close

सेवा विस्तारमा आक्रामक बन्दै नेपाल टेलिकम र एनसेल, कहाँ-कहाँ पुग्यो फोरजी ?

टेकपाना टेकपाना

कात्तिक २९, २०८२ ७:४१

सेवा विस्तारमा आक्रामक बन्दै नेपाल टेलिकम र एनसेल, कहाँ-कहाँ पुग्यो फोरजी ?

काठमाडौँ । नेपाल टेलिकम र एनसेल दुवै कम्पनी दूरसञ्चार सेवा विस्तारमा आक्रामक बनेका छन् । टेलिकमले ग्रामीण क्षेत्रमा दूरसञ्चार पहुँचको विस्तारलाई अघि बढाइरहेको छ । टेलिकमले सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशका विकट क्षेत्रहरुमा टेनवर्क विस्तार तथा फोरजी सेवाको पहुँच अभिवृद्धि गर्दै लगेको हो । 

टेलिकमले हालै बाजुराको बुढीनन्द गाउँपालिकामा फोरजी सेवा सुरु गरेको छ । टेलिकमले उक्त गाउँपालिकाको वडा नम्बर ७ मा नयाँ फोरजी एलटीई टावर जडान गरी सेवा सञ्चालनमा ल्याएको छ । 

यता डोल्पाको ठूलीभेरी नगरपालिका र शे–फोक्सुन्डो गाउँपालिकाका विभिन्न बस्तीहरू सञ्चारको पहुँचमा जोडिएका छन् । योसँगै वर्षौँदेखि सञ्चार सुविधाबाट वञ्चित फोक्सुन्डो ट्रेल, यार्सा पाटनसहित आधा दर्जन बस्तीहरू सञ्चारको पहुँचमा पुगेको छ ।

टेलिकमले हाल सुदूरपश्चिम प्रदेशका बझाङ, बाजुरा, दार्चुला, डोटी, अछाम र बैतडीका दुर्गम स्थानहरूमा नयाँ टावर जडान र पुराना टावरहरू अपग्रेड गर्ने कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ । 

यस्तै डोल्पाको दुईवटा स्थानीय तहका रह, परिला, काग्नी, साँङ्टा, छेप्का लगायतका बस्तीहरूमा फोन लाग्नुका साथै इन्टरनेटको पहुँच पनि पुगेको छ । टावर बनेसँगै सुलिगाड स्थित शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको कार्यालय, सैनिक ब्यारेक क्षेत्रमा पनि सञ्चार सुविधा पुगेको छ । 

यसका साथै, निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले पनि गुणस्तर सुधार र सेवा विस्तारमा आक्रामक बनिरहेको छ । विशेषगरी मधेश र कोशी प्रदेशलाई प्राथमिकतामा राखी आगामी पुसभित्र २०० वटा टावर विस्तार गर्ने लक्ष्य अनुरुप हालसम्म ४५ वटा टावर जडान गरिसकेको छ । 

हाल एनसेलको फोरजी सेवा विभिन्न दुर्गम क्षेत्रसहित ९५ प्रतिशत जनसंख्यामा पहुँच विस्तार भइसकेको छ भने ९२ प्रतिशत भन्दा बढीमा टुजी सेवा छ । 

पछिल्लो अध्यावधिक: कात्तिक २९, २०८२ ८:५