एनपीएलको पहिलो दिनको सबै टिकट बिक्री भइसक्यो, टिकट नहुनेले घरबाटै खेल हेर्नु होला: खड्का
कात्तिक २९, २०८२ २१:१३
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) टी-ट्वान्टी प्रतियोगिताको दोस्रो संस्करणको पहिलो दिनको टिकट बिक्री भइसकेकाले टिकट नहुने दर्शकलाई घरबाटै खेल हेर्न अनुरोध गरेका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबारदेखि हुने प्रतियोगिताको पूर्वसन्ध्यामा एक भिडिओ सार्वजनिक गर्दै खड्काले क्रिकेटप्रेमीहरूलाई संयमता अपनाउन आग्रह गरेका हुन् ।
“राज्यको अहिलेको परिस्थितिमा हामीले ग्राउन्डमा आएर धेरै हुलमुल गर्नुभन्दा पनि टिकट भएकाहरू ग्राउन्डमा हुनुहुन्छ । टिकट नहुनेहरूले आफ्नो घरमा बसेर क्रिकेट हेरेर र नेपाली क्रिकेटलाई साथ सहयोग गरिदिनुहुन्छ भन्नेमा हामी विश्वस्त छाैँ,” खड्काले भने ।
यो प्रतियोगिता विश्वस्तरमा संसारले हेर्ने भएको कारण कुनै पनि खालको घुसपैठ र नराम्रो घटनाले नेपाली क्रिकेट र देशको नै समग्र इज्जत/मानमा ठुलो असर गर्नेतर्फ सबैलाई सचेत गराउँदै खड्काले जिम्मेवार दर्शकको भूमिका निभाउन अपिल गरे ।
उनले निरन्तर साथ, सहयोग र माया दिइरहेका सम्पूर्ण देश तथा विदेशमा रहेका नेपाली क्रिकेटका समर्थकहरूलाई धन्यवाद दिँदै आगामी दिनमा नेपालमा ठुला-ठुला राष्ट्रहरूलाई पनि क्रिकेट खेल्न बोलाउन सकिने गरी एनपीएललाई सफल बनाउन सहयोग गर्न आग्रह गरे ।
सार्वजनिक तालिकाअनुसार एनपीएलको पहिलो खेल साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाजबिच हुनेछ ।
पछिल्लो अध्यावधिक: कात्तिक ३०, २०८२ ७:५५


