इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने सरकारी निर्णयको विरुद्ध बर्दियाबाट सुरु भयो विरोध प्रदर्शन
भदौ ९, २०८२ १३:६
तस्बिरः ज्योति पन्थी
काठमाडौँ । सरकारले सवारी व्यवस्थालाई आधुनिक र डिजिटल बनाउन भन्दै लागु गरेको इम्बोस्ड नम्बर प्लेटको विरोधमा बर्दियाका युवाले प्रदर्शन गरेका छन् । आइतबार जिल्ला सदरमुकाम गुलरियामा सरकारको उक्त निर्णयविरुद्ध उनीहरूले सडकमा उत्रिएर विरोध जनाएका हुन् ।
प्रदर्शनमा सहभागी युवाले सरकारले जनतामाथि अनावश्यक कर थोपर्नका लागि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको आरोप लगाएका छन् । नम्बर प्लेट पढ्ने मसिन (रिडर) जस्ता आवश्यक पूर्वाधार तयार नभएको अवस्थामा जबरजस्ती यो प्रणाली लागु गर्नु जायज नभएको उनीहरूको भनाइ छ ।
“पूर्वाधार नै नभएको अवस्थामा कर मात्रै उठाउने नियतले ल्याइएको यो नीति अव्यावहारिक छ, यसलाई तुरुन्त खारेज गरियोस्,” प्रदर्शनमा सहभागी गुलरिया नगरपालिका वडा नम्बर ४ संगम टोलका प्रवेश पौडेल भने ।
सरकारले १ असोजदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेपछि देशका विभिन्न स्थानमा यसको विरोध भइरहेको छ । यही क्रममा बर्दियाका युवाले पनि स्वःस्फूर्त रूपमा भेला भएर सरकारको निर्णयविरुद्ध नाराबाजी गरेका हुन् ।
उनीहरूले यो प्रदर्शनलाई पहिलो चरणको आन्दोलन भन्दै माग पुरा नभए थप सङ्घर्षका कार्यक्रम अघि बढाउने चेतावनी समेत दिएका छन् । आइतबार मात्रै राजधानीमा पनि ‘जाग नेपाली’ नामक अभियानले इम्बोस्ड नम्बर प्लेट अनिवार्य गराउने सरकारी निर्णय विरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
पछिल्लो अध्यावधिक: भदौ ९, २०८२ १५:२०
