आन्दोलनबाट क्षतिग्रस्त यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई नाईमाको सहयोग
पुस ९, २०८२ १६:३७
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा क्षति पुगेका सरकारी निकायहरूलाई आपतकालीन सहयोग उपलब्ध गराएको छ । नाईमाले यातायात व्यवस्था विभाग र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा कार्यालय सामग्री सहयोग गरी मंगलबार औपचारिक रूपमा हस्तान्तरण गरेको हो ।
एसोसिएसनका अध्यक्ष रितु सिंह वैद्य, बोर्ड सदस्य यमुना श्रेष्ठ र कार्यकारी निर्देशक राजकुमार दुलालसहितको टोलीले सम्बन्धित कार्यालयका प्रमुखहरूलाई उक्त सहयोग हस्तान्तरण गरेको थियो ।
सहयोग अन्तर्गत नाईमाले यातायात व्यवस्था विभाग, मीनभवनको मुख्य भवनका सम्पूर्ण क्षतिग्रस्त झ्याल तथा ढोकाहरूको पुनर्निर्माण गरिदिएको छ । यस्तै, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई आवश्यक फर्निचर, फर्निसिङका सामग्री सहित कम्प्युटर र प्रिन्टर जस्ता प्राविधिक उपकरणहरू उपलब्ध गराइएको एसोसिएसनका कार्यकारी निर्देशक राजकुमार दुलालले जानकारी दिए ।
हस्तान्तरण कार्यक्रममा बोल्दै यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले संकटको समयमा प्राप्त यस सहयोगका कारण विभागले पुनः आफ्नै कार्यालयबाट सेवा सुचारु गर्न सफल भएको भन्दै आभार व्यक्त गरे । त्यस्तै, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नवराज अधिकारीले नाईमालाई ट्राफिक शिक्षा र व्यवस्थापनको एक भरपर्दो सहयात्रीको रूपमा चित्रण गर्दै प्राप्त सहयोगको प्रशंसा गरे ।
नाईमाकी अध्यक्ष रितु सिंह वैद्यले सार्वजनिक सेवा प्रवाहमा संलग्न निकायहरूसँग सहकार्य गर्नु संस्थाको कार्यगत अवधारणा रहेको बताउँदै आगामी दिनमा पनि यस्ता साझेदारीलाई निरन्तरता दिने प्रतिबद्धता जनाइन् । आन्दोलनका क्रममा यी दुवै कार्यालयका भौतिक संरचना र उपकरणमा गम्भीर क्षति पुगेको थियो ।
पछिल्लो अध्यावधिक: पुस ९, २०८२ १६:३७
