तस्बिर- एन्ड्रोइड अथोरिटी
काठमाडौँ । एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि एउटा खुसीको खबर छ । गुगलले एन्ड्रोइड ब्याकअप प्रणालीमा ठुलो सुधार गर्दै डाउनलोड गरिएका फाइलहरूलाई पनि स्वतः ब्याकअप गर्ने सुविधा थप्ने तयारी गरिरहेको छ । हालसम्म एन्ड्रोइड ब्याकअपले फोटो, भिडिओ, डिभाइस सेटिङ्स र एप डेटालाई मात्र समेट्दै आएको थियो । तर क्रोमजस्ता ब्राउजरबाट डाउनलोड गरिएका फाइलहरू यसमा पर्दैनथे ।
टेक वेबसाइटहरूले गुगल प्ले सर्भिसको बेटा संस्करण २५.३२.३१ मा गरेको एपीके टियरडाउन (कोड विश्लेषण) बाट यो नयाँ सुविधाको संकेत पाएका हुन् । यस विश्लेषणले देखाएअनुसार गुगलले अब डाउनलोड गरिएका फाइलहरू सुरक्षित राख्नका लागि स्पष्ट विकल्प उपलब्ध गराउनेछ ।
हालको गुगल ब्याकअप प्रणालीमा मुख्यतया दुई विकल्प छन् : फोटो एन्ड भिडिओ (photos & videos) र अन्य डिभाइस डेटा (other device data) । फोटो र भिडिओहरू गुगल फोटोजमार्फत ब्याकअप हुन्छन् । अन्य डिभाइस डेटामा भने डिभाइस सेटिङ्स, टेक्स्ट मेसेज हिस्ट्री र विभिन्न एपका डेटा समावेश हुन्छन् ।
तर, क्रोमजस्ता एपहरूबाट डाउनलोड गरिएका फाइलहरू जस्तै; डकुमेन्ट, पीडीएफ, अडियो, भिडिओ आदि यसमा समेटिँदैनन् । प्रयोगकर्ताले यस्ता फाइलहरू म्यानुअल रूपमा गुगल ड्राइभमा अपलोड गर्नुपर्थ्यो ।

नयाँ परिवर्तनले यो खाडल पुर्ने अपेक्षा गरिएको छ । जसरी तस्बिर र भिडिओका लागि गुगल फोटोज प्रयोग गरिन्छ, त्यसैगरी डाउनलोड गरिएका फाइलहरूको स्टोरेजका लागि गुगल ड्राइभ प्रयोग गरिने सम्भावना छ । यसले प्रयोगकर्तालाई आफ्नो महत्त्वपूर्ण डाउनलोडहरू स्वचालित रूपमा सुरक्षित राख्न मद्दत गर्नेछ ।
पछिल्लो अध्यावधिक: भदौ २, २०८२ ७:४६
