क्लासिक टेकका कर्मचारीलाई ट्राभल प्याकेजमा १० हजारसम्म छुट, गुरु ट्राभल्सलाई इन्टरनेटमा १५ प्रतिशत सहुलियत
फागुन ४, २०८२ १७:२६
काठमाडौँ । ट्राभल कम्पनी गुरु ट्राभल्स लिमिटेड र इन्टरनेट सेवा प्रदायक क्लासिक टेक प्रालिबिच व्यावसायिक सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । हालै आयोजित एक कार्यक्रममा क्लासिक टेकका चिफ बिजनेस डेभलपमेन्ट अफिसर रोजित भट्टराई र गुरु ट्राभल्सका चिफ अपरेटिङ अफिसर अनिल धरेलले समझदारीपत्रमा हस्ताक्षर गरे ।
सम्झौताअनुसार गुरु ट्राभल्स र क्लासिक टेकले एक-अर्काका कर्मचारी तथा सरोकारवालाहरूलाई विशेष छुट र सुविधाहरू उपलब्ध गराउनेछन् । जसअन्तर्गत गुरु ट्राभल्सले क्लासिक टेकका कर्मचारी तथा सरोकारवालाहरूलाई अन्तर्राष्ट्रिय भ्रमण प्याकेजमा १० हजार रुपैयाँसम्मको विशेष छुट दिनेछ । यस्तै, आन्तरिक (डोमेस्टिक) भ्रमण प्याकेजमा २.५ प्रतिशत र आन्तरिक हवाई टिकटमा प्रतिटिकट ५० रुपैयाँ नगद छुट प्रदान गरिनेछ ।
अर्कोतर्फ, क्लासिक टेकले गुरु ट्राभल्सका कर्मचारी तथा सरोकारवालाहरूलाई इन्टरनेट प्याकेज, कर्पोरेट कम्युनिकेसन सेवा र अन्य डिजिटल सोलुसनहरूमा १५ प्रतिशत छुट उपलब्ध गराउनेछ । यसका साथै दुवै संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिने विभिन्न गतिविधिहरूमा समेत आपसी सहकार्य गर्ने सहमति गरेका छन् ।
सहकार्यका बारेमा बोल्दै क्लासिक टेकका चिफ बिजनेस डेभलपमेन्ट अफिसर रोजित भट्टराईले गुरु ट्राभल्ससँगको साझेदारीले दुवै संस्थामा प्रविधिमैत्री सेवा विस्तार गर्न मद्दत पुग्ने बताए । उनले यसबाट ग्राहकले थप छिटो र गुणस्तरीय इन्टरनेट सेवा पाउने र डिजिटल प्रवर्द्धनमार्फत पर्यटन क्षेत्रको विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे ।
त्यसैगरी, गुरु ट्राभल्सका चिफ अपरेटिङ अफिसर अनिल धरेलले यस समझदारीले ट्राभल कम्पनीको डिजिटल प्लेटफर्मलाई थप प्रभावकारी बनाउने बताए । उनका अनुसार अब ग्राहकहरूले अनलाइन बुकिङ, जानकारी प्राप्ति र डिजिटल सेवामा सहज पहुँच पाउनेछन् । क्लासिक टेकको उच्च गतिको इन्टरनेट सेवाले ट्राभल व्यवसायलाई थप प्रविधिमैत्री बनाउन र पर्यटन क्षेत्रको डिजिटल प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।
पछिल्लो अध्यावधिक: फागुन ४, २०८२ १७:२६
