मोबाइलमा एनपीएल देखाउन नपाउने भएपछि नेटटिभी एपबाट सुटुक्क हट्यो कान्तिपुर म्याक्स
मंसिर १, २०८२ १४:३१
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रसारण गर्ने अधिकार पाएको कान्तिपुर म्याक्स टेलिभिजन च्यानल नेटटिभीको मोबाइल एपबाट भने हटेको छ । एनपीएलको प्रसारणका लागि ओटीटी प्लेटफर्मको अधिकार नपाएका कारण सोमबारदेखि कान्तिपुर म्याक्सलाई नेटटिभीबाट हटाइएको हो ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार मात्र कान्तिपुर म्याक्सलाई नेपालभित्रको आधिकारिक लिनियर टेलिभिजन पार्टनर घोषणा गरेको थियो । उक्त च्यानलमा प्रसारित सामग्री नेटटिभीबाट सहजै हेर्न सकिन्थ्यो ।
घोषणा अघि नेटटिभीमा उपलब्ध रहेको सो च्यानल घोषणाको भोलिपल्ट सोमबार बिहानदेखि भने एपमा देखिन छाडेको हो । यसअघि नेटटिभीमा कान्तिपुर म्याक्स उपलब्ध भएकै कारण धेरै दर्शकले सोही एपमार्फत निःशुल्क रूपमा लिग हेर्न पाइने अपेक्षा गरेका थिए ।
तर सोमबार दिउँसो च्यानल नै हटेको छ । केही सामाजिक सञ्जाल प्रयोगकर्ताले नेटटिभीबाट पनि निःशुल्क एनपीएल लाइभ हेर्न सकिने भन्दै टिप्स समेत दिएका थिए ।
दर्शकले अब नेपाल प्रिमियर लिग हेर्नका लागि तीन ओटा आधिकारिक माध्यम प्रयोग गर्न सक्नेछन् । नेपालभित्रका दर्शकले कान्तिपुर म्याक्स टेलिभिजनबाट निःशुल्क हेर्न सक्नेछन् भने नेपाल तथा विदेशका दर्शकका लागि स्टार स्पोर्ट्स टेलिभिजनमा अर्को निःशुल्क विकल्प हो ।
मोबाइल वा अन्य डिभाइसमा हेर्न चाहनेका लागि भने एक मात्र आधिकारिक प्लेटफर्म डिशहोम गो तोकिएको छ । यो सशुल्क सेवा हो । डिशहोम गोमार्फत एनपीएल हेर्नका लागि नेपालभित्रका प्रयोगकर्ताले ३०० रुपैयाँ, खाडी मुलुकमा रहेकाले ५०० रुपैयाँ र अन्य देशका प्रयोगकर्ताले १० अमेरिकी डलर तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
हाल नेटटिभीमा कान्तिपुर, एपी वन, मिटिभी, हिमालय टिभी, न्युज २४, इमेज एचडी र बीएम एचडी जस्ता अन्य च्यानल भने यथावत् देखिइरहेका छन् ।
पछिल्लो अध्यावधिक: मंसिर १, २०८२ १४:३४
