close

एआई कन्सोर्टियम टिम गठन गर्दै काठमाडौँ महानगर, विज्ञहरूलाई सहभागी हुन आह्वान

टेकपाना टेकपाना

मंसिर ११, २०८२ २१:२

एआई कन्सोर्टियम टिम गठन गर्दै काठमाडौँ महानगर, विज्ञहरूलाई सहभागी हुन आह्वान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को रणनीतिक प्रयोग र संस्थागत विकासका लागि ‘एआई कन्सोर्टियम’ टिम गठन गर्ने भएको छ । यसका लागि महानगरले सम्बन्धित क्षेत्रका इच्छुक विज्ञ तथा अनुभवी व्यक्तिहरूसँग आवेदन (आशय पत्र) माग गरेको छ ।

महानगरको नीति तथा कार्यक्रममा समेत समावेश यो योजना अन्तर्गत दिगो शासन प्रणाली, स्मार्ट सार्वजनिक सेवा प्रवाह र व्यवस्थित सहरी अर्थतन्त्र निर्माण गर्ने दीर्घकालीन उद्देश्य राखिएको छ ।

सोही उद्देश्य प्राप्तिका लागि महानगरले एआई, डेटा साइन्स, सफ्टवेयर/सिस्टम डेभलपमेन्ट, डिजिटल गभर्नेन्स, नीति तथा कानुन, शिक्षा र नवप्रवर्तन (इनोभेसन) लगायतका क्षेत्रमा कार्यरत जनशक्तिलाई टिममा आबद्ध गराउने तयारी गरेको हो ।

टिमको संरचना र कार्यान्वयनसम्बन्धी प्रारम्भिक छलफल तथा सुझाव सङ्कलनका लागि महानगरले यही मङ्सिर १४ गते बिहान ११ बजे काठमाडौँ प्लाजाको पाँचौँ तलामा रहेको सभा हलमा विशेष कार्यक्रम आयोजना गरेको छ ।

यस अभियानमा जोडिन चाहने इच्छुक विज्ञहरूले महानगरले उपलब्ध गराएको अनलाइन लिङ्कमार्फत आफ्नो नाम दर्ता गराउन सक्ने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर ११, २०८२ २१:३