भ्यालेन्टाइन विकमा प्रहरीको सचेतना: चकलेट पग्लिएला, तर तपाईंको डिजिटल फुटप्रिन्ट पग्लिँदैन
माघ २६, २०८२ २३:४१
काठमाडौँ । नेपाल प्रहरीले भ्यालेन्टाइन सप्ताहको अवसर पारेर सामाजिक सञ्जाल तथा इन्टरनेट प्रयोगकर्तालाई आफ्नो गोपनीयता र डिजिटल सुरक्षाप्रति सजग रहन विशेष आग्रह गरेको छ । सप्ताहको तेस्रो दिन ‘चकलेट डे’ को सन्दर्भ जोड्दै प्रहरीले एक रचनात्मक सन्देश जारी गरेको हो ।
प्रहरीले भनेको छ, “चकलेट पग्लिएला तर तपाईंको डिजिटल फुटप्रिन्ट पग्लिँदैन ।”
इन्टरनेटमा एकपटक अपलोड वा शेयर गरिएको कुनै पनि जानकारी, फोटो वा विवरण स्थायी रूपमा रहने र ती कहिल्यै पूर्ण रूपमा नमेटिने यथार्थलाई प्रहरीले यस सन्देशमार्फत स्मरण गराएको हो । विशेषगरी उत्सव र प्रेमिल अवसरमा प्रयोगकर्ताले आफ्ना निजी तस्बिर र लोकेसन शेयर गर्ने क्रम बढ्ने भएकाले त्यसले निम्त्याउन सक्ने जोखिमप्रति प्रहरीले सचेत गराएको छ ।
सन्देशमा भनिएको छ, “तपाईंले शेयर गर्नुभएको हरेक निजी फोटो वा लोकेसन हराउँदैन, बरु इन्टरनेटको कुनै न कुनै कुनामा सुरक्षित रहन्छ । यसको दुरुपयोग हुन सक्छ । आफ्नो गोपनीयता जोगाउनु होला ।”
साइबर अपराधका घटना बढ्दै गइरहेको वर्तमान अवस्थामा प्रहरीले अपनाएको यो रोचक शैलीको सामाजिक सञ्जालमा निकै प्रशंसा भइरहेको छ । प्रयोगकर्ताले प्रहरीको यो कदमलाई ‘रचनात्मक र समयसापेक्ष’ भन्दै टिप्पणी गरेका छन् । कतिपयले प्रहरीको यस्तो सक्रियताले ‘प्रहरी मेरो साथी’ भन्ने नारालाई साँचो अर्थमा चरितार्थ गरेको उल्लेख गरेका छन् ।
प्रहरीले चाडपर्व र विशेष अवसरमा हुनसक्ने साइबर जोखिम न्यूनीकरणका लागि समय-समयमा यस्ता सचेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ ।
पछिल्लो अध्यावधिक: माघ २६, २०८२ २३:४२
