काठमाडौँ । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक खरिद गरेको समाचार भ्रामक रहेको र त्यसले पाठकलाई दिग्भ्रमित पारेको बताएको छ । मङ्गलबार ईमेल मार्फत टेकपानामा प्रकाशित समाचारलाई लिएर कम्पनीले खण्डन गरेको हो ।
"उपरोक्त सम्बन्धमा भदौ १६ गते ‘टेकपाना एक्सप्लेनरः सेवा सुरु नहुँदै बजार तताएको नयाँ इन्टरनेट कम्पनी एननेट’ भन्ने शीर्षकमा प्रकाशित समाचार प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ," कम्पनीले आफ्नो खण्डनमा भनेको छ, "यो समाचार भ्रामक रहेको र यसले पाठकहरूलाई दिग्भ्रमित पारेको स्पष्ट पार्न चाहन्छौँ ।"
"टेकपाना जस्तो प्रविधि क्षेत्रमा पत्रकारिता गर्दै आएको मिडियाले आफ्नै अन्दाज र अडकलका आधारमा यस कम्पनीले नै समाचारमा उल्लेख भएको एक इन्टरनेट सेवा प्रदायक कम्पनी किनेको ठोकुवा गर्ने हिसाबले आधारहीन, भ्रामक र असन्तुलित समाचार प्रकाशित हुनु दुखद घटना हो र यसको हामी खण्डन गर्दछौँ," कम्पनीले अगाडि भनेको छ ।
कम्पनीले आफ्ना सञ्चालक समिति अध्यक्ष सतिशलाल आचार्यको व्यक्तिगत कुरालाई समेत बिना कुनै पुष्टि र स्रोत समाचारमा उल्लेख भएका दुई इन्टरनेट सेवा प्रदायकसँग जोडेर समाचारमार्फत भ्रम सिर्जना गरिएको दाबी गर्दै सो कार्य पत्रकारिताको मर्म विपरीतको कदम भएको बताएको छ । कम्पनीले विज्ञप्तिमा भनेको छ, "यसले कम्पनी तथा यस कम्पनीका अध्यक्षको प्रतिष्ठामा समेत आँच पुर्याउने भएकाले यस्ता तथ्यहीन समाचारहरू प्रकाशित नगर्न अनुरोध गर्न चाहन्छौँ ।"
खण्डनमा टेकपानाको भनाईः
एनसेलको तर्फबाट कर्पोरेट कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखालक्ष्मी खड्काले समाचारको खण्डन गरे पनि टेकपानाको समाचारमा भने क्लासिक टेक एनसेलले नै खरिद गरेको वा एननेट एनसेल तथा कम्पनीका सञ्चालक सतिशलाल आचार्यकै भएको उल्लेख छैन । टेकपानाले प्राप्त तथ्यहरूलाई समेटेर सो एक्सप्लेनर प्रकाशित गरेको थियो ।
-सम्पादक
पछिल्लो अध्यावधिक: भदौ १७, २०८२ २२:५
