close

ड्रोन खेललाई आधिकारिक मान्यता र नियमनको दायरामा ल्याउन माग

टेकपाना टेकपाना

मंसिर ११, २०८२ १७:३४

ड्रोन खेललाई आधिकारिक मान्यता र नियमनको दायरामा ल्याउन माग

काठमाडौँ । मानवरहित विमान संघ नेपाल (उडान) ले बिना मापदण्ड सञ्चालन भइरहेका ड्रोन खेल (रेसिङ) लाई तत्काल नियमन गर्न सरकारसँग माग गरेको छ । बुधबार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तासँग भेट गर्दै संघका प्रतिनिधिले नेपालका विभिन्न स्थानमा हावा तथा पानीमा हुने पाइलटविहीन उपकरणका खेलहरू मापदण्डविहीन हुँदा असुरक्षा बढेको भन्दै मन्त्रालयको ध्यानाकर्षण गराएका हुन् ।

स्पष्ट मापदण्ड नहुँदा खेलको मर्यादा र अनुशासनमा समेत नकारात्मक प्रभाव परेको संघको ठहर छ । संघले यस्ता गतिविधिको नियमन, अनुमति प्रक्रिया र निरीक्षणमा सरकारी निकायको मात्र भर नपरी प्राविधिक दक्षता भएका गैर-सरकारी संस्थाहरूलाई समेत जिम्मेवारी दिनुपर्ने प्रस्ताव राखेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटको व्यवस्थापन गरेजस्तै ड्रोन खेलको जिम्मेवारी र अधिकार ‘उडान’ जस्ता विज्ञ संस्थालाई दिनुपर्ने उनीहरूको माग छ ।

भेटमा उडानका महासचिव प्रविन भट्टराईले प्रविधिमूलक खेललाई मन्त्रालयको संरचनाभित्र समावेश गर्न आग्रह गरे । सरकारी सहयोग र नीतिगत स्पष्टता भएमा मात्र यस्ता खेललाई विश्वस्तरमा प्रतिस्पर्धी बनाउन सकिने उनको भनाइ छ । भेटवार्ता सकारात्मक भएको र नीतिगत पहल अघि बढ्ने अपेक्षा संघले लिएको छ ।

 

पछिल्लो अध्यावधिक: मंसिर ११, २०८२ १७:३४