close

इसेवा प्रयोगकर्ताका लागि १३ सय ९९ रुपैयाँमै स्वास्थ्य बीमा, यस्ता छन् सुविधा

टेकपाना टेकपाना

कात्तिक १६, २०८२ १२:१६

इसेवा प्रयोगकर्ताका लागि १३ सय ९९ रुपैयाँमै स्वास्थ्य बीमा, यस्ता छन् सुविधा

काठमाडौँ । डिजिटल भुक्तानी सेवाप्रदायक इसेवाले निर्जीवन बीमा प्रदायक शिखर इन्स्योरेन्ससँगको सहकार्यमा नयाँ स्वास्थ्य बीमा योजना ‘सहारा हेल्थ इन्स्योरेन्स’ सार्वजनिक गरेको छ । ​सहज, भरपर्दो र डिजिटल माध्यमबाट स्वास्थ्य बीमा सेवा उपलब्ध गराउने उद्देश्यले इसेवाले सहारा हेल्थ इन्स्योरेन्स ल्याएको हो ।

यो योजना पाँच वर्षदेखि ६५ वर्ष उमेर समूहका नागरिकलाई उपलब्ध हुने जनाइएको छ । योजना अन्तर्गत बीमितले अस्पताल भर्ना, आकस्मिक उपचार, शल्यक्रिया, औषधोपचार खर्च, ल्याब परीक्षणदेखि दुर्घटना उपचारसम्मको सुविधा पाउनेछन् ।

यो बीमा योजना दुई लाख, तीन लाख र ६ लाख रुपैयाँ बीमांकका विकल्पहरूमा उपलब्ध छ । प्रारम्भिक प्रिमियम शुल्क एक हजार ३९९ रुपैयाँबाट सुरु हुने इसेवाले जनाएको छ । 

सहारा हेल्थ इन्स्योरेन्स अन्तर्गत नेपालभरिका मान्यता प्राप्त अस्पतालमा उपचार गराएर पैसा फिर्ता (Cash Reimbursement) गर्न सकिन्छ । त्यसैगरी, बीमित व्यक्तिले देशभरका शिखर इन्स्योरेन्सका २६ ओटा नेटवर्क अस्पतालहरूमा क्यासलेस उपचार सुविधा पाउने छन् । 

यसले आकस्मिक अवस्थाहरूमा आर्थिक तनाव बिना उपचार सम्भव हुने इसेवाले जनाएको छ । यस योजनामा एकपटकको निःशुल्क टेलिहेल्थ सल्लाह (Telehealth Consultation) सेवा पनि पाइनेछ ।

इसेवा प्रयोगकर्ताले इसेवा एपमार्फत केही मिनेटमै बीमा खरिद गर्न सक्छन् ।  बीमा पोलिसी तुरुन्तै एसएमएस र ईमेलमा प्राप्त हुने बताइएको छ ।

“सहारा हेल्थ इन्स्योरेन्सको सुरुवात बीमा डिजिटलाइजेसनको दिशामा अर्को महत्त्वपूर्ण कोशेढुङ्गा हो । यसले स्वास्थ्य बीमालाई अझ सुलभ, सरल र पहुँचयोग्य बनाउनेछ,” इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले भने ।

पछिल्लो अध्यावधिक: कात्तिक १६, २०८२ १२:३९