close

रास्वपा नेता अरनिको पाँडेलाई २० हजार धरौटीमा रिहा गर्न अदालतको आदेश

टेकपाना टेकपाना

भदौ १३, २०८२ १६:४३

रास्वपा नेता अरनिको पाँडेलाई २० हजार धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौँ । साइबर अपराधको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं राष्ट्रिय योजना आयोगका पूर्वसदस्य अरनिको पाँडेलाई जिल्ला अदालत काठमाडौँले २० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । शुक्रबार न्यायाधीश ध्रुवराज कार्कीको इजलासले थुनछेक बहसपछि पाँडेलाई धरौटीमा छाड्न आदेश जारी गरेको हो ।

पाँडेलाई एक महिलालाई अश्लील, अपमानजनक तथा मानसिक यातना दिने खालका सन्देशहरू ईमेल र ह्वाट्सएपमार्फत पठाएको आरोप लागेको छ । जाहेरी अनुसार, ती महिलाले आफ्नो छोरालाई विज्ञान विषय अध्ययनका लागि सुझाव लिन पाँडेसँग सम्पर्क गरेकी थिइन् । यसै क्रममा पाँडेले उनलाई विभिन्न अश्लील सन्देशहरू पठाई मानसिक यातना दिएको, अपमान गरेको र दुःख हैरानी पुर्‍याएको आरोप छ ।

प्रहरीसमक्ष दिएको बयानमा पाँडेले जाहेरवालाले आफूप्रति एकतर्फी आशक्ति राख्न खोजेको महसुस गरेको र दाँतको अप्रेसनपछि पेनकिलर सेवन गरिरहेको अवस्थामा जाहेरवालाले बेलायतबाट ह्वाट्सएपमा अडियो कल गरी भेट्न अनुरोध गर्दा श्रीमती घरमा नभएको बुझेर मात्र भेट्न बोलाउने व्यवहार मन नपरेपछि अश्लील शब्द प्रयोग गरी ह्वाट्सएप मेसेज पठाएको स्वीकार गरेका छन् ।

उनले आफ्नो ईमेल अरू कसैले प्रयोग नगर्ने र पेनकिलर खाएकाले सम्झन नसके पनि उल्लेखित ईमेल आफूले नै पठाएको हुनुपर्ने बताएका छन् ।

पाँडे बुधबार पक्राउ परेका थिए भने बिहीबार जिल्ला अदालत काठमाडौँले उनीविरुद्ध अनुसन्धान गर्नका लागि चार दिनको म्याद थप गरेको थियो । काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले तयार पारेको अभियोगपत्र शुक्रबार नै अदालतमा दर्ता गरिएको थियो ।

अभियोग पत्रमा पाँडेलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ (१) बमोजिम कसुर गरेको ठहर गर्दै सोही दफाअनुसार एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय माग गरिएको छ । साथै, बरामद मोबाइल लगायतका भौतिक प्रमाण जफत गर्न र पीडितलाई मनासिब क्षतिपूर्ति भराउन तथा पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क भराउन पनि माग गरिएको छ ।

वातावरणविद् पाँडे ०७९ साल भदौमा रास्वपा प्रवेश गरेका थिए र रास्वपा सरकारमा रहेको बेलामा ०८० सालमा राष्ट्रिय योजना आयोगको सदस्य समेत बनेका थिए ।


 

पछिल्लो अध्यावधिक: भदौ १३, २०८२ १६:५३