काठमाडौँ । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, बढ्दो भ्रष्टाचार र राजनीतिज्ञका सन्तानको विलासी जीवनशैलीको विरोधमा सोमबारदेखि सडकमा उत्रिएको जेन-जी (युवा पुस्ता) ले प्रदर्शनका क्रममा भएको तोडफोड र क्षतिको सरसफाइ गर्न आह्वान गरेको छ । बुधबारदेखि सामाजिक सञ्जालमार्फत युवाहरूले एकअर्कालाई आह्वान गर्दै देशका विभिन्न स्थानमा सरसफाइ अभियान थालेका हुन् ।
बुधबारदेखि जेन-जीसँग सम्बन्धित फेसबुक पेज र ग्रुपहरूमा सरसफाइका लागि आह्वान गर्दै पोस्टहरू सार्वजनिक हुन थालेका छन् । केही युवाहरूले भने सरसफाइ सुरु गरिसकेको भिडियोसमेत पोस्ट गर्न थालेका छन् ।
जेन-जी नेपाल नामक फेसबुक पेजमा “भोलि बिहान बानेश्वर चोकमा साढे सात बजे भेटौं है, काठमाडौं सफा गर्न थालौं” भन्दै आह्वान गरिएको छ । त्यस्तै, एक प्रयोगकर्ताले जेन-जी नेपाल ग्रुपमा लेखेका छन्, “आफूसँग जे छ त्यही बोकेर बानेश्वरमा सफा गर्न आऔं साथीहरू ।”
एक प्रदर्शनकारीले सामाजिक सञ्जालमा क्षमायाचनासहित युवालाई सरसफाइमा जुट्न आग्रह गर्दै लेखेका छन्, “हिजो अस्ति जे जस्तो भयो भयो । अब हामी युवाहरूले आफ्नो देश र भविष्यको बारेमा सोच्नुपर्ने समय आएको छ । जानेर र अनजानेर गरेको गल्तीलाई स्वीकार गर्दै हामी युवाले नै सरसफाइ गर्नुपर्छ भन्ने हाम्रो अभियान छ । देशको सम्पत्ति भनेको हाम्रै सम्पत्ति हो ।”
उनले शान्तिपूर्वक आन्दोलन गर्ने भनिए पनि घटनाले उग्र रूप लिएकोमा दुःख व्यक्त गरेका छन्। त्यस्तै अर्को एक पेजमा “प्रिय जेन-जीहरू आजदेखि सरसफाई र पुनर्निमाणमा लागौं । जल्न पर्ने-नपर्ने जलिसक्यो । अब रोकिनुस्,” भन्दै संयमित हुन आग्रह गरिएको छ ।
सोमबारदेखि देशव्यापी रूपमा भएको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति भएको थियो। प्रदर्शनकारीले देशका प्रमुख प्रशासनिक अङ्गहरूमा तोडफोड र आगजनी गरेका थिए, जसको सन्दर्भमा यो सरसफाइ अभियान थालिएको हो ।
पछिल्लो अध्यावधिक: भदौ २५, २०८२ ८:३७
