरी समेत थिए ।
खान सरले आफ्ना अनलाइन विद्यार्थीहरूलाई विशेष उपहारको रूपमा ९९ रुपैयाँमा क्र्याश कोर्स घोषणा गरेका छन् । यो कोर्समा रेलवे, बिहार पुलिस, बैँकिङ, बीपीएससी र अन्य परीक्षाहरूको तयारी सामग्री समावेश छन् । जसलाई उनले विद्यार्थीहरूको भविष्य सुधार्न सक्ने बहुमूल्य उपहारका रूपमा लिएका छन् ।
यस समारोहको भाइरल भिडिओले एक करोड १० लाखभन्दा बढी भ्युज प्राप्त गरेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले खान सरको यस कार्यको प्रशंसा गर्दै उनलाई 'धर्मभन्दा माथिका शिक्षक' र 'भारतलाई विश्वगुरु बनाउन सक्ने व्यक्ति' भनेर टिप्पणी गरेका छन् । खान सरकी आफ्नै सहोदर बहिनी नभएको बताइएको छ । आफ्ना कोचिङमा पढ्ने प्रत्येक छात्रालाई उनी आफ्नी बहिनी मान्छन् ।
खान ग्लोबल स्टडिजका संस्थापक समेत रहेका खान सर भारतभरका हरेक बालबालिकालाई न्यूनतम लागतमा उच्च गुणस्तरको शिक्षा प्रदान गर्ने लक्ष्य राख्छन् । रक्षा बन्धन कार्यक्रम सुरुमा उनको कोचिङ सेन्टरमा सानो स्तरमा हुने गरिएको भए पनि विश्वकै सबैभन्दा ठुलो रक्षाबन्धन उत्सवको रूपमा विकसित भएको थियो ।
पछिल्लो अध्यावधिक: साउन २५, २०८२ १४:१४
