close

५ करोडको लोभ देखाउँदा पनि बिक्न मानेनन् जनकपुरका खेलाडी, फिक्सर जोडी यसरी पर्‍यो फन्दामा !

टेकपाना टेकपाना

मंसिर २७, २०८२ १५:४४

५ करोडको लोभ देखाउँदा पनि बिक्न मानेनन् जनकपुरका खेलाडी, फिक्सर जोडी यसरी पर्‍यो फन्दामा !

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन चलिरहँदा ‘स्पट फिक्सिङ’ को प्रयास गर्ने एक जोडी जनकपुर बोल्ट्सका खेलाडीको इमानदारिता र तत्परताका कारण प्रहरी फन्दामा परेको खुलेको छ । सट्टेबाजीमार्फत आम्दानी गर्ने उद्देश्यले नेपाल आएका भारतीय नागरिक दिलप्रित सिंह र नेपाली युवती रेविकासिंह ठकुरीले खेलाडीलाई म्याच फिक्सिङको प्रस्ताव राखेपछि यो रहस्य बाहिर आएको हो ।

२१ मंसिरमा जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा दायर गरेको अभियोगपत्र अनुसार यस प्रकरणको सुरुवात ३० कात्तिक २०८२ मा भएको थियो । सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘ruby-2075’ नामक अकाउन्टबाट खेलाडीलाई ‘R-U-B-B-y T-H-A-K-U-R’ नामको प्रयोगकर्ताले मेसेज पठाएकी थिइन् । मेसेजमा “हामी खेलाडीलाई स्पोनसरशिप गर्छौं । के म तपाईँको नम्बर पाउन सक्छु ? वा तपाईँ फुर्सदमा भएको बेला भेट्न सक्नुहुन्छ ? हामी केही विषयमा छलफल गर्नेछौँ जुन दुवैका लागि फाइदाजनक हुनेछ,” भनिएको थियो ।

जवाफमा खेलाडीले “कस्तो खालको स्पोन्सरशिप हो ?” भनी सोधेका थिए । स्पोन्सरशिपको बहानामा नजिकिएका उनीहरूलाई खेलाडीले आफू बस्दै आएको लाजिम्पाटस्थित होटल दुसित प्रिन्सेसमा भेट्न बोलाएका थिए ।

होटलको लबीमा भएको भेटमा रेविका सिंह ठकुरीसँगै दिलप्रित सिंह पनि पुगेका थिए । सुरुमा खेलाडीलाई स्पोन्सरशिप दिने भनिए पनि कुराकानीका क्रममा उनीहरूले वास्तविक नियत खुलाए । यस योजनामा मुख्य भूमिका दिलप्रित सिंहको थियो भने रेविकाले सहयोगीको भूमिका निर्वाह गरेकी थिइन् । 

दिलप्रितले आफू भारतमा क्रिकेट खेलेको बताउँदै खेलका क्रममा कसरी साङ्केतिक इशारा गर्ने र ‘रन आउट’ हुने भन्ने तरिका समेत सिकाएका थिए । सुरुमा चारदेखि पाँच लाख रुपैयाँ दिने भनिए पनि खेलाडीलाई प्रलोभनमा पार्न उनीहरूले रकम बढाएर एक करोडदेखि पाँच करोडसम्मको प्रस्ताव गरेका थिए ।

खेलाडीको बयान अनुसार उनीहरूले ओभरको बीचमा साङ्केतिक तवरले कुरा गरी रनआउट हुने सर्त राखेका थिए । तर, जनकपुर बोल्ट्सका ती ब्याट्सम्यानले यो कार्य गैरकानुनी र खेल भावना विपरीत भएको भन्दै ठाडै अस्वीकार गरे । उनले आफूले उनीहरूबाट कुनै पनि आर्थिक लाभ नलिएको र उनीहरूको प्रस्ताव सुन्नासाथ प्रहरीलाई खबर गरेको बताएका छन् । खेलाडीले उपलब्ध गराएको इन्स्टाग्राम र ह्वाट्सएपको च्याट तथा घटनाको बेलिविस्तारका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानबाट खुले अनुसार पक्राउ परेका सिंह र ठकुरीले नेपालमा प्रतिबन्धित अनलाइन गेमिङ साइटहरू ‘स्टेक डट कम’, ‘बेटबुक २५० डट कम’ र ‘किङ’ जस्ता प्लेटफर्म प्रयोग गरी हारजित हुने गरी सट्टेबाजी गराउँदै आएका थिए । सोही अवैध खेलमार्फत रकम आर्जन गर्न उनीहरूले एनपीएलका खेलाडीलाई प्रभावमा पार्ने प्रयास गरेका हुन् । खेलाडीको सूचना लगत्तै सक्रिय भएको प्रहरीले उनीहरूलाई १ मङ्सिरमा लाजिम्पाट क्षेत्रबाट पक्राउ गरेको थियो ।

सरकारी वकिलको कार्यालय काठमाडौँले गएको आइतबार काठमाडौँ जिल्ला अदालतमा उनीहरू विरुद्ध मुद्दा दायर गरेको छ । उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा (६) बमोजिम जुवा खेल्न वा खेलाउन नहुने कसुरमा सजायको मागदाबी गरिएको छ । 

 



 

पछिल्लो अध्यावधिक: मंसिर २७, २०८२ १५:४४