रुसी ह्याकरले गरे नर्वेको बाँधमा साइबर आक्रमण, ७२ लाख बढी लिटर पानी बगेको खुलासा
साउन ३१, २०८२ २२:२६
सांकेतिक तस्बिर
काठमाडौँ । रुसी समर्थक ह्याकरहरूले नर्वेको एउटा बाँधको महत्त्वपूर्ण सञ्चालन प्रणालीमा नियन्त्रण लिएर पानी बाहिर निकाल्ने भल्भ खोलेको खुलासा भएको छ । नर्वेको प्रहरी सुरक्षा सेवा (पीएसटी) का अनुसार यो आक्रमण गत अप्रिल महिनामा भएको हो ।
पीएसटी प्रमुख बियाटे गाङ्गोसले ‘अरेन्डाल्सुका’ (Arendalsuka) नामक वार्षिक राष्ट्रिय फोरममा यसबारे जानकारी दिँदै यसलाई क्षति पुर्याउनेभन्दा बढी ह्याकरहरूको क्षमता देखाउने प्रयासको रूपमा लिइएको बताएकी छिन् । उनले भनेकी छिन्, “उनीहरूको उद्देश्य नष्ट गर्नु होइन । आफूले के गर्न सक्छन् भन्ने देखाउनु हो ।”
स्थानीय सञ्चारमाध्यमका अनुसार ह्याकरहरूले ब्रेमाङ्गर बाँधको पानी प्रवाह नियन्त्रण गर्ने डिजिटल प्रणालीमा घुसपैठ गरी भल्भ खोल्ने अवस्थामा सेट गरेका थिए । बाँध सञ्चालकहरूले चार घण्टापछि मात्र उक्त दुष्प्रयोग पत्ता लगाई उल्टाउन सकेका थिए । त्यतिबेलासम्म ७२ लाख लिटरभन्दा बढी पानी बाहिर निस्किसकेको बताइएको छ ।
नर्वेको राष्ट्रिय अपराध अनुसन्धान सेवा (क्रिपोस) ले पनि यो आक्रमण पुष्टि गरेको छ । रुसी ह्याक्टिभिस्टहरूले टेलिग्राममा तीन मिनेट लामो भिडिओ राख्दै आक्रमणको प्रमाण प्रस्तुत गरेका थिए । उक्त भिडिओमा बाँधको नियन्त्रण प्यानल देखिन्थ्यो, जसमा रुसी समर्थक साइबर आपराधिक समूहसँग सम्बन्धित वाटरमार्क थियो ।
पीएसटी प्रमुख गाङ्गोसका अनुसार यस्ता गतिविधिको उद्देश्य प्रभाव जमाउने र जनसंख्यामाझ डर वा अस्थिरता सिर्जना गर्नेु हो । उनले रुस अहिले अझ खतरनाक बन्दै गएको चेतावनी दिइन् ।
यसअघि पनि नर्वे विरुद्ध रूसको संलग्नता देखिएको थियो । त्यसबेला नर्वेको राज्य सेवामाथि ‘डीडीओएस’ (DDoS) आक्रमण भएको थियो । नर्वेका गुप्तचर प्रमुख निल्स आन्द्रेयास स्टेन्सोनेसले नर्वे युद्धरत नभए पनि राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिम विरुद्ध हाइब्रिड आक्रमणमार्फत निरन्तर तनाव कायम गरिरहेको बताएका छन् । उनका अनुसार रूस हाल नर्वेले सामना गर्नुपर्ने सबैभन्दा ठुलो खतरा बनेको छ ।
पछिल्लो अध्यावधिक: भदौ १, २०८२ ८:४३
