यस्तो छ अन्तर्राष्ट्रिय स्पर्धामा तेस्रो बनेको नास्टको आईटी ल्याब तथा बस बारेको भिडिओ
पुस १७, २०८२ १२:३
काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को सूचना पहुँच केन्द्रले गरेका कामहरू समेटेर तयार पारिएको भिडिओले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा तेस्रो स्थान हासिल गरेको छ । कोरियाको राष्ट्रिय सूचना समाज एजेन्सीले ३७ देशबिच गराएको प्रतिस्पर्धामा नेपालले तेस्रो स्थान हात पारेको हो ।
नास्टको सूचना पहुँच केन्द्रका संयोजक प्रदीप ढोडारीका अनुसार डिसेम्बर २०२० मा कोरियाको राष्ट्रिय सूचना समाज एजेन्सीको प्राविधिक सहयोगमा नास्टमा सूचना पहुँच केन्द्र स्थापना गरिएको थियो । एजेन्सीको सहयोगमा सूचना प्रविधि ल्याब तथा सूचना पहुँच केन्द्रको रूपमा आईसीटी बस सञ्चालनमा ल्याइएको उनले बताए ।
कोरियाली सरकारले नेपालमा जस्तै ४५ देशमा यस्ता केन्द्र बनाएको छ । ती केन्द्रहरूले हालसम्म गरेका कामहरू उल्लेख गर्दै भिडिओ सामग्री तयार पारेर एक अर्कासँग प्रतिस्पर्धा गराइएको हो ।
सोही प्रतिस्पर्धामा नेपाल तेस्रो भएको हो । ढोडारीले भने, “एक महिनाको समय दिएर केन्द्रले सफलता पूर्वक गरेको कामलाई मन छुने किसिमको ३ देखि ५ मिनेट लामो भिडिओ सामाग्री तयार पार्न भनिएको थियो । प्रतिस्पर्धामा ३७ वटा देश सहभागी भएका थिए ।”
केन्द्रले दृष्टिविहीन हरूका लागि दैनिक जीवनमा उपयोगी हुने आधुनिक उपकरणहरू उपलब्ध गराउँदा पुगेको फाइदा, घुम्ती सूचना पहुँच केन्द्र (आईसीटी बस) मार्फत सरोकारवालाहरूलाई सूचना प्रविधि सम्बन्धी तालिम प्रदान गरेको लगायतका कथा समेटेर भिडिओ तयार पारेको थियो ।
उक्त प्रतिस्पर्धामा मङ्गोलिया पहिलो र कोलम्बिया दोस्रो भए । बिजेताहरूले क्रमशः तीन हजार, दुई हजार र एक हजार अमेरिकी डलर पुरस्कार पाएका छन् ।
नास्टको सूचना प्रविधि ल्याब र सूचना पहुँच केन्द्र बस मार्फत १२ हजार बढीलाई निःशुल्क सूचना प्रविधि सम्बन्धी विभिन्न तालिमहरू प्रदान गरिसकेको संयोजक ढोडारीले बताए । उनले भने, “यो प्रतिस्पर्धामा पुरस्कृत भएपछि थप तालिम प्रदान गर्न हामीलाई झनै प्रेरित गरेको छ ।”
यस्तो छ प्रतिस्पर्धामा तेस्रो बनेको भिडिओः
पछिल्लो अध्यावधिक: पुस १७, २०८२ १२:११
