close

६ दिनमै १८७ ओटा ‘जिली ईएक्स फाइभ’ ईभी बुक, ५० वर्ष टिक्ने बुलेट-प्रुफ ब्याट्री भएको दाबी

टेकपाना टेकपाना

भदौ ९, २०८२ १५:१

६ दिनमै १८७ ओटा ‘जिली ईएक्स फाइभ’ ईभी बुक, ५० वर्ष टिक्ने बुलेट-प्रुफ ब्याट्री भएको दाबी

काठमाडौँ । विद्युतीय सवारीप्रति नेपाली उपभोक्ताको आकर्षण बढ्दै गएको पछिल्लो उदाहरण नाडा अटो शो २०२५ बनेको छ । आइतबार सम्पन्न शोमा चिनियाँ ईभी ब्रान्ड जिलीको ‘ईएक्स ५’ (Geely EX5) मोडेलले १८७ थान बुकिङ प्राप्त गरेको छ ।

नेपालका लागि जिलीको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले यसलाई नेपाली बजारमा आफ्नो उत्साहजनक सुरुवातको रूपमा लिएको छ ।

नाडा अवधिभर जिलीको स्टलमा प्रो र म्याक्स गरी दुई भेरियन्टमा उपलब्ध ईएक्स ५ हेर्न अवलोकनकर्ताको बाक्लो उपस्थिति रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार गाडीको अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र उच्च रेन्जका कारण ग्राहकहरू आकर्षित भएका हुन् ।

एलआरआर मोटर्सका बिक्री तथा सञ्चालन प्रमुख अधिर श्रेष्ठले छोटो समयमै प्राप्त यो सफलताले जिलीको इनोभेसन माथिको विश्वास र नेपालमा दिगो यातायातको बढ्दो मागलाई प्रमाणित गरेको बताए ।

“यो सफलताले हामीलाई नेपाली बजारमा विश्वस्तरीय ईभी उपलब्ध गराउने हाम्रो प्रतिबद्धतामा थप ऊर्जा प्रदान गरेको छ,” उनले भने ।

जिली ईएक्स ५ मा प्रयोग गरिएको ब्याट्रीलाई यसको मुख्य विशेषता मानिएको छ । उत्पादक जिली होल्डिङ ग्रुप आफैंले बनाएको यो ब्याट्री विश्वकै पहिलो वाटर, फायर र बुलेट प्रुफ प्रमाणित भएको कम्पनीको दाबी छ । यसले आठ ओटा निडल परीक्षण सफलतापूर्वक पार गरेको बताइएको छ ।

कम्पनीका अनुसार यो ब्याट्रीको आयु ३५०० चार्ज रिसाइकल (लगभग १० लाख किलोमिटर वा ५० वर्ष) बराबर छ, जुन हाल उपलब्ध अन्य ब्याट्रीभन्दा निकै बढी हो । एलआरआर मोटर्सले ब्याट्रीमा आठ वर्ष वा दुई लाख किलोमिटरसम्मको वारेन्टी दिएको छ ।

मूल्य र अन्य विशेषता

नेपाली बजारमा ईएक्स ५ प्रो को मूल्य ५८ लाख र ईएक्स ५ म्याक्सको मूल्य ६८ लाख रुपैयाँ तोकिएको छ । यद्यपि, नाडा अटो शोलाई लक्षित गरी कम्पनीले प्रो भेरियन्टमा ५४ लाख ९९ हजार र म्याक्समा ६४ लाख ९९ हजारको विशेष छुट मूल्य तोकेको थियो ।

दुवै भेरियन्टमा १६० किलोवाटको इलेक्ट्रिक मोटर र ६०.२२ किलोवाट आवरको लिथियम आयोन फोस्फेट ब्याट्री जडान गरिएको छ । प्रो भेरियन्टले एक पटकको फुल चार्जमा ४३० किलोमिटर र म्याक्सले ४२५ किलोमिटरको डब्ल्यूएलटीपी रेन्ज दिने कम्पनीले जनाएको छ ।

गाडीको भित्री भागमा १५.४ इन्चको टचस्क्रिन, १०.२ इन्चको डिजिटल क्लस्टर, वायरलेस चार्जिङ र प्यानोरामिक सनरुफ जस्ता विशेषता छन् । सुरक्षाका लागि ६ ओटा एयरब्याग, एबीएस, ब्लाइन्ड स्पट मोनिटरिङ जस्ता फिचरहरू पनि उपलब्ध छन् ।

कम्पनीले नाडामा बुक भएका गाडीहरूको डेलिभरी सुरु गरिसकेको जनाएको छ । यो सफलताले वातावरणमैत्री यातायात प्रवर्द्धन गर्ने कम्पनीको लक्ष्यलाई थप बल पुगेको विश्वास लिइएको छ ।

पछिल्लो अध्यावधिक: भदौ ९, २०८२ १५:१९