च्याटजीपीटीमा एडल्ट मोड थपिँदै, वयस्क प्रयोगकर्ताले पाउने छन् यस्ता सुविधा
मंसिर २६, २०८२ १२:२४
काठमाडौँ । ओपन एआईले वयस्क प्रयोगकर्ताहरूका लागि च्याटजीपीटीमा Adult Mode (एडल्ट मोड) नामक नयाँ सुविधा थप गर्ने भएको छ । कम्पनीको एप्लिकेसन्सका सीईओ फिजी सिमोका अनुसार यो मोड २०२६ को पहिलो त्रैमासिकमा सुरु हुने अपेक्षा गरिएको छ ।
ओपनएआईले यसलाई 'वयस्क प्रयोगकर्ताहरूसँग वयस्क जस्तै व्यवहार गर्ने' नीतिको रूपमा चर्चा गरेको छ । यो नयाँ प्रयोग च्याटबटमाथि लगाइएका कडा सुरक्षा नियन्त्रणहरू (गार्डरेल्स) को प्रतिक्रिया स्वरूप आएको हो, जसले धेरै प्रयोगकर्ताका लागि एआई कम उपयोगी वा कम रमाइलो लागेको गुनासो सम्बोधन गर्नेछ । धेरै प्रयोगकर्ताहरूले एआईले उनीहरूलाई बालबालिकालाई जस्तो व्यवहार गरेको महसुस भएको बताउने गरेका छन् ।
यस्ता हुनेछन्, विशेषता
यो मोडले भेरिफाइड वयस्क प्रयोगकर्ताहरूलाई यौन साहित्य (erotica), रोमान्स र कामुक कथा लेखन जस्ता एडल्ट सामग्री सिर्जना गर्न र पढ्न अनुमति दिनेछ । प्रयोगकर्तालाई बालबालिकालाई जस्तो व्यवहार गर्ने गार्डरेलको नियन्त्रण बाहिर राख्नु यो मोडको उद्देश्य हो । यसले गर्दा प्रयोगकर्ताहरूले हिंसा वा यौनको बारेमा खुलेर सामग्री सिर्जना गर्न सक्छन् ।
एडल्ट मोडले कुराकानीमा बढी स्वतन्त्रता र यथार्थपन ल्याउनेछ । प्रयोगकर्ताहरूले आफ्नो जीवनसँग सम्बन्धित, तर साथीहरू वा चिकित्सकहरूसँग कुरा गर्न नचाहेको विषयहरूमा पनि संवाद गर्न सक्नेछन् ।
यो अपडेटले वयस्क प्रयोगकर्ताहरूलाई च्याटबटसँग अन्तरक्रिया गर्ने तरिकामा थप स्वतन्त्रता दिनेछ । प्रयोगकर्ताहरूले आफ्नो एआई असिस्टेन्टको व्यक्तित्व (personality) कस्टमाइज गर्न सक्नेछन् । जसमा थप मानवीय वा साथीजस्तो व्यवहार गर्ने 'फ्रेन्ड मोड' पनि समावेश हुने बताइएको छ ।
केही प्रयोगकर्ताहरूले यो मोड सक्रिय भएपछि मानसिक स्वास्थ्य (डिप्रेसन) जस्ता संवेदनशील विषयहरूमा पनि छलफल गर्न सजिलो हुने आशा गरेका छन् ।
यद्यपि यो अपडेटको लक्ष्य 'च्याटजीपीटी पोर्न' सुविधा उपलब्ध गराउनु भने नरहेको ओपनएआईले स्पष्ट पारेको छ । प्लेटफर्ममा नयाँ अपडेट पश्चात् पनि केही कडा प्रतिबन्ध तथा सीमाहरू लागु हुनेछन् ।
यो मोडमा पहुँच पाउन प्रयोगकर्ताहरूले अनिवार्य रूपमा आफ्नो उमेर प्रमाणित गर्नुपर्नेछ । ओपनएआईले उमेर पहिचानका लागि बलियो चेक-जाँच र मनिटरिङ टुल प्रयोग गर्ने योजना बनाएको छ । यसका लागि कम्पनीले व्यवहारमा आधारित उमेर अनुमान गर्ने प्रविधि पनि विकास गरिरहेको छ ।
नाबालिग, गैरकानुनी कार्य वा असहमति जन्य यौन विषयवस्तु समावेश भएका सामग्रीहरू पूर्ण रूपमा प्रतिबन्धित रहनेछन् । धेरैजसो एडल्ट सुविधाहरूमा पहुँच नियन्त्रण गर्न र जोखिम कम गर्नका लागि शुल्क तिरेर वा प्रमाणित गरिएका प्रयोगकर्ताका लागि मात्र उपलब्ध हुने सम्भावना रहेको छ ।
पछिल्लो अध्यावधिक: मंसिर २६, २०८२ १२:२४
