close

चांगानले किन्यो हुन्डाईको चिनियाँ प्लान्ट, अब दीपल ईभी उत्पादन हुने

टेकपाना टेकपाना

मंसिर १३, २०८२ १७:५२

चांगानले किन्यो हुन्डाईको चिनियाँ प्लान्ट, अब दीपल ईभी उत्पादन हुने

काठमाडौँ । चांगानले चीनमा रहेको हुन्डाईको प्लान्ट अधिग्रहण गरेको छ । बेइजिङ हुन्डाईको चोंगकिंगस्थित कारखानालाई चांगानले खरिद गरेर दीपल ब्रान्डका सवारीसाधनको उत्पादनमा उपयोग गर्नेछ ।

चांगानको उत्पादन क्षमता सीमा नजिक पुगिसकेकाले उसलाई आफ्नो उत्पादन क्षमता बढाउनु पर्ने थियो । द इकोनोमिक अब्जर्भरले प्लान्टको स्वामित्व परिवर्तनबारे सार्वजनिक गरेको केही दिनमा दीपलले यसलाई पुष्टि गरेको हो ।

यो प्लान्ट पहिले बेइजिङ हुन्डाईको पाँच मध्येको एक उत्पादन केन्द्र थियो । सन् २०१५ मा निर्माण सुरु भई २०१७ अगस्टबाट उत्पादन थालेको यो प्लान्ट १८.७ लाख वर्ग मिटरमा फैलिएको छ । यसको प्रारम्भिक लगानी १.१ अर्ब डलर रहेको थियो । यसको वार्षिक उत्पादन क्षमता तीन लाख युनिट रहेको छ । तर यो कारखाना डिसेम्बर २०२१ देखि  बन्द अवस्थामा रहेको थियो ।

हाल दीपलका ईभीहरू नानजिंग र बेइजिङस्थित प्लान्टमा उत्पादन हुँदै आएको छ । नयाँ प्लान्ट थपिएसँगै कम्पनीको उत्पादन क्षमता र बजार प्रभाव विस्तार हुने बताइएको छ ।

यो वर्ष अक्टोबर महिनामा दीपल ईभीको बिक्री अघिल्लो वर्षको तुलनामा ५७.१ प्रतिशतले वृद्धि भएको रिपोर्ट छ ।

चांगानले दीपललाई विश्वभर विस्तार गर्ने लक्ष्य राखेर युरोप र दक्षिण अमेरिकामा आफ्ना मोडेलहरू सार्वजनिक गर्दै आएको छ । दीपलको एस०५ र एस०७ हालै जर्मनी, बेलायत, फ्रान्स लगायतका युरोपेली मुलुकमा सार्वजनिक भएको थियो । केही दिनअघि यो ब्रान्ड ब्राजिलमा पनि लन्च गरिएको थियो ।

 

पछिल्लो अध्यावधिक: मंसिर १३, २०८२ १९:४