काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा लुम्बिनी लायन्सलाई च्याम्पियन बनाउँदै सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित भएका कप्तान रोहित पौडेलले ५७ लाख रुपैयाँ मूल्य पर्ने प्रिमियम इलेक्ट्रिक कार ‘जेइको जे-फाइभ’ (Jaecoo J5) प्राप्त गरेका छन् । प्रतियोगिताभर सानदार प्रदर्शन गरेका रोहितले हालै आयोजित एक कार्यक्रमका बीच सो कारको साँचो बुझेका हुन् ।
लुम्बिनी लायन्सको नेतृत्व गर्दै उपाधि जिताउन रोहितले ब्याटिङ र बलिङ दुवै क्षेत्रमा उत्कृष्ट छाप छोडे । उनले प्रतियोगिताभर कुल २७६ रन बनाउनुका साथै १० विकेट लिएर ‘प्लेयर अफ द सिरिज’ (नेपाली विधा) को उपाधि जितेका थिए ।
प्रिमियम कार उपहार पाएपछि रोहितले विद्युतीय सवारीप्रतिको आफ्नो रुचि र नयाँ गाडीको अनुभवबारे खुसी व्यक्त गरेका छन् । विद्युतीय गाडीले वातावरण जोगाउन र प्रदूषण कम गर्न मद्दत गर्ने भएकोले आफूलाई ईभी मनपर्ने उनले उल्लेख गरे । "ईभीले ग्रिनरी (हरियाली) लाई सहयोग गर्छ र प्रदूषण हुँदैन । त्यसैले मलाई यो मनपर्छ," उनले भने । यसअघि आफूले चलाएको गाडीको तुलनामा ‘जेइको जे-फाइभ’ निकै प्रिमियम, ठुलो र अत्याधुनिक फिचरले भरिएको भन्दै उनले खुसी व्यक्त गरे । उनले गाडीको लुक्स, मूनरुफ र भित्री बनावटको पनि प्रशंसा गरे ।
कस्तो छ रोहितले जितेको कार ?
जेइको जे-फाइभ एक प्रिमियम इलेक्ट्रिक एसयूभी हो । यसको डिजाइनलाई कतिपयले ‘रेन्ज रोभर’सँग समेत तुलना गर्ने गरेका छन् । सहरी यात्रा र हल्का अफ-रोडका लागि समेत उपयुक्त मानिएको यो गाडीमा १५५ किलोवाटको मोटर र ५८.९ किलोवाटआवरको ब्याट्री छ । कम्पनीका अनुसार यसले एक पटकको पूर्ण चार्जमा ४०० किलोमिटरसम्मको रेन्ज दिन्छ । सुरक्षा र प्रविधिको हिसाबले पनि यो गाडी निकै अगाडि छ । यसमा लेभल टु एडास (ADAS), ५४०-डिग्री क्यामरा, प्यानोरोमिक सनरुफ र भेन्टिलेटेड सिट जस्ता सुविधाहरू छन् ।
गाडीको आधिकारिक विक्रेता एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारदाले नेपाली क्रिकेटलाई प्रोत्साहन गर्न र खेलाडीको मनोबल बढाउन उत्कृष्ट खेलाडीलाई कार प्रदान गरिएको बताए । च्याम्पियन्स ड्रिभन बाई च्याम्पियन्स भन्ने नाराका साथ अगाडि बढेको कम्पनीले अघिल्लो सिजनमा पनि उत्कृष्ट खेलाडी दीपेन्द्रसिंह ऐरीलाई ओमोडा ई-फाइभ कार प्रदान गरेको थियो ।
पछिल्लो अध्यावधिक: पुस १२, २०८२ १६:२९
