close

अमेजनको क्लाउड सेवा डाउन हुँदा विश्वभर इन्टरनेट अस्तव्यस्त, अर्बौंको क्षति

टेकपाना टेकपाना

कात्तिक ५, २०८२ ९:२५

अमेजनको क्लाउड सेवा डाउन हुँदा विश्वभर इन्टरनेट अस्तव्यस्त, अर्बौंको क्षति

काठमाडौँ । विश्वकै सबैभन्दा ठुलो क्लाउड सेवा प्रदायक अमेजन वेब सर्भिस (एडब्लूएस) सोमबार ठप्प हुँदा विश्वभरको इन्टरनेट सेवामा व्यापक असर पुगेको छ । रायटर्सका अनुसार यो अवरोध गत वर्षको ‘क्राउडस्ट्राइक’ समस्यापछि‍ देखिएको सबैभन्दा ठुलो मानिएको छ । 

विश्वभर २८ भन्दा बढी अमेजन सेवाहरू बन्द हुँदा करोडौं प्रयोगकर्ता प्रभावित भएका थिए । केही विज्ञहरूले सीएनएनसँगको कुराकानीमा यस अवरोधले अर्बौं डलर बराबरको क्षति पुर्‍याएको अनुमान गरेका छन् ।

यो समस्याका कारण स्न्यापच्याट, सिग्नल, रेडिट जस्ता लोकप्रिय एपहरू पूर्णरूपमा बन्द हुन पुगे । विमान उडानहरू ढिलाइ भए । बैंक तथा वित्तीय सेवा रोकिए । अनलाइन गेम फोर्टनाइट जस्ता ठुला गेमहरू पहुँच बाहिर भए ।

अमेजनका आफ्नै प्लेटफर्महरू ‍एलेक्सा, प्राइम भिडिओ र  ई-कमर्स साइटसमेत प्रभावित बने । विश्वभरका लाखौं व्यावसायिक गतिविधि रोकिएपछि कर्मचारीहरू प्रणालीमा लगइन गर्न वा भुक्तानी गर्न असमर्थ बने ।

इन्टरनेट प्रदर्शन अनुगमन गर्ने कम्पनी क्याचपोइन्टका सीईओ मेहदी दाउदीले सीएनएनसँग भने, “यस घटनाले इन्टरनेट प्रणाली कति जटिल र नाजुक छ भन्ने स्पष्ट गरेको छ । यसले हवाई जहाजदेखि कारखानासम्मका काम रोकिँदा विश्वव्यापी उत्पादकत्वमा ठुलो ह्रास ल्याएको छ । जसको आर्थिक असर सयौँ अर्ब डलरसम्म पुग्नेछ ।”

रायटर्सका अनुसार अमेजनको समस्या अमेरिकास्थित त्यस पुरानो र सबैभन्दा ठुलो डेटा सेन्टरबाट सुरु भएको थियो, जुन प्रायः धेरै एडब्लूएस सेवाहरूको डिफल्ट क्षेत्र पनि हो । यही केन्द्र सन् २०२० र २०२१ मा पनि अवरोधमा परेको थियो । अमेजनले त्यतिबेला ती समस्या ‘पूर्ण रूपमा समाधान भएको’ बताएको भए पनि २०२५ सम्म आइपुग्दा स्थिरता सुनिश्चित नभएको देखिएको छ।

जेडीडीनेटका अनुसार सुरुमा क्लाउड डेटाबेस प्रविधिसँग सम्बन्धित सेवाहरूमा एरर रेट र लेटेन्सी बढ्ने समस्या देखिएको थियो । पछि इन्जिनियरहरूले डोमेन नेम सिस्टम समाधानमा समस्या नै मूल कारण भएको पत्ता लगाए र तत्काल सुधार पनि गरे । तर त्यसपछि अन्य सेवाहरू क्रमशः ठप्प हुँदै गए ।

अवरोध चरम अवस्थामा पुग्दा डाउन डिटेक्टरले विश्वभरबाट ८० लाखभन्दा बढी प्रयोगकर्ताले समस्या रिपोर्ट गरेको जनाएको छ । नेपाली समय अनुसार बिहान करिब ४ बजेतिर यो समस्याको समाधान गरिएको थियो ।

कर्नेल विश्वविद्यालयका कम्प्युटर विज्ञान प्राध्यापक केन बिर्मनले रायटर्ससँग भने, “सफ्टवेयर डेभलपरहरूले अझै राम्रो ‘फल्ट टोलरेन्स’ प्रविधि अपनाउनुपर्ने देखिन्छ । लागत घटाउन खोज्दा अन्तिम सुरक्षा उपायहरू बेवास्ता गर्नु नै यस्ता घटनाको कारण बन्छ ।”

यस अवरोधले अमेजनको बजारमा पनि नकारात्मक असर पार्ने सम्भावना देखिएको छ । प्रायः वित्तीय सेवा क्षेत्रका कम्पनीहरूले भविष्यमा यस्तो जोखिम कम गर्नका लागि ‘मल्टिक्लाउड रणनीति’ (एकभन्दा बढी क्लाउड प्रदायकमा डेटा बाँड्ने अभ्यास) अपनाउने सम्भावना फोर्ब्सले उल्लेख गरेको छ ।

-विभिन्न सञ्चारमाध्यमको सहयोगमा

पछिल्लो अध्यावधिक: कात्तिक ५, २०८२ ९:५४