अर्थ मन्त्रालयको मेलबक्समा गुनासोको वर्षा, रिप्लाई दिन मन्त्री खनाल आफैं सक्रिय
असोज ७, २०८२ २२:३३
काठमाडौँ । सञ्चालनमा ल्याएको ६ घण्टामा अर्थ मन्त्रालयको गुनासो मेलबक्समा १६६ ईमेल प्राप्त भएका छन् । जसमध्ये दुई दर्जन गुनासोलाई अर्थमन्त्री रामेश्वर खनालले रिप्लाईसहित सम्बोधन गरिदिएका छन् ।
बाँकी रहेका ईमेल छिटोभन्दा छिटो सुनुवाइ गर्दै गुनासो सम्बोधन गर्ने प्रतिबद्धता मन्त्री खनालले गरेका छन् ।
“यसले सेवाग्राही तथा संघसंस्थाहरूलाई कुनै पनि समस्या सम्बोधन गराउन भौतिक रूपमा सिंहदरबार धाउनुपर्ने बाध्यता हट्नेछ,” मन्त्री खनालले फेसबुकमा लेखेका छन् ।
अर्थ मन्त्रालयले आफू मातहतका कर्मचारीले सेवाग्राहीलाई अनावश्यक दुःख दिए, घुस मागे वा काममा ढिलासुस्ती गरेमा सिधै अर्थमन्त्री खनाललाई गुनासो गर्न सकिने प्रणाली सुरुवात गरेको थियो । मन्त्रालयले नियामक, विभाग, कार्यालय र बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह हुने सेवामा कार्यरत कर्मचारीको कार्यशैलीमा सुधार ल्याउन र सुशासन कायम गर्न यो कदम चालेको हो ।
कर्मचारीले गर्नुपर्ने काम नगरेको, अनुचित कामका लागि दबाब दिएको, घुस वा रिसवत माग गरेको वा सेवा प्रवाहमा अनावश्यक ढिलासुस्ती गरी कठिनाइ सिर्जना गरेको अवस्थामा सिधै मन्त्रीलाई गुनासो टिपाउन सकिन्छ । यसका लागि अर्थमन्त्री खनालको आधिकारिक ईमेल [email protected] वा [email protected] मा ईमेल गर्न सकिने मन्त्रालयले जनाएको छ ।
पछिल्लो अध्यावधिक: असोज ७, २०८२ २२:५१
