close

लबिम मलले २ करोडको कार उपहार दिने भन्दै गरिएको स्क्याम पोस्टमा एक लाख बढी कमेन्ट

टेकपाना टेकपाना

पुस ९, २०८२ ११:२५

लबिम मलले २ करोडको कार उपहार दिने भन्दै गरिएको स्क्याम पोस्टमा एक लाख बढी कमेन्ट

काठमाडौँ । क्रिसमसको अवसरमा दुई करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने विलासी कार उपहार दिने प्रलोभन देखाएर लाखौँ नेपाली प्रयोगकर्तालाई भ्रममा पार्ने एउटा नक्कली फेसबुक पेजको पोस्ट एकाएक गायब भएको छ । लबिम मलको नाममा खोलिएको उक्त अनधिकृत पेजले फेसबुक पोस्टमा कमेन्ट गर्नेमध्ये एक जनालाई ‘ल्यान्ड क्रुजर’ कार उपहार दिने भ्रामक विज्ञापन सार्वजनिक गरेको थियो ‍। 

सोमबारदेखि भाइरल भएको उक्त पोस्ट बुधबार बिहानै फेसबुकबाट हटेको छ । छोटो समयमै एक लाखभन्दा बढी कमेन्ट, हजारौँ रियाक्सन र शेयर प्राप्त गरेको उक्त पोस्टमा प्रयोगकर्तालाई आकर्षित गर्न ‘हाइलाइट’ मेन्सन फिचरको दुरुपयोग गरिएको थियो । 

यो फिचरका कारण कमेन्ट गर्ने व्यक्तिका सबै साथी तथा फलोअरलाई सम्बन्धित पोस्टको नोटिफिकेसन जाने भएकाले यो सामग्री तीव्र गतिमा फैलिएको थियो । टेकपाना फ्याक्टचेक डेस्कले गरेको तथ्यजाँचबाट उक्त पोस्ट मिथ्या भएको र अनाधिकृत पेजबाट झुक्याउने उद्देश्यका साथ विज्ञापन गरिएको पुष्टि भएको थियो ।  

उक्त पेजले उपहारको प्रलोभन देखाउँदै कमेन्ट गर्नेलाई मेसेज पठाएर ‘तपाईँ छनोट हुनुभएको छ’ भन्दै दर्ताका लागि शंकास्पद लिङ्क पठाउने र फोन नम्बर तथा इमेल जस्ता व्यक्तिगत विवरण समेत माग्ने गरेको पाइएको छ ।

टेकपानाले गरेको अनुसन्धानका क्रममा उक्त पेजले पठाएको लिङ्क ‘मालभर्टाइजिङ’ भएको पुष्टि भएको छ । यसमा क्लिक गर्दा सुरुमा लबिम मलको आधिकारिक वेबसाइट जस्तै देखिने नक्कली वेबसाइट खुल्ने र त्यसपछि प्रयोगकर्तालाई विभिन्न बेटिङ साइट, एडल्ट साइट वा भाइरस तथा मालवेयर वितरण गर्ने खतरनाक वेब एड्रेसमा पुर्‍याउने गरिएको थियो । 

एकै दिनमा फलोअर ३ हजारबाट १२ हजार फलोअर पुर्‍याउन सफल सो पेजको ट्रान्सपरेन्सी सेक्सनमा एड्मिनको सङ्ख्या र उनीहरूको लोकेसन समेत लुकाइएको पाइएको छ । कार पाउने आशामा हजारौँ नेपाली प्रयोगकर्ताले कमेन्ट गर्नुका साथै पोस्ट विभिन्न ग्रुप र आफ्नो फिडमा शेयर गरेका थिए । त्यस बाहेक पेजको रिभ्यु सेक्सनमा प्रायः सबैले लबिम मलको उपहार दिने योजनाको प्रशंसा गर्दै रिभ्यु दिएका छन् । कार उपहार दिने लोभ देखाएर स्क्याम लिङ्क फैलाउने पेजको भ्रामक पोस्ट अहिले पूर्ण रूपमा गायब भएको छ ।

पछिल्लो अध्यावधिक: पुस ९, २०८२ ११:२८