चाडपर्वका लागि अग्रिम अनलाइन टिकट बुकिङ खुल्दै, दुई चालक अनिवार्य, अरू के भए निर्णय ?
भदौ ३१, २०८२ १९:११
काठमाडौँ । चाडपर्वलाई लक्षित गरी यातायात व्यवस्थापनमा सहजता ल्याउन सार्वजनिक यातायात सेवा प्रदायकहरूले मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङको व्यवस्थालाई निरन्तरता दिने भएका छन् ।
मंगलबार यातायात व्यवस्था विभागले यातायात व्यवसायीसँग आउँदै गरेका चाडपर्वलाई लक्षित गर्दै यात्रालाई सुरक्षित बनाउने उद्देश्यले विभिन्न निर्णय गरेको छ । विभागसँगको छलफलपछि यातायात व्यवसायीहरू टिकट बिक्रीमा यथासक्य अनलाइन बुकिङको व्यवस्था मिलाउन सहमत भएका छन् ।
उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने यात्रुवाहक सवारीसाधनको विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, ल्होत्से बहुउद्देश्य प्रालि, उपभोक्ता सम्बद्ध संस्थासँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्ने/गराउने र यात्रुले समेत सवारीमा मादक पदार्थ सेवन गरी यात्रा नगर्ने निर्णय भएको छ ।
साथै, सार्वजनिक सवारीमा यात्रा गर्दा यात्रुले अनिवार्य रूपमा टिकट लिएर मात्र यात्रा गर्ने र टिकट काउन्टरबाट यात्रुको परिचय खुल्ने विवरणसहितको चलानी लिएर मात्र सवारी सञ्चालन गर्नुपर्ने समझदारी भएको छ ।
सवारी चालकले यात्रुलाई खाना/खाजा खुवाउने स्थानमा भिडभाड नहुने गरी व्यवस्था गर्नुपर्नेछ । अनधिकृत काउन्टर, परिचयपत्र, पोशाक नभएका व्यक्तिहरूबाट टिकट बिक्री गर्ने कार्यलाई पूर्णतया नियन्त्रण गर्न विभाग र यातायात व्यवसायी राजी भएका छन् ।
मुख्य सडकलाई मर्मतसम्भार गरी यातायात सञ्चालनलाई सहज बनाउन सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय पनि भएको छ । यात्रुलाई आवश्यक सवारीसाधनहरूको व्यवस्था यातायात व्यवसायीले गर्नुपर्नेछ ।
यातायात आवागमन सहज बनाउन खाद्यान्नलगायतका अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने बाहेकका ट्रेलरलगायत ठुला सवारीसाधनहरू ६ असोज घटस्थापनादेखि २० गते पूर्णिमासम्म नारायणघाटदेखि काठमाडौँसम्म सञ्चालन गर्न रोक लाग्ने भएको छ ।
प्रचलित कानुनबमोजिम आयातित मालबाहक सवारीको हकमा भने भन्सार प्रज्ञापनपत्र र निर्यातित मालबाहक सवारीको हकमा नियमअनुसारको राजस्व तिरेको रसिद हेरी तेस्रो मुलुकका आयात/निर्यातजन्य ढुवानीका साधनहरू भन्सार कार्यालय बन्द रहने अवधिबाहेक नारायणघाटदेखि काठमाडौँसम्मको सडक खण्डमा आवतजावत गर्न पाउने छन् ।
यात्रुवाहक सवारीसाधनलाई घटस्थापनादेखि पूर्णिमाको पर्सि अर्थात् २२ असोजसम्म नेपालभर लागु हुने गरी रुट परमिट खुला गरिने भएको छ । विभागले कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका आकार–प्रकारका सार्वजनिक सवारीलाई भने सो बन्देज कायमै रहने जनाएको छ ।
उपत्यकामा भित्रिने र बाहिरिने प्रमुख स्थानलगायत देशभर मापसे वा लापसे गर्ने सवारीचालकको स्वास्थ्य अवस्थाको बारेमा चेकजाँच गरिने भएको छ । सवारी चालकले मापसे वा लापसे गरेको पाइएमा निजको सट्टा व्यवसायीले अर्को चालकको व्यवस्था गर्नुपर्नेछ ।
त्यसैगरी, विभाग र व्यवसायीको बैठकले लामो दूरीका यात्रुवाहक सवारीसाधनहरू गन्तव्यतर्फ प्रस्थान गर्नु अघि अनिवार्य रूपमा सवारीको यान्त्रिक अवस्था लगायतको चेकजाँच गर्ने निर्णय गरेको छ ।
लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने यात्रुवाहक सार्वजनिक सवारीमा कम्तीमा दुई जना चालक अनिवार्य रूपमा राखी आलोपालो सवारी चलाउने व्यवस्था यातायात सेवा सञ्चालन गर्ने व्यवस्थापक वा सवारी धनीले मिलाउनुपर्नेछ ।
१८ वर्ष उमेर पूरा नभएका नाबालकलाई परिचालकको काममा नलगाउन यातायात व्यवसायी सहमत भएका छन् ।
चाडपर्वको समय नजिकिँदै गर्दा यात्रुवाहक सवारी यातायातको चाप अत्यधिक बढ्ने भएकाले सडक दुर्घटना समेत बढ्नसक्ने भएकाले प्रभावकारी अनुगमनको व्यवस्था मिलाइने भएको छ ।
दशैं, तिहार र छठ पर्वमा काठमाडौँ उपत्यकाबाट बाहिर जाने र उपत्यकामा भित्रिने यात्रुलाई सहजीकरण गर्न उपत्यकाको नागढुङ्गा, कलंकी, स्वयम्भू, हलचोक, माछापोखरी, नयाँ बसपार्क, चाबहिल, तिलगंगा, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा तथा काभ्रेको साँगामा सिप्रदी/नाडाको सहयोग र काठमाडौँ महानगरपालिकाको सहकार्यमा नागरिक सहायता कक्ष स्थापना गर्ने निर्णय भएको छ ।
चाडपर्व अवधिभर अनुगमन कार्यका लागि विभागले सरोकारवाला निकाय सम्मिलित अनुगमन टोली गठन गर्नेछ । उक्त कार्यका लागि प्रदेशको यातायात मन्त्रालयको समेत सहयोग लिने तयारी विभागको छ ।
चाडपर्व लक्षित सवारीसाधन व्यवस्थापन गर्ने क्रममा सडकको अवस्था र प्राकृतिक प्रकोप जस्ता कारणले काबुबाहिरको परिस्थिति सिर्जना भई समयमा सवारीसाधन पुग्न नसकेको अवस्थामा विकल्पको रूपमा सम्बन्धित यातायात कम्पनी (व्यवसायी) ले अर्को सवारीसाधन उपलब्ध गराउने छन् ।
पछिल्लो अध्यावधिक: भदौ ३१, २०८२ १९:११
