काठमाडौँ । प्रारम्भिक दिनमा इन्टरनेटको एक महत्त्वपूर्ण पाटोको रूपमा रहेको एओएल (AOL) ले आफ्नो डायल–अप इन्टरनेट सेवा बन्द गरेको छ । मंगलबारदेखि यो सेवा बन्द भएसँगै इन्टरनेटको एउटा युग समाप्त भएको छ । इन्टरनेटको सुरुवाती दिनमा एओएलले लाखौं मानिसहरूलाई वेबसँग जोड्ने काम गरेको थियो ।
एओएलको सपोर्ट वेबसाइटमा दिइएको जानकारीअनुसार डायल-अप सेवा र यससँग सम्बन्धित एओएल डायलर सफ्टवेयर र एओएल शिल्ड ब्राउजर लाई सधैंका लागि बन्द गरिएको छ । यी सफ्टवेयरहरू पुरानो अपरेटिङ सिस्टम र डायल-अप इन्टरनेटका लागि मात्र बनाइएका थिए ।
यसमा अनलाइन जानका लागि लगइन गर्दा सुरुमा कर्कश कम्प्युटराइज्ड टोन बज्थ्यो, जुन त्यो समयको एउटा रीति जस्तै थियो । जब प्रयोगकर्ता अनलाइन हुन्थे, तब उसलाई “Welcome! You’ve Got Mail!” भनी स्वागत गरिन्थ्यो । यसरी बोल्ने आवाज प्रयोगकर्ताका लागि परिचित र रमाइलो अनुभव बन्न पुगेको थियो । एओएलको यो स्वागत यति लोकप्रिय भयो कि पछि यही शीर्षकमा फिल्मसमेत बन्यो ।
आफ्नो उत्कर्षमा एओएलका दुई करोडभन्दा बढी प्रयोगकर्ता थिए। सन् २००० मा यो कम्पनी टाइम वार्नरसँग मर्ज भयो । यो मर्ज त्यस समयको सबैभन्दा ठुलो मर्ज मध्ये एक मानिन्थ्यो । मर्ज हुँदा कम्पनीको मूल्याङ्कन लगभग ३५० अर्ब डलर पुगेको थियो ।
तर ब्रोडब्यान्ड इन्टरनेटको पहुँच बढ्दै गएसँगै बजारमा थप परिष्कृत वेब ब्राउजरहरू उपलब्ध हुन थाले । नयाँ र प्रभावकारी ब्राउजरको आगमनसँगै एओएलले प्रयोगकर्ता गुमाउन थाल्यो ।
सन् २०२१ मा निजी इक्विटी फर्म अपोलो ले याहु र एओएल खरिद गर्यो । अपोलोले यी दुई कम्पनीलाई खरिद गर्नुअघि यी कम्पनीहरू भेरिजोनको स्वामित्वमा थिए र एक आपसमा गाभिएका थिए । भेरिजोनले यी कम्पनीहरू पाँच अर्ब डलरमा अपोलोलाई बेचेको थियो ।
कम्पनीले आफ्नो उत्पादन र सेवाहरूको नियमित मूल्याङ्कनको एक भागको रुपमा यो निर्णय लिएको बताएको छ ।
याहुले एक विज्ञप्तिमा भनेको छ, "आजको डिजिटल आवश्यकता पूरा गर्न हामी केही पुराना एओएल, कम्प्युसर्व र नेटस्केप कनेक्ट प्लानमा समावेश डायल-अप इन्टरनेट सेवालाई बन्द गर्दैछौँ ।" कम्पनीका अनुसार यो परिवर्तनले प्रयोगकर्ताहरूको निःशुल्क एओएल ईमेल खातामा भने कुनै असर पार्नेछैन ।
९० को दशकमा इन्टरनेट प्रयोग गर्दा सुनिने डायल-अपको यो आवाज नयाँ युगले सम्झिरहने छ । यस सेवाको बन्द हुने खबरपछि धेरै मानिस सामाजिक सञ्जालहरूमा पुरानो दिनहरू सम्झेर भावुक भएका छन् । धेरैले ती दिनहरूको ५६ केबीपीएसको सुस्त गतिको इन्टरनेट र ठुला फाइलहरू डाउनलोड गर्न लाग्ने घन्टौँको समय सम्झेका छन् ।
पछिल्लो अध्यावधिक: असोज १५, २०८२ १३:२
