close

विद्युत् खपत बढाउन ईभी चार्जिङ स्टेसनदेखि इन्डक्सन चुलो प्रवर्द्धन गरिरहेका छौँः मन्त्री घिसिङ

टेकपाना टेकपाना

कात्तिक १८, २०८२ १४:२९

विद्युत् खपत बढाउन ईभी चार्जिङ स्टेसनदेखि इन्डक्सन चुलो प्रवर्द्धन गरिरहेका छौँः मन्त्री घिसिङ

काठमाडौँ । । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले उत्पादित विद्युत् देशभित्रै खपत गर्ने काम भइरहेको बताएका छन् । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको २९औँ वार्षिकोत्सवको अवसरमा मङ्गलबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री घिसिङले यसका लागि माग पक्ष सुधारलाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिएका हुन् ।

विद्युत् खपत बढाउन विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्न चार्जिङ स्टेसनको स्थापना, इन्डक्सन चुलोको प्रयोग लगायतलाई प्रोत्साहन गरिएको उनले उल्लेख गरे । “अहिले मुख्य रूपमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् भारत तथा बङ्गलादेशतर्फ निर्यात त गरिरहेका छौँ ।तर हाम्रो प्राथमिकता विद्युत्‌को खपत देशभित्रै बढाउने हो । यसका लागि चार्जिङ पूर्वाधारको विस्तार, खाना पकाउन प्रयोग भइरहेको काठदाउरा, ग्याँसलाई विद्युतीय चुलोले प्रतिस्थापन लगायतका काम गरी विद्युत् माग वृद्धि गर्न सकिन्छ ।”

ऊर्जा दक्षता, ऊर्जा रूपान्तरण र विद्युत्‌को आन्तरिक माग बढाउन कार्य योजनासहित काम अगाडि बढाइएको घिसिङले बताए । वायु उर्जामा निजी लगानीलाई प्रोत्साहन गर्न इच्छुक कम्पनीलाई सहयोग गर्न विद्युत् खरिद विक्री सम्झौता (पीपीए) गर्न तयार रहेको उल्लेख गर्दै मन्त्री घिसिङले सौर्य ऊर्जालाई ग्रिडमा आबद्ध गर्ने र भण्डारण गर्ने सरकारको नीति रहेको बताउनुभयो ।

वैकल्पिक ऊर्जाको प्रवर्द्धन र नेपालको ऊर्जा रूपान्तरणमा विभिन्न दातृ निकायहरूले गरेको सहयोगप्रति धन्यवाद दिँदै मन्त्री घिसिङले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्य क्षेत्र विस्तार गरिने पनि उल्लेख गरे ।

नेपालका लागि जर्मनीका राजदूत उडो युजेन भोल्जले नेपालमा दिगो ऊर्जाको विकास, जीविकोपार्जन सुधार, न्यून कार्बन उत्सर्जन, ऊर्जा रूपान्तरण लगायतका क्षेत्रमा सहयोग गर्न तयार रहेको बताए । जर्मनीले नेपालको ऊर्जा क्षेत्रमा प्राविधिक तथा वित्तीय सहयोग प्रदान गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १८, २०८२ १४:२९