close

रास्वपाको ‘करार पत्र’मा रहेका दुवै ‘औँठा छाप’ एउटै, आखिर हो चाहिँ कसको ?

टेकपाना टेकपाना

फागुन ४, २०८२ ७:५२

रास्वपाको ‘करार पत्र’मा रहेका दुवै ‘औँठा छाप’ एउटै, आखिर हो चाहिँ कसको ?

 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइतबार सार्वजनिक गरेको ‘करार पत्र’ यतिबेला चर्चामा छ । विशेषगरी उक्त पत्रको अन्त्यमा ‘ऋणीको दस्तखत’ भनिएको ठाउँमा दायाँ र बायाँ हातको औँठाछाप (फिङ्गरप्रिन्ट) जस्तो देखिने दुई ओटा आकृति राखिएका छन्, जसले धेरैको ध्यान खिचेको छ ।

सानो आकारमा रहेका ती फिङ्गरप्रिन्ट कसका हुन् र त्यहाँ के छ भन्नेबारे सामाजिक सञ्जालमा विभिन्न जिज्ञासा र अड्कलबाजी भइरहेका छन् । करार पत्रमा ती आकृति स्पष्ट देखिँदैनन् । 

जुम गर्दा पनि त्यसमा के छ भन्ने देखिँदैन । तर, उक्त फिङ्गरप्रिन्ट कुनै व्यक्तिको वास्तविक औँठाछाप नभएर पार्टीका मुख्य सिद्धान्त र एजेन्डालाई कलात्मक रूपमा प्रस्तुत गरिएको एक ग्राफिक डिजाइन हो ।

यसअघि रास्वपाले सार्वजनिक गरेको एक छोटो भिडिओमा करार पत्रलाई ‘ब्लर’ गरेर देखाइएको भए पनि औँठाछाप जस्तो देखिने ती आकृतिलाई भने प्रस्ट देखाइएको थियो । वास्तवमा ती औँठाछापभित्र पार्टीको राजनीतिक, आर्थिक, सामाजिक र परराष्ट्र नीतिसँग सम्बन्धित मुख्य प्रतिबद्धता सूक्ष्म अक्षरमा लेखिएका छन् ।

उक्त आकृतिभित्र रहेका सामग्रीहरू जस्ताको तस्तै तल प्रस्तुत गरिएको छ :

राजनीति: बहुलवादी लोकतन्त्र, विधिमा बाँधिएको जवाफदेही असल शासन, वैयक्तिक स्वतन्त्रता, मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरण, तहगत अधिकार निक्षेपण र सुधारिएको प्रदेश संरचना ।

अर्थतन्त्र: सामाजिक न्यायसहितको उदार अर्थनीति, उद्यममैत्री, लगानी-अनुकूल प्रतिस्पर्धात्मक सामाजिक बजार अर्थतन्त्र, राष्ट्रिय आय र रोजगारी वृद्धि, सुदृढ नियमनकारी संरचना, जलवायु-पर्यावरणीय सन्तुलन, लोककल्याणकारी राज्य ।

समाज: समन्यायात्मक समावेशीता, संरचनात्मक विभेद (लैङ्गिक, जातीय, वर्गीय, क्षेत्रीय) विरुद्ध अवसरको न्यायिक वितरण, पहुँच र उपयोग, समतामूलक उन्नति ।

संस्कृति: सनातन सभ्यताको सम्बर्द्धन, धार्मिक-सांस्कृतिक विविधताको जगेर्ना, पारस्परिक सम्मान र सहअस्तित्व ।

परराष्ट्र: “सौम्य शक्ति”को विस्तार, डायस्पोराको सामूहिक सामर्थ्यको उपयोग, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र स्वाभिमानको रक्षा ।

पछिल्लो अध्यावधिक: फागुन ४, २०८२ ८:१६