close

जेन-जी प्रदर्शनमा भएको क्रुर दमनप्रति संयुक्त राष्ट्रसंघीय मानव अधिकार आयोग स्तब्ध

टेकपाना टेकपाना

भदौ २३, २०८२ १:४५

जेन-जी प्रदर्शनमा भएको क्रुर दमनप्रति संयुक्त राष्ट्रसंघीय मानव अधिकार आयोग स्तब्ध

काठमाडौँ । नेपालमा जेन-जी पुस्ताले गरेको प्रदर्शनका क्रममा प्रहरीबाट भएको बल प्रयोग र प्रदर्शनकारीहरूको मृत्युप्रति संयुक्त राष्ट्रसंघीय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण व्यक्त गरेको छ ।

आयोगकी प्रवक्ता रविना समदासानीले एक भिडिओ पोस्टमार्फत नेपालबाट धेरै चिन्ताजनक विवरणहरु प्राप्त भएको उल्लेख गर्दै युवाहरूको प्रदर्शनमा बल प्रयोग भएर ज्यान लिने घटनाबाट आफूहरू दुःखी र स्तब्ध भएको बताएकी छन् ।

“हामी अधिकारीहरूलाई शान्तिपूर्ण भेला हुने स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई सम्मान गर्न र सुनिश्चित गर्न आह्वान गर्दछौं,” उनले भनेकी छन्, “सबै सुरक्षा बलहरूले कानून प्रवर्तन अधिकारीहरूद्वारा बल र बन्दुकको प्रयोगसम्बन्धी आधारभूत सिद्धान्तहरूको पालना गर्नुपर्छ ।” 

नेपालमा जीवन्त लोकतन्त्र र सक्रिय नागरिक समाजको उपभोग रहेको भन्दै उनले युवाहरूको चिन्ता सम्बोधन गर्न संवाद नै उत्तम माध्यम भएको उल्लेख गरिन् ।

आयोगले सामाजिक सञ्जाल नियमन गर्ने उपायहरूलाई नेपालको मानव अधिकार दायित्वहरूसँग पालना गर्ने सुनिश्चितताका लागि पुनर्विचार गर्न पनि आग्रह गरेको छ ।


 

पछिल्लो अध्यावधिक: भदौ २३, २०८२ १:४५