close

नेपाल टेलिकमको एफटीटीएच क्षमता २२ लाख ३७ हजार नाघ्यो, ४३१ स्थानीय तहमा विस्तार हुँदै

टेकपाना टेकपाना

पुस १४, २०८२ १३:४०

नेपाल टेलिकमको एफटीटीएच क्षमता २२ लाख ३७ हजार नाघ्यो, ४३१ स्थानीय तहमा विस्तार हुँदै

काठमाडौँ । नेपाल टेलिकमले फाइबर टु द होम (एफटीटीएच) प्रविधिको एनटी फाइबर सेवाको वितरण क्षमता बढाएको छ । टेलिकमको पछिल्लो तथ्याङ्क अनुसार देशभर एफटीटीएच वितरण क्षमता २२ लाख ३७ हजार ४० पुगेको छ ।

गत असार मसान्तसम्म २१ लाख ७४ हजार ६४ लाइन वितरण क्षमता रहेकोमा चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म आइपुग्दा यो क्षमतामा विस्तार भएको हो । टेलिकमको वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयका अनुसार देशभर हालसम्म चार हजार ९६५ ओटा फाइबर डिष्ट्रिब्युसन क्याबिनेट (एफडीसी) निर्माण गरी कुल २५ लाखभन्दा बढी लाइन वितरण गर्न सक्ने गरी योजना कार्यान्वयन भइरहेको छ ।

टेलिकमले हाल देशका ४३१ स्थानीय निकायमा एफटीटीएच सेवा पुर्‍याउने लक्ष्यका साथ काम गरिरहेको छ । जसमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २३६ नगरपालिका र १७६ गाउँपालिका समेटिएका छन् ।

निर्देशनालय अन्तर्गतको आयोजना कार्यान्वयन विभाग (पूर्व र पश्चिम) ले चालू आर्थिक वर्ष २०८२/०८३ मा सातै प्रदेशमा गरी दुई लाख १४ हजार ३४४ एफटीटीएच पोर्ट र ४५३ एफडीसी निर्माण गर्ने लक्ष्य राखेको छ । जसमध्ये गत कात्तिक मसान्तसम्म ६२ हजार ९७६ लाइन वितरण क्षमता विस्तार भइसकेको छ, जुन वार्षिक लक्ष्यको २९.३८ प्रतिशत हो ।

टेलिकमले सार्वजनिक गरेको २०८२ असोज महिनाको एमआईएस रिपोर्ट अनुसार एफटीटीएच सेवाका ग्राहकहरूको संख्यामा पनि वृद्धि देखिएको छ । असोज मसान्तसम्म एफटीटीएच भ्वाइसतर्फ तीन लाख ९७ हजार ५०५, डेटातर्फ तीन लाख ६४ हजार ९१४ र आईपीटीभीतर्फ ७२ हजार ६११ प्रयोगकर्ता पुगेका थिए ।

कम्पनीले ‘एनटी फाइबर’ ब्रान्ड नाममा यो सेवा वितरण गरिरहेको छ । एउटै फाइबरबाट भ्वाइस, इन्टरनेट र टेलिभिजन सेवाका साथै मोबाइल डेटा समेत चलाउन सकिने अफरका कारण यो सेवा लोकप्रिय बनिरहेको टेलिकमले जनाएको छ ।

पछिल्लो अध्यावधिक: पुस १४, २०८२ १४:२२