अवैध क्रिप्टो धन्दा गर्ने २ भारतीय सहित ४ जना पक्राउ, देखियो ६ करोड रुपैयाँ बढीको कारोबार
साउन ३०, २०८२ १२:५७
काठमाडौँ । नेपालमा अवैध मानिने क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा दुई भारतीय नागरिकसहित चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले बिहीबार काठमाडौँ महानगरपालिका-५, कालो पुलस्थित एक डेरा कोठाबाट उनीहरूलाई पक्राउ गरेको हो ।
गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले खानतलासी गर्दा उनीहरूको साथबाट १५ लाख ३३ हजार रुपैयाँ नगद र छ ओटा मोबाइल फोन बरामद गरेको कार्यालयले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान गर्दा उनीहरूले छ करोड छ लाख ६३ हजार ६८७ रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी कारोबार गरेको समेत खुलेको छ ।
पक्राउ पर्नेमा बारा महागढीमाई नगरपालिका-३ का २७ वर्षीय ओम प्रकाश जयसवाल, सोही नगरपालिका-५ का २५ वर्षीय मनमोहन कुमार सिंह, भारतको बिहार प्रदेश जिल्ला सितामढीका ३३ वर्षीय विक्रम जयसवाल र जिल्ला मोतिहारीका ३३ वर्षीय मुन्ना जयसवाल रहेका छन् ।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
पछिल्लो अध्यावधिक: साउन ३०, २०८२ १३:१०
