close

फेसबुक विज्ञापन मार्फत बोनसको लोभमा लिंक क्लिक गर्न लगाएर बैँक खाताको रकम चोर्ने ३ जना पक्राउ

टेकपाना टेकपाना

कात्तिक २०, २०८२ १७:३८

सांकेतिक तस्बिर सांकेतिक तस्बिर

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमार्फत अनलाइन ठगी गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना भारतीय नागरिकसहित तीन जना रहेका छन् ।

ब्युरोका अनुसार उनीहरूले फेसबुकमा विभिन्न बैँकको नाममा आकर्षक विज्ञापनमार्फत बोनस दिने नाममा सर्भे लिंकमा क्लिक गर्न लगाउने र पीडितको बैँक खाता ह्याक गरी रकम ट्रान्सफर गरी ठगी गर्दै आएका थिए ।

यसरी अनलाइन स्क्याम गरी आफ्नो खाताबाट रकम ट्रान्सफर भएको उल्लेख गर्दै विभिन्न उजुरी प्राप्त भएपछि ब्युरोले अनुसन्धान तथा प्राविधिक विश्लेष सुरु गरेको थियो । सोही क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका ११ नर्सरी बस्ने ४० वर्षीय राजन गिरी, ओखलढुङ्गा चम्पादेवी गाउँपालिका ८ घर भई काठमाडौँ बुढानीलकण्ठ बस्ने २६ वर्षीया मिना लकान्द्री र भारतको बिहार पूर्वी चम्पारन नागारोड ११ रक्सौल घर भई काठमाडौँ ठमेल बस्ने २६ वर्षीय आदित्य कुमार रहेका छन् ।

उनीहरूको साथबाट नेपाली तथा विदेशी नगद रकम, विभिन्न बैँकका एटीएम कार्ड, भारतीय नम्बरका सिमकार्ड, मोबाइल तथा क्यासिनो कार्ड समेत बरामद गरिएको छ । मङ्गलबार पक्राउ परेका उनीहरूलाई विद्युतीय माध्यम सम्बद्ध ठगी अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको ब्युरोले जनाएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २०, २०८२ १७:३८