close

ओप्पोले नेपालमा ल्यायो आफ्नो सबैभन्दा महँगो फोल्डेबल फोन, मूल्य २ लाख ५० हजार

टेकपाना टेकपाना

भदौ ९, २०८२ १९:५५

ओप्पोले नेपालमा ल्यायो आफ्नो सबैभन्दा महँगो फोल्डेबल फोन, मूल्य २ लाख ५० हजार

काठमाडौँ । चिनियाँ स्मार्टफोन निर्माता ओप्पोले नेपाली बजारमा आफ्नो नयाँ फ्ल्यागशिप फोल्डेबल स्मार्टफोन ‘फाइन्ड एन५’ सार्वजनिक गरेको छ । प्रिमियम श्रेणीको यो फोनको मूल्य दुई लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

कम्पनीका अनुसार, यो फोन ८.९३ एमएम पातलो र २२९ ग्राम तौलको छ, जसलाई विश्वकै सबैभन्दा हल्का फोल्डेबल फोनमध्ये एक भएको दाबी गरिएको छ । यसमा आईपीएक्स९ वाटर रेसिस्टेन्स फिचर रहेको छ । जसले यसलाई पानीबाट उच्च स्तरको सुरक्षा प्रदान गर्छ । बलियो र टिकाउ बनाउन फोनको हिंजमा टाइटेनियम फ्लेक्सन प्रयोग गरिएको छ ।

यो फोनको मुख्य विशेषताको रूपमा ह्यासलब्लाडसँगको सहकार्यमा विकास गरिएको ‘मास्टर क्यामेरा सिस्टम’ लाई प्रस्तुत गरिएको छ । जसमा वाइड, अल्ट्रा–वाइड, जुम र पेरिस्कोप लेन्स समावेश छन् । यसले व्यावसायिक स्तरको फोटोग्राफी र फोरके (4K) क्वालिटीमा सिनेम्याटिक भिडिओ खिच्न सक्ने कम्पनीले जनाएको छ ।

फाइन्ड एन५ मा ८.१२ इन्चको भित्री डिस्प्ले र ६.६२ इन्चको बाहिरी (कभर) डिस्प्ले छ । दुवै डिस्प्लेमा १२० हर्जको एडप्टिभ रिफ्रेस रेट छ । यसको डिस्प्लेले ‘टीयूभी राइनल्याण्ड’ बाट फोल्ड हुँदा देखिने धर्सालाई न्यूनीकरण गरेको प्रमाणीकरण पनि पाएको छ ।

यो स्मार्टफोन स्न्यापड्रागन ८ एलिट मोबाइल प्लेटफर्ममा आधारित छ । त्यस्तै ५६०० एमएएच क्षमताको सिलिकन–कार्बन ब्याट्री जडान गरिएको छ, जुन फोल्डेबल फोनको श्रेणीमा हालसम्मकै सबैभन्दा लामो समय टिक्ने दाबी गरिएको छ । फोनले ८० वाटको वायर्ड र ५० वाटको वायरलेस चार्जिङलाई सपोर्ट गर्दछ ।

कलरओएस १५ मा आधारित फोनमा एआईमा आधारित विभिन्न स्मार्ट फिचरहरू पनि समावेश छन् । जसमा कल समरी (कुराकानीको सारांश निकाल्ने), डुअल–स्क्रिन इन्टरप्रेटर (दुईतर्फी अनुवाद गर्ने) तथा फोटोबाट अनावश्यक वस्तु हटाउने जस्ता सुविधा छन् । साथै, यसले म्याक तथा आईओएस डिभाइसहरूसँग पनि सहजै कनेक्टिभिटी प्रदान गर्ने पनि ओप्पोको विज्ञप्तिमा उल्लेख छ ।

नेपालमा यो फोन १६ जीबी र्‍याम र ५१२ जीबी स्टोरेजको एकमात्र भेरियन्टमा उपलब्ध छ । कम्पनीले शून्य प्रतिशत ब्याजदरको मासिक किस्ताबन्दीमा पनि फोन उपलब्ध गराएको छ । यसका लागि ग्राहकले ४० प्रतिशत रकम सुरुमा भुक्तानी (डाउनपेमेन्ट) गरेर बाँकी रकम १२ महिनाभित्र तिर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: भदौ ९, २०८२ १९:५५