मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह सम्पन्न, ३ विद्यार्थी दीक्षित
माघ २६, २०८२ २२:४४
काठमाडौँ । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (एम्बस्ट) को पहिलो दीक्षान्त समारोह आइतबार सम्पन्न भएको छ । समारोहमा विश्वविद्यालयको पहिलो ब्याच (डिसेम्बर २०२३ मा भर्ना भएका) अन्तर्गत ‘अप्लाइड साइन्स’ को ‘अर्गानिक कृषि’ कार्यक्रमबाट स्नातकोत्तर तह पूरा गर्ने तीन जना विद्यार्थी दीक्षित भएका छन् । दीक्षित हुने विद्यार्थीहरूमा धनकृष्ण आचार्य, सवनम सुवेदी र शिशिल राई रहेका छन् ।
उच्च शिक्षा विशेषज्ञ डा. जमिल साल्मीको मुख्य आतिथ्यतामा सम्पन्न समारोहमा शिक्षाविद्, ट्रस्टी, प्राध्यापक र अभिभावक गरी ५०० भन्दा बढीको उपस्थिति थियो । सो अवसरमा विश्वविद्यालयले डा. साल्मीलाई उच्च शिक्षा सुधार र नीति निर्माणमा पुर्याएको विशिष्ट योगदानको कदर गर्दै ‘मानद उपाधि’ प्रदान गरेको थियो ।
सम्बोधनका क्रममा डा. साल्मीले विश्वविद्यालयको भविष्यमुखी मोडेल, स्वायत्तता र शैक्षिक गुणस्तरको प्रशंसा गरे । उनले विद्यार्थीहरूलाई जिज्ञासु, नैतिकवान् र सामाजिक रूपमा उत्तरदायी नेतृत्वका रूपमा अघि बढ्न सुझाव समेत दिए ।
विश्वविद्यालय ‘बोर्ड अफ ट्रस्टी’ का अध्यक्ष एवं उद्योगपति पद्म ज्योतिले विश्वविद्यालयमा सिर्जित ज्ञानलाई नवप्रवर्तन, उद्यमशीलता र रोजगारीमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए । त्यसैगरी, विश्वविद्यालयका अध्यक्ष डा. राजेन्द्र ध्वज जोशीले एम्बस्टलाई दलगत राजनीति र भ्रष्टाचारमुक्त संस्थाको रूपमा विकास गरिएको बताए । उनले वैज्ञानिक मापदण्डको कडाइ र विश्वव्यापी स्तरलाई कायम राख्दै राष्ट्रिय विकासका प्राथमिकताहरूलाई अनुसन्धानसँग जोड्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा क्यानडाको म्याकगिल विश्वविद्यालयकी पूर्व भाइस-चान्सलर प्रोफेसर सुजान फोर्टियर र नेसनल युनिभर्सिटी अफ सिंगापुरका प्रोफेसर सीराम रामकृष्णले भर्चुअल माध्यमबाट शुभकामना सन्देश दिएका थिए । उनीहरूले जटिल विश्वव्यापी चुनौतीहरूको सामना गर्न ‘अन्तरविषयक’ अनुसन्धान र नेतृत्वको महत्त्वबारे चर्चा गरे ।
वि.सं. २०७९ मा ऐन जारी भई सञ्चालनमा आएको यो विश्वविद्यालय परम्परागत शिक्षणभन्दा अनुसन्धानमा बढी केन्द्रित छ । हाल यहाँ अर्गानिक कृषि, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डेटा साइन्स, फरेस्ट बायोमटेरियल्स साइन्स एन्ड टेक्नोलोजी र सस्टेनेबल एन्ड रेजिलेन्ट इन्फ्रास्ट्रक्चर जस्ता विषयमा ६५ जना विद्यार्थी स्नातकोत्तर र विद्यावारिधि (पीएचडी) तहमा अध्ययनरत छन् ।
विश्वविद्यालयले आगामी शैक्षिक सत्रदेखि साइबर सुरक्षा, एआई र डेटा साइन्स विषयमा स्नातक तहका कार्यक्रमहरू समेत सञ्चालन गर्ने तयारी गरेको छ ।
पछिल्लो अध्यावधिक: माघ २६, २०८२ २३:९
