एनपीएल हेर्न डिशहोम गो सब्स्क्राइभ गरेका सबैको एकाउन्ट एक्टिभेट, अझै पनि नचले विवरण पठाउन आग्रह
मंसिर ५, २०८२ १५:२१
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को सिजनल पासको भुक्तानी गरेर पनि प्रत्यक्ष प्रसारण हेर्न नपाएका सबै ग्राहकको सब्स्क्रिप्सन डिशहोम गोले आफ्नो प्रणालीमार्फत एक्टिभेट गरेको जानकारी दिएको छ ।
डिशहोम गोले नेपालसहित विश्वका अन्य देशहरूबाट भुक्तानी गरेका सबै ग्राहकहरूको सब्स्क्रिप्सन एक्टिभेट गरिदिएको हो ।
यदि अझै पनि एक्टिभेसन नभएको भए डिशहोम गो एप अपडेट गर्न वा अनइन्स्टल गरी पुन: इन्स्टल गरेर लगइन गर्न कम्पनीले आग्रह गरेको छ ।
त्यसो गर्दा पनि प्रत्यक्ष प्रसारण नचले पाँच ओटा विवरणसहित ह्वाट्सएपमा मेसेज पठाउन कम्पनीले अनुरोध गरेको छ ।
डिशहोम गोले सब्स्क्रिप्सन एक्टिभेट नभएका ग्राहकहरूलाई ईमेल वा फोन नम्बर (एप लगइन आईडी), डिभाइस (आईओएस वा एन्ड्रोइड), भुक्तानी विधि (ईसेवा, खल्ती, भिसा, मास्टरकार्ड), ट्रान्जेक्सन कोड (जस्तै: 16HXX89) र देश (नेपाल वा अन्य)सहितका विवरण 9860182623 मा रहेको ह्वाट्सएप नम्बरमा पठाउन आग्रह गरेको छ ।
त्यसपछि डिशहोम गोले विवरण भेरिफाई गरेर तुरुन्तै सब्स्क्रिप्सन एक्टिभेट गर्ने जनाएको छ ।
पछिल्लो अध्यावधिक: मंसिर ५, २०८२ १५:२४
