काठमाडौँ । डिशहोम गोले आफ्ना ग्राहकका लागि तीन नेपाली चलचित्र ‘पे पर भ्यु’ सेवा अन्तर्गत उपलब्ध गराएको छ । हलमा चलचित्र हेर्न छुटाएका दर्शकहरूलाई लक्षित गर्दै कम्पनीले ‘सेन्टी भाइरस’, ‘डेसान’ र शर्टफिल्म ‘दुई चार दिन’ प्रदर्शनमा ल्याएको हो ।
चुनावी माहोल, राजनीतिक दाउपेच र हास्यव्यङ्ग्यले भरिएको चलचित्र ‘सेन्टी भाइरस’ ले दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछ । त्यस्तै, अर्को चलचित्र ‘डेसान’ ले सामाजिक सञ्जालको दुरुपयोगका कारण समाजमा उत्पन्न हुने नकारात्मक असर र त्यसको गम्भीरतालाई चित्रण गरेको छ । यी दुवै चलचित्र यसअघि नै सिनेमाघरमा प्रदर्शन भइसकेका हुन् ।
नेपाली लघु चलचित्रहरूको लोकप्रियता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बढ्दै गए पनि दर्शकका लागि यो सहजै उपलब्ध हुन सकेको थिएन । यही आवश्यकतालाई मध्यनजर गर्दै डिशहोम गो ले शर्टफिल्महरूलाई पनि आफ्नो प्लेटफर्ममा समेट्न थालेको छ । यसै क्रममा भिनेस राज मौर्य निर्देशित ‘दुई चार दिन’ लाई हालै थप गरिएको छ ।
ग्राहकले डिशहोम गोको मोबाइल एप वा अन्य डिजिटल प्लेटफर्ममार्फत निश्चित शुल्क तिरेर यी चलचित्रहरू आफ्नो अनुकूल समयमा हेर्न सक्ने कम्पनीले जनाएको छ । पुराना तर महत्त्वपूर्ण चलचित्रहरूलाई सर्वसुलभ बनाउने उद्देश्यले यो सेवा सञ्चालन गरिएको हो ।
पछिल्लो अध्यावधिक: माघ ७, २०८२ १५:१०
