एआईमार्फत नग्न तस्विर सिर्जना गर्ने कार्य तत्काल रोक्न एलन मस्कको एक्सलाई भारतको चेतावनी
पुस २०, २०८२ ११:२०
काठमाडौँ । भारत सरकारले एलन मस्कको सामाजिक सञ्जाल एक्स (पहिलेको ट्वीटर) लाई त्यसको एआई च्याटबट ग्रोकमा तत्काल प्राविधिक र प्रक्रियागत सुधार गर्न कडा निर्देशन दिएको छ । प्रयोगकर्ता र सांसदहरूले ग्रोक मार्फत महिलाहरूको अश्लील फोटोहरू बनाइएको भन्दै आपत्ति जनाएपछि सरकारले यो कदम चालेको हो ।
शुक्रबार भारतको सूचना प्रविधि मन्त्रालयले जारी गरेको आदेशमा एक्सलाई नग्नता, यौनजन्य, अश्लील वा गैरकानुनी सामग्रीको उत्पादनमा तुरुन्त रोक लगाउन निर्देशन दिएको छ । मन्त्रालयले यी सामग्रीहरू रोक्नका लागि चालिएका कदमहरूको विस्तृत 'एक्सन टेकन रिपोर्ट' बुझाउन कम्पनीलाई ७२ घण्टे अल्टिमेटम दिएको हो ।
यदि एक्सले यो आदेश पालना नगरेमा उसले भारतीय कानुन अन्तर्गत पाउने 'सेफ हार्बर' सुरक्षा गुमाउन सक्ने स्पष्ट चेतावनी भारत सरकारको छ । यो सुरक्षा गुम्नुको अर्थ एक्स अब प्रयोगकर्ताहरूले पोस्ट गर्ने सामग्रीका लागि कानुनी रूपमा जिम्मेवार हुनेछ र यसले उक्त प्लेटफर्मलाई कानुनी संरक्षणबाट वञ्चित गर्नेछ ।
ग्रोक प्रयोग गरी महिलाहरूको फोटोलाई एआई मार्फत बिकिनी लगाएको जस्तो देखिने गरी परिवर्तन गरिएको भन्दै भारतीय सांसद प्रियंका चतुर्वेदीले औपचारिक उजुरी नै दर्ता गरेकी थिइन् । त्यससँगै भारतको संसद्मा यस विषयले उच्च प्राथमिकता पाएको थियो ।
यो एआई टुलले नाबालिगहरूसँग सम्बन्धित यौनजन्य तस्बिरहरू समेत उत्पादन गरेको देखाएका थिए । एक्सले सुरक्षामा कमजोरी भएको स्वीकार गर्दै त्यस्ता तस्बिरहरू हटाएको बताए पनि महिलाहरूलाई बिकिनीमा देखाउने एआई निर्मित तस्बिरहरू अझै पनि प्लेटफर्ममा उपलब्ध छन् ।
भारतको आईटी मन्त्रालयले सोमबार मात्रै सबै सामाजिक सञ्जालहरूलाई स्थानीय कानुन पालना गर्न र आन्तरिक सुरक्षा प्रणाली मजबुत बनाउन एउटा विस्तृत निर्देशिका जारी गरेको थियो । त्यसमा सरकारले भनेको छ, "नियम उल्लङ्घन गर्ने प्लेटफर्म, यसका जिम्मेवार अधिकारी र प्रयोगकर्ताहरू विरुद्ध बिना कुनै सूचना सूचना प्रविधि कानुन र फौजदारी संहिता अन्तर्गत कडा कानुनी कारबाही गरिनेछ ।"
भारत अहिले एआई सामग्रीको नियमनका लागि विश्वकै एक प्रमुख 'टेस्ट केस' को रूपमा उभिएको छ । यहाँको कडा नियमनले विश्वभर सञ्चालनमा रहेका अन्य प्रविधि कम्पनीहरूलाई पनि असर गर्न सक्छ । अर्कोतर्फ, एक्सले भारत सरकारको सामग्री हटाउने अधिकारको विरोधमा अदालतमा मुद्दा लडिरहेको भए पनि अधिकांश निर्देशनहरू भने पालना गर्दै आएको छ ।
हालसम्म यस विषयमा मस्कको कम्पनी एक्स वा एक्सएआईबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन ।
पछिल्लो अध्यावधिक: पुस २०, २०८२ ११:२०
