close

एससीटी २५औं वर्षमा प्रवेश, नयाँ सेवा ‘स्मार्ट क्यूआर साउन्डबक्स’ र ‘एससीटी हब’ सार्वजनिक

टेकपाना टेकपाना

साउन ३०, २०८२ १०:२७

एससीटी २५औं वर्षमा प्रवेश, नयाँ सेवा ‘स्मार्ट क्यूआर साउन्डबक्स’ र ‘एससीटी हब’ सार्वजनिक

काठमाडौँ । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड २५औं वर्षमा प्रवेश गरेको छ । सन् २००१ मा स्थापना भएको कम्पनीले नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र लिई ​क्यूआर भुक्तानीदेखि बैंकिङ, कार्ड सेवा र अन्तर-बैंक भुक्तानीसम्मका प्लेटफर्म विकास गरेको छ ।

बिहीबार आयोजित वार्षिकोत्सव कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष र सदस्यहरूका साथै संस्थाका सदस्य बैंक तथा वित्तीय संस्थाका वरिष्ठ कर्मचारीहरूको उपस्थिति रहेको थियो । समारोहमा संस्थाका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरेले विगतमा संस्थाले हासिल गरेका उपलब्धिहरू र भविष्यका योजनाहरूबारे जानकारी गराए ।

उनले विशेषगरी संस्थाले प्रदान गर्दै आएका कार्ड सेवाहरू (एससीटी-युनियनपे कार्ड, भिसा कार्ड, नेपालपे कार्ड लगायत), मोबाइल बैंकिङ्ग सेवा (स्मार्ट बैङ्किङ), अन्तर बैंक भुक्तानी सेवा (स्मार्ट पे), क्युआर भुक्तानी सेवा (स्मार्ट क्यूआर) र मर्चेन्ट व्यवस्थापन सेवा (स्मार्ट एमएमएस) मा हालसम्मका प्रगतिहरू तथा भविष्यका रणनीति प्रस्तुत गरेका थिए । ​​

कार्यक्रममा संस्थाले हालै निर्माण गरेका दुई नवीनतम सेवा ‘स्मार्ट क्यूआर साउन्डबक्स’ र ‘एससीटी हब’ को प्रत्यक्ष प्रदर्शन गरिएको थियो । संस्थाका चिफ इनोभेसन एन्ड डेभलपमेन्ट अफिसर रजिम अलि मियाले यी सेवाका विशेषताबारे प्रकाश पारे ।

स्मार्ट क्यूआर साउन्डबक्स

​यो स्मार्ट च्वाईस टेक्नोलोजिजको नयाँ सेवा हो । जसको माध्यमबाट मर्चेन्टहरूले आफ्नो सम्पूर्ण भुक्तानीको विवरणहरू सुन्न सक्नेछन् । मर्चेन्टहरूले यसलाई आफ्नो वाईफाईसँग जोडेर वा साउन्डबक्समै सिम कार्ड राखेर नेटवर्कमा जोड्न सक्छन् । यसबाट भुक्तानी हुने बित्तिकै ग्राहकबाट आफ्नो खातामा जम्मा भएको रकमको जानकारी विभिन्न भाषामा साउन्डबक्समार्फत प्राप्त हुनेछ ।

एससीटी हब

यो स्मार्ट च्वाईस टेक्नोलोजिजले आफ्नो सदस्य बैंक तथा वित्तीय संस्थाहरूका लागि निर्माण गरेको अर्को अत्याधुनिक प्रविधि हो । एससीटी हबमार्फत बैंक तथा वित्तीय संस्थाहरूले एटीएम व्यवस्थापन, कार्ड व्यवस्थापन, विवाद व्यवस्थापन, अलर्ट व्यवस्थापन, प्रयोगकर्ता व्यवस्थापन, रिपोर्ट जेनेरेसन लगायतका विभिन्न सेवा एकै स्थानबाट सहजै प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: साउन ३०, २०८२ १०:४०