काठमाडौँ । भाटभटेनी सुपर स्टोरसहितका धेरै व्यापारिक क्षेत्रमा प्रयोग हुने नेपाली आईटी कम्पनी आईएमएस सफ्टवेयरका उत्पादन अब बेलायती बजारमा समेत विस्तार हुने भएको छ । आईएमएस पस (IMS POS) सफ्टवेयर, आईएमएस रेस्टुरेन्ट सफ्टवेयर, आईएमएस डिस्ट्रिब्युसन म्यानेजमेन्ट, आईएमएस पेट्रोल पम्प म्यानेजमेन्ट, आईएमएस पार्किङ म्यानेजमेन्ट लगायतका विभिन्न सफ्टवेयर उत्पादन अब बेलायतमा उपलब्ध हुने भएका हुन् ।
त्यसका लागि आईएमएस सफ्टवेयर र जेनेस सोलुसनबिच रणनीतिक साझेदारी पत्रमा हस्ताक्षर भएको छ । आईएमएसले निर्माण गरेका सफ्टवेयर बेलायती बजारमा विस्तार गर्ने जिम्मा जेनेसले लिएको छ ।
सहकार्यमार्फत दुवै कम्पनीले सफ्टवेयर विकास, आईटी समाधान तथा क्लाउड प्रविधिमा आफ्ना अनुभव र सीपलाई एकीकृत गरी बेलायतमा सञ्चालित व्यवसायलाई सफ्टवेयर उपलब्ध गराउने बताइएको छ । साझेदारीले नेपाली सफ्टवेयर उत्पादन नयाँ बजारमा विस्तार गर्दै व्यवसायलाई प्रतिस्पर्धी तथा सफल बनाउन आवश्यक उपकरण र सहयोग उपलब्ध गराउने लक्ष्य लिएको आईएमएसले जनाएको छ ।
सम्झौता-पत्रमा आईएमएस सफ्टवेयरका प्रबन्ध निर्देशक सन्तोष ताम्राकार र जेनेस सोलुसनका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँल हस्ताक्षर गरेका छन् । आईएमएस सफ्टवेयर खुद्रा व्यापार, रेस्टुरेन्ट, व्यापारिक फर्म तथा सेवा क्षेत्रको व्यवसाय व्यवस्थापनका लागि विभिन्न सोलुसन्स निर्माण गर्ने नेपाली सफ्टवेयर कम्पनी हो । दुई दशकभन्दा बढीको अनुभवसहित आईएमएसले व्यवसाय सञ्चालनलाई सरल बनाउने, कार्यक्षमता बढाउने र व्यावसायिक गतिविधि बढाउन प्रोत्साहन गर्ने सफ्टवेयर निर्माण गरिरहेको छ ।
जेनेज सोलुसन बेलायतमा आधारित सूचना प्रविधि क्षेत्रमा काम गर्ने कम्पनी हो । यसले क्लाउड सेवा, इन्टरप्राइज टेक्नोलोजी परामर्श र सफ्टवेयर प्रयोगसहितका विभिन्न आइटी सोलुसन्स प्रदान गर्छ ।
पछिल्लो अध्यावधिक: साउन ३०, २०८२ १२:५०
