बिजुली बढी उत्पादन हुने समयमा क्रिप्टो माइनिङ गर्नेबारे अध्ययन थाल्न राष्ट्र बैंकलाई सुझाव
पुस ८, २०८२ १८:४
एआईको सहयोगमा तयार पारिएको तस्बिर
काठमाडौँ । बैंकिङ क्षेत्र सुधारका लागि गठित कार्यदलले नेपालमा बिजुली बढी उत्पादन हुने समयमा क्रिप्टो माइनिङ गर्दा हुन सक्ने फाइदा र जोखिमबारे विस्तृत अध्ययन गर्न नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ।
राष्ट्र बैंक आफैँले गठन गरेको सो कार्यदलले बुझाएको प्रतिवेदनमा प्रतिवेदनमा क्रिप्टो करेन्सीका विविध पक्षबारे निरन्तर अनुसन्धान गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
हाल नेपालमा बर्खाको समयमा बढी भएको बिजुली भारत र बंगलादेशमा निर्यात गर्ने गरिएको छ । कार्यदलले भने उक्त बिजुलीलाई स्वदेशमै क्रिप्टो माइनिङमा प्रयोग गर्दाका विविध पाटा केलाउन राष्ट्र बैंकलाई सुझाएको हो ।
यसैगरी, कार्यदलले 'सेन्ट्रल बैंक डिजिटल करेन्सी' (सीबीडीसी) जारी गर्ने सम्बन्धमा हतार नगर्न सचेत गराएको छ । अन्तर्राष्ट्रिय अनुभवहरूलाई आधार मानी यसको लागत र लाभको ठोस विश्लेषण (Cost Benefit Analysis) गरेर मात्र निर्णय लिन प्रतिवेदनमा भनिएको छ ।
कार्यदलले राष्ट्र बैंकभित्रै छुट्टै साइबर सुरक्षा विभाग स्थापना गर्नुपर्नेमा जोड दिएको छ । सूचना प्रविधि, साइबर सुरक्षा र भुक्तानी प्रणालीलाई सुरक्षित बनाउन दक्ष जनशक्तिलाई सिधै प्रवेश गराएर भए पनि विज्ञहरूको टिम बनाउनुपर्ने प्रतिवेदनको सुझाव छ । यो विभागले बैंक तथा वित्तीय संस्थाहरूको निरीक्षण र सुपरिवेक्षणमा समेत प्राविधिक सहयोग पुर्याउनुपर्ने उल्लेख छ ।
कार्यदलले आगामी एक वर्षभित्र राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थाहरूको सम्पूर्ण पत्राचार र आन्तरिक प्रशासनिक कार्यहरू अनलाइन माध्यमबाटै हुने व्यवस्था गर्न सल्लाह दिएको छ । ग्राहकको सहजताका लागि बैंकहरूको ब्याजदर र सेवा शुल्कको तुलनात्मक तालिका राष्ट्र बैंक, नेपाल बैंकर्स संघ र अन्य सम्बन्धित संघहरूको वेबसाइटमा सजिलै हेर्न मिल्ने गरी राख्न पनि सुझाव दिइएको छ ।
राष्ट्र बैंकको सञ्चालक समितिले ३० जेठ २०८२ मा डा. रेवत बहादुर कार्कीको संयोजकत्वमा यो कार्यदल गठन गरेको थियो । समितिमा भुवन कुमार दहाल र गुरुप्रसाद पौडेल सदस्य थिए । एक महिनाभित्र ६ ओटा विशेष क्षेत्रमा केन्द्रित रहेर सुझाव दिन दिइएको जिम्मेवारी अनुसार कार्यदलले यो प्रतिवेदन बुझाएको हो ।
पछिल्लो अध्यावधिक: पुस ८, २०८२ १८:४५
